स्थानीय तहहरूले जथाभाबी बाटो खन्न थालेपछि मुख्य तथा सहायक राजमार्गमा असर पर्न थालेको छ। पाल्पाका स्थानीय तहहरूले जथाभाबी खनेका ग्रामीण सडकका कारण जिल्लाका मुख्य सडकका रूपमा रहेको सिद्धार्थ राजमार्गसहितका सहायक राजमार्गमा क्षति पुग्दा यातायात सेवा प्रभावित हुने स्थिति पैदा भएको छ।
अर्घाखाँचीमा मानिस हराएको उजुरीमा सबैभन्दा बढी सङ्ख्या महिलाको रहेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा विगत दुई वर्षमा १३६ जना महिला हराएको उजुरी परेका थिए। हराएकामध्ये ११ जनालाई अझै पनि भेट्टाउन सकिएको छैन। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७८/७९ मा ७१ जना महिला हराएका थिए। जसमा ६२ जना मात्रै फेला परेका थिए। त्यस्तै २०७९/८० मा ६५ जना महिला हराएको उजुरीमा ६३ जना महिला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका अस्पतालहरुमा सामान्य शय्याहरू निःशुल्क गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी भदौ १ गतेबाट १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।
हरिनगर गाउँपालिका सुनसरी जिल्लाको सदरमुकाम इनरुवादेखि भारतीय सीमासम्म जोडिएको गाउँपालिका हो । ५२.२९ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका सात वटा वडामा विभाजन गरिएको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहको आज बिहान १० बजे राष्ट्रपतिबाट शपथ गराउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सांसद अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त हुनु भएको थियो ।
पछिल्ला वर्षमा जिल्ला अदालत मुस्ताङमा दर्ता हुने मुद्दाको सङ्ख्या बढ्दै गएको छ। नेपालको अन्य क्षेत्रमा भन्दा छुट्टै रहनसहन भएकाले मुस्ताङ अदालतमा मुद्दा दर्ता कम हुने गरेको थियो। मुस्ताङ जिल्लाभित्रका ९६ गाउँ तथा बस्तीमा मुखिया प्रथा अहिले पनि कायम नै रहेको छ। गाउँलेले चुन्ने मुखियाले धेरै काम गर्ने भएकाले मुद्दा दर्ताको क्रम कमै हुने गरेको थियो। हरेक गाउँमा हुने मुखियाले गाउँका हरेक घटना तथा विवादमा गाउँलेकै रोहबरमा मिलाउने गर्दा अदालतसम्म उजुरी पुग्दैनथे। घरपझोङ गाउँपालिका–२, मार्फाका दीपक लालचनले पछिल्लो समय मुखियाले नै सामान्य प्रकृतिका घटना मिलाउने प्रयास गरे पनि अन्य घटनाको किनारा लगाउन अदालत जान सुझाव दिने गरेको उल्लेख गर्नुभयो।
म्याग्दी जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ आजभन्दा करिब छ सय वर्षअघि राजाले बसालेको नियम अझै मान्ने गरिन्छ। पन्ध्रौँ शताब्दीको मध्यतिर यहाँका एक राजाले समाजमा बसालेको नियम अझै जीवित छ। धार्मिक संस्कारयुक्त समाज निर्माणका लागि बाइसे/चौबिसे राज्यका पालामा राजा दिलीपबम मल्ल (डिम्बबम) ले पुलाको गाजने गाउँमा मदिरा सेवन नगर्ने, सुगुर, बङ्गुर, कुखुरापालन र काटमार गर्न नपाइने नियम बनाएका रहे छन्।
स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो।
निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ ।
धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो। तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।
बैतडीको पाटन नगरपालिका–८, खोड्पेका कृष्ण विष्ट र कलावती भण्डारी विष्टले ४० रोपनी क्षेत्रफलमा लगाएको करिब दुई सय क्विन्टल बन्दा बारीमै कुहिएको छ। बजारीकरण तथा ढुवानीको समस्याका कारण बन्दा बारीमा कुहिएको हो। पेसाले शिक्षकसमेत रहनुभएका विष्ट दम्पती स्थानीय ज्ञानेश्वर माध्यमिक विद्यालयमा पठनपाठन गराउनुहुन्छ। शिक्षण पेसाबाट बचेको समय सदुपयोग गर्दै बाँझो जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ। स्थानीय बन्दाले बजार नपाउँदा चार लाख रुपियाँ घाटा भएको विष्टले बताउनुभयो। आलुबाट भने राम्रो फाइदा हुने गरेको छ। बजारमा १० रुपियाँ किलोका दरले समेत बन्दा बिक्री नहुँदा बारीमै कुहिएको हो।
बाजुराको हिमाली क्षेत्र जगानाथ, बुढीनन्दा र स्वामिकार्तिकलगायतका अधिकांश ठाउँका स्याउ पाक्ने समय भएको छ। स्याउ पाक्ने बेला सडक अवरुद्ध हुँदा समस्या भएको छ। गाउँमा स्याउ पाक्ने बेला भयो तर बजारसम्म लैजाने बाटो बन्द भएपछि कसरी बिक्री गर्ने चिन्ता लागेको कृषक कर्चेन थापा भोटले बताउनुभयो। प्रत्येक वर्ष बर्खाको समय बाटो बन्द हुन्छ, गाउँमा स्याउ पाक्न सुरु हुन्छ। अनि ती स्याउ बजारसम्म लिएर बिक्री गर्न निकै समस्या हुने गरेको उहाँको भनाइ छ।
लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
भीमदत्त नगरपालिका–१३ ले घरका छाना विस्थापित गरी पक्की घर बनाउने योजना सार्वजनिक गरेको छ। सो योजनाले खर र फुसका झुपडीमा बस्दै आएका १८ घरपरिवार लाभान्वित हुने छन्। वडाध्यक्ष रामचन्द्र बोहराले कच्ची घर विस्थापित गरेर पक्की घर बन्न लागेको जानकारी दिनुभयो। सोनापुर टोलको अति पिछडिएको बस्ती विपन्न बस्तीका नामले परिचित छ। सो बस्तीका १८ र वडाभित्र अन्य गरी जम्मा ३० घरपरिवार कच्ची फुसका घरमा बसोबास गर्दै आइरहेका छन्।