राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उहाँले जन्मजयन्तीको यस अवसरले मुलुकभित्रका जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
पत्नी सीता दाहालको शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार ३० गतेसम्म औपचारिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ। तीन दिनसम्म उहाँका निर्धारित कार्यक्रम स्थगित गरिएकाले कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि साढे सात करोड रुपियाँ स्थानीय तहलाई पठाएको छ । देशैभर गाईबस्तुमा महामारीका रूपमा फल्दै गरेको रोग नियन्त्रणका लागि यस चालु आर्थिक वर्षका लागि सात करोड ६० लाख ८० हजार रुपियाँ स्थानीय तहलाई पठाएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको छ । उहाँले भन्नुभयो, “आवको अन्तिम अन्तिममा व्यवस्था गर्न सक्यौँ, बल्लबल्ल यति रकम पठाउन सक्यौँ । आगामी आवमा विशेष कार्यक्रमका साथ थप रकम पठाउने तयारी भइरहेको छ ।”
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो ।
मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार त्यो सङ्ख्याका श्रमिकलाई विमानस्थलबाट फर्काइएको हो । सो अध्यागमन कार्यालयका अनुसार बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १८ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको छ ।
महर्षि वेद व्यास विद्याश्रमका बटुक विमल उपाध्याय न्यौपानेले सुरिलो स्वरमा फरर रामायण पढेर सुनाउँदा उपस्थित सबै चकित परे । नेपाली लेखक सङ्घ तनहुँले २१० औँ भानु जयन्तीको अवसरमा दमौली स्थित बाल मन्दिर माध्यमिक विद्यालय दमौलीमा आयोजित रामायण वाचन कार्यक्रममा चकित परेका हुन् ।
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ।
चट्याङ लागेर डोटीको बडिकेदार गाउँपालिकामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट प्राप्त भएको जानकारीअनुसार घर नजिकै बाख्रा चराइरहेको अवस्थामा चट्याङ पर्दा बडिकेदार गाउँपालिका –५ दुधिला गाउँका ६५ बर्षीय हर्कबहादुर बोहराको ज्यान गएको हो ।
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गर्नुभएको छ।
इलाम नगरपालिका –४ ले यो वर्ष जन्मिएका नवजात शिशुहरुको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्न सुरु गरेको छ । वडाले आर्थिक वर्ष २०७९–८० मा गएको साउन १ गते यता जन्मिएका ३२ नवजात शिशुहरुको नाममा बैंक खाता खोलेको हो ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ ।