• ९ मंसिर २०८१, आइतबार

कविताको जीवनका भोगाइ कवितामै

blog

काठमाडौँ, साउन २७ गते । चलचित्र ‘बोबी’ की अभिनेतृ कविता गुरुङको कवितासङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबिच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राईलगायतले कवितासङ्ग्रह सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा अभिनेतृ गुरुङले आफ्नो जीवनका भोगाइ कवितामार्फत उतारेको बताउनुभयो। उहाँले भन्नुभयो, “म राम्रो कवि, साहित्यकार होइन, आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले सार्वजनिक गरेकी हुँ।” 

‘मेरो कविताको शीर्षक छ’ मा १० वटा कविता छन्। नर्वेमा बस्दै आएकी गुरुङ कविता सार्वजनिकका लागि केही दिनअगाडि नेपाल आउनुभएको हो।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेतृ गुरुङको आँट र क्षमताको आफू सधैँ प्रशंसक रहेको बताउनुभयो। “कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन्। उहाँले लेख्न थालेपछि जानकारी दिनुभयो,” पराजुलीले भन्नुभयो, “यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भए पनि राम्रो सुरुवात भयो।” 

त्यस्तै चलचित्र निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राईले अभिनेतृ गुरुङको कवितामा यथार्थ र जीवन भोगाइका अनुभव भएकाले सबैको जीवनसँग कहीँ न कहीँ मेल खाने बताउनुभयो।

गुरुङले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याउनुभएको थियो। त्यसमा उहाँले कलेज जीवन, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतार्नुभएको थियो। अहिले सार्वजनिक कवितासङ्ग्रहमा पनि जीवनको त्यही कालखण्डको भोगाइ समेटिएको छ।