काठमाडौँ, साउन २७ गते । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियटाले देशका विभिन्न ठाउँमा ३३८ वटा नयाँ मोबाइल टावर जडान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै सो सङ्ख्यामा टावर जडान गरेको हो ।
थपिएका टावरबाट फोरजीको पहुँच बढ्ने एनसेलले जनाएको छ । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ पर्ने कम्पनीले उल्लेख गरेको छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थान पर्ने एनसेलले जनाएको छ ।
एनसेलले त्यसअघि आव २०७८/७९ मा नै २८३ नयाँ टावर जडान गरेको थियो । ती टावर सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको कम्पनीले जनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्चगतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न सेवा विस्तार अन्तर्गत नयाँ टावर जडान गरेको बताउनुभयो । उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न निरन्तर काम गरिरहेको पनि उहाँको भनाइ थियो ।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झन्डै एक ४५० मोबाइल टावरको स्तरोन्नति पनि गरेको छ । यसरी स्तरोन्नति गरिएका टावरमध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावर पर्ने कम्पनीले जनाएको छ । त्यसै गरी गाउँपालिका स्तरमा भने ४४० भन्दा बढी टावर स्तरोन्नति गरेको पनि कम्पनीले उल्लेख गरेको छ । यसबाहेक एनसेलले देशका विभिन्न ठाउँमा रहेका आफ्ना टावरहरूको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको जनाएको छ ।