वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । विभागले पछिल्लो समय युरोप रोजगारीका नाममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतबाट भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिँदै गरेका नेपाली कलाकृति फर्काइएका छन्। १० वर्षदेखि त्यहाँको सुरक्षा निकायले जफत गरेका ४० वटा कलाकृति नेपाल फर्काइएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। सन् २०१० मा अमेरिका भित्र्याउन खोज्दै गर्दा त्यहाँको भन्सार तथा सीमा सुरक्षाले ४० वटा काष्ठकलाका कृति जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा ती कलाकृति नेपाल फिर्ता पठाउन अनुरोध गरेपछि विभिन्न प्रक्रिया पूरा गर्दै १३ वर्षपछि नेपाल फिर्ता पठाइएको हो। नेपाली दूतावासले कतार एयरवेजमार्फत पठाएका ती कलाकृति नेपाल सरकारको पुरातत्त्व विभागले ग्रहण गर्ने जनाइएको छ। कलाकृति गत वैशाखमा नेपाली दूतावासलाई हस्तान्तरण भएको थियो। चार वटा चित्र कुँदिएका काठका प्यानल तथा बाँकी कलात्मक काठ छन्। ती कलाकृति दूतावासले आयोजना गरेको नेपाल पर्यटन प्रवर्धन कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो।
चलचित्र ‘बोबी’ की अभिनेतृ कविता गुरुङको कवितासङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबिच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राईलगायतले कवितासङ्ग्रह सार्वजनिक गर्नुभएको हो।
नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
लेखक अस्विनकुमार पुडासैनीले लेख्नुभएको ‘समृद्धिको हुटहुटी’ पुश्तक लोकार्पण गरिएको छ। लेखक पुडासैनीले सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबारे लेख्नुभएको पुस्तकको शुक्रबार राजधानीमा आयोजित कार्यममा लोकार्पण गरिएको हो।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्का मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच शिष्टाचार भेटवार्ता भएको छ।
विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनुभयो।
आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियटाले देशका विभिन्न ठाउँमा ३३८ वटा नयाँ मोबाइल टावर जडान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै सो सङ्ख्यामा टावर जडान गरेको हो । थपिएका टावरबाट फोरजीको पहुँच बढ्ने एनसेलले जनाएको छ । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ पर्ने कम्पनीले उल्लेख गरेको छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थान पर्ने एनसेलले जनाएको छ ।
कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य विषय अध्ययनका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यकाल एक सय दिन पूरा गर्नुभएको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ। विशेष मनसुन बुलेटिन जारी गर्दै नेपालमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण तीन दिन भारी वर्षा हुने विभागले जानकारी दिएको छ। मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको छ। त्यो रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको प्रभाव उच्च रहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार केही दिनयता सक्रिय रहेको मनसुनी वर्षा तुलनात्मक रूपमा शनिबार रातिदेखि अझ भारी हुने सम्भावना रहेको छ। पौडेलले भन्नुभयो, “मनसुन सक्रिय रहँदा कहिले भारी र कहिले अलिक कम वर्षा हुने क्रम चल्छ, त्यसै क्रममा फेरि भारी वर्षाको चक्र सुरु हुन थालेको हो।”
जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र) ले लिएका मन्त्रालयमध्ये एकबाट माओवादीका मन्त्रीको स्थानमा जनमत पार्टीबाट मन्त्री बनाइने भएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले एक महिनाअघि नै प्रतिनिधि सभामा उक्त पार्टीका समानुपातिक सदस्य अनितादेवी साहलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गर्नुभएको थियो ।
काठमाडौँ, साउन २६ गते । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) अध्यक्ष रमेश सिलवालले आज संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दसमेतका आफ्ना विरोधका कार्यक्रम स्थगन गरिएको जनाउनुभएको हो । रासस