• १३ पुस २०८२, आइतबार

कलाकृति नेपाल फर्काइँदै

blog

काठमाडौँ, साउन २७ गते । नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिँदै गरेका नेपाली कलाकृति फर्काइएका छन्। १० वर्षदेखि त्यहाँको सुरक्षा निकायले जफत गरेका ४० वटा कलाकृति नेपाल फर्काइएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। 

सन् २०१० मा अमेरिका भित्र्याउन खोज्दै गर्दा त्यहाँको भन्सार तथा सीमा सुरक्षाले ४० वटा काष्ठकलाका कृति जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा ती कलाकृति नेपाल फिर्ता पठाउन अनुरोध गरेपछि विभिन्न प्रक्रिया पूरा गर्दै १३ वर्षपछि नेपाल फिर्ता पठाइएको हो। नेपाली दूतावासले कतार एयरवेजमार्फत पठाएका ती कलाकृति नेपाल सरकारको पुरातत्त्व विभागले ग्रहण गर्ने जनाइएको छ। कलाकृति गत वैशाखमा नेपाली दूतावासलाई हस्तान्तरण भएको थियो। चार वटा चित्र कुँदिएका काठका प्यानल तथा बाँकी कलात्मक काठ छन्। ती कलाकृति दूतावासले आयोजना गरेको नेपाल पर्यटन प्रवर्धन कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो।

दूतावासले नेपालबाट हराएका र लुटिएका सम्पदाको पुनः प्राप्ति र फिर्ता ल्याउने एक प्रयासका रूपमा यसलाई लिइएको औँल्याएको छ। थप कलाकृति खोजी तथा नेपाल फिर्ताका लागि नेपाल सरकारका सम्बन्धित निकाय, होमल्यान्ड सेक्युरिटी अनुसन्धान विभाग, अमेरिकी भन्सार र सीमा विभागसँग दूतावासले थप पहल गरिरहेको जनाएको छ। दूतावासले योसँगै सन् २०२२ को अप्रिलदेखि हालसम्म नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वका ४७ वटा कलाकृति फिर्ता पठाइसकेको जनाइएको छ।