काठमाडौँ, असार २९ गते । पत्नी सीता दाहालको शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार ३० गतेसम्म औपचारिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ। तीन दिनसम्म उहाँका निर्धारित कार्यक्रम स्थगित गरिएकाले कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भन्नुभयो, “असार ३० गतेसम्म प्रधानमन्त्री प्रचण्डका सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ। उहाँ सिंहदरबार र संसद्मा पनि सहभागी हुनुहुने छैन।” उहाँका अनुसार तीन दिनसम्म समवेदना दिन आउने शुभचिन्तकका लागि बिहान ८ देखि १० बजे र साँझ ४ देखि ६ बजेको समय भेटघाटका लागि तय गरिएको छ। बिहीबार बिहान र साँझ समवेदना दिन आउनेलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभयो। सात दिनपछि औपचारिक रूपमा श्रद्धाञ्जली सभाको आयोजना गरिने सचिवालयले जनाएको छ।
माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। उहाँको हिन्दु संस्कार अनुसार राजकीय सम्मानका साथ बुधबार साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको थियो। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी)’ बाट पीडित स्वर्गीय दाहाल दुई वर्षदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो।