• १३ साउन २०८१, आइतबार

भानुको सम्झनामा दमौलीमा गुन्जिए रामायण

blog

दमौलीमा आयोजित कार्यक्रममा रामायण वाचन गर्दै बटुक । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २९ गते । महर्षि वेद व्यास विद्याश्रमका बटुक विमल उपाध्याय न्यौपानेले  सुरिलो स्वरमा फरर रामायण पढेर सुनाउँदा उपस्थित सबै चकित परे । नेपाली लेखक सङ्घ तनहुँले २१० औँ भानु जयन्तीको अवसरमा दमौली स्थित बाल मन्दिर माध्यमिक विद्यालय दमौलीमा आयोजित रामायण वाचन कार्यक्रममा चकित परेका हुन् ।

यसै गरी बाल मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राद्धय अमिसा घर्ती र रुस्मा रसाइलीलेसँगै सुरिलो स्वरमा रामायणको वाचन गरेर मन्त्रमुग्ध पारे । यस्तै गरी सरस्वती ढौलिया र स्वाधीनता पौडेलले  एकपछि अर्को गर्दै श्लोक हालेर रामायण वाचन गर्दा सबै खुसी भए । बिहीबार गरिएको रामायण वाचन कार्यक्रममा  उपस्थित सबैले अनौठो मानेर सुनेका थिए । भानुभक्तको सम्मान र भानुभक्तले लेखेको रामायण श्लोक अनुसार वाचन गर्ने तरिका विद्यार्थीलाई सिकाउनको लागि रामायण वाचन कार्यक्रम गरिएको नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शङ्करराज नहर्कीले बताउनुभयो । कार्यक्रममा व्यासका अध्येता तथा साहित्यकार काशीनाथ न्यौपानेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा न्यौपानेले आदिकविले कविताको माध्यमबाट नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै पृथ्वीनारायण शाहले देशको भौगोलिक एकता बाँधेको नेपाललाई भानुले भावनात्मक रूपमा जोडेको बताउनुभयो । न्यौपानेले भन्नुभयो,‘‘भानुभक्त नेपाली भाषा, साहित्य र जातिलाई जोड्ने कवि हुनुहुन्छ ।’’

कार्यक्रममा नेपाली लेखक सङ्घका सल्लाहकार डा।लक्ष्मीकान्त चापागाईँ, निवर्तमान अध्यक्ष गौकुमारी न्यौपाने, सचिव अञ्जना तिम्सिना, सहसचिव दिवाकर घिमिरे, सदस्य महेन्द्र शर्मा, बाल मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनाल, साहित्यकारहरू शान्ता बास्तोला, प्रेमप्रकाश भट्टराई, लक्ष्मी पौडेल, नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य प्रदीप घिमिरे लगायतले यस्ता कार्यक्रम भानु जयन्तीमा मात्रै नगरी अन्य समयमा पनि गरेर भानुलाई सम्झनु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।  

चुँदीरम्घामा कविता तथा रामायण वाचन प्रतियोगिता

यसैबिच भानुभक्तको जन्मस्थलमा चुँदीरम्घामा कविता तथा रामायण वाचन प्रतियोगिता गरिएको छ ।

त्यसै गरी खुला कविता प्रतियोगितामा  दयाराम पौडेल प्रथम हुनु भयो ।  विवेक पराजुली द्वितीय र विनायक नेपाली तृतीय हुनु भयो भने सान्त्वना सूर्यदेवी पौडेल र आयुषा आचार्य हुनु भयो  रामायण वाचनमा प्रथम हुनेमा आराध्या ढकाल, द्वितीयमा स्वाधीनता पौडेल र  प्रस्तुति आचार्य तृतीय हुनुभयो भने  सान्त्वना बिनिसा श्रेष्ठ र रक्षा पौडेल हुनुभयो । खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः रु। १० हजार, रु। सात हजार र रु। पाँच हजार पुरस्कार आज प्रदान गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु। पाँच हजार, रु। तीन हजार र रु। एक हजार पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।