काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको महेन्द्र सालिक क्षेत्र, कृष्ण पाउरोटी क्षेत्र, घण्टाघर क्षेत्र, कमलादी क्षेत्र, जमल क्षेत्र, केशरमहल क्षेत्र, मैतीदेवी क्षेत्रको सडकलाई एकतर्फी सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार साउनदेखि ती क्षेत्रका सडकलाई एकतर्फी मात्र सञ्चालन गरिने छ ।
त्यसै गरी महानगरभित्रका शैक्षिक संस्थाअगाडि अनिवार्य रूपमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण तथा व्यवस्थापनको क्षेत्रमा समेत योजनाबद्ध रूपमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने बसलगायत यातायातका साधन रोकिने ठाउँ निर्धारण तथा ट्याक्सी स्ट्यान्ड निर्माणका लागि अन्तिम चरणको अध्ययन भइरहेको छ । उहाँले ट्राफिक प्रहरीको समन्वयमा सडक सुधार तथा ट्राफिक व्यवस्थापनका यी काम गर्न लागिएको उल्लेख गर्नुभयो ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण सुरु गरिने ट्राफिक व्यवस्थापन सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो । अहिले महानगरपालिकाभित्रका अधिकांश सडकमा सडक चिह्न मेटिएको र ट्राफिक लाइट बिग्रिएको अवस्थामा छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सडक सुधार तथा ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले अगाडि सारेका प्रस्ताव तथा योजनामा ट्राफिक प्रहरीको सहकार्य, समन्वय र सहयोग रहने बताउनुभयो । महानगरपालिकाले सार्वजनिक पूर्वाधार निर्माण तथा सडक सुधारतर्फ आगामी आर्थिक वर्षका लागि कुल सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपियाँ विनियोजन गरेको छ ।