• १३ साउन २०८१, आइतबार

छ सय वर्ष पुरानो नियम मान्ने गाउँ

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), साउन २९ गते । म्याग्दी जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ आजभन्दा करिब छ सय वर्षअघि राजाले बसालेको नियम अझै मान्ने गरिन्छ। पन्ध्रौँ शताब्दीको मध्यतिर यहाँका एक राजाले समाजमा बसालेको नियम अझै जीवित छ। 

धार्मिक संस्कारयुक्त समाज निर्माणका लागि बाइसे/चौबिसे राज्यका पालामा राजा दिलीपबम मल्ल (डिम्बबम) ले पुलाको गाजने गाउँमा मदिरा सेवन नगर्ने, सुगुर, बङ्गुर, कुखुरापालन र काटमार गर्न नपाइने नियम बनाएका रहे छन्। 

बेनी नगरपालिका–५, पुलाको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बङ्गुरपालन हुँदैन भने अवैध रूपमा घरेलु मदिरासमेत उत्पादन गरिँदैन। गाउँमा कसैले मदिरा सेवन पनि गर्दैनन्। बजारको मदिरा ल्याएर बिक्री वितरण पनि गर्दैनन्। 

पर्वत राज्यमा दिलीपबम मल्ल (डिम्बबम मल्ल) नामका प्रख्यात राजा थिए। राजाले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर गाउँमा स्थापना गरेसँगै तत्कालीन समयमा कुखुरा, सुगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरिएको बताइन्छ। 

उक्त नियम अझै पनि जीवित रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताउनुभयो। उहाँका अनुसार गाजने गाउँका पसलमा बजारको मदिरासमेत बिक्रीवितरण गर्न पाइँदैन।

“यहाँ बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन। कसैले गलत कार्यहरू गरेको पाइएमा जगन्नाथ मन्दिर परिसरबाट सर्प निस्किएको दृश्य देखाउने चलन रहेको छ।

परापूर्वकालदेखि राजाले बसालेको नियमलाई अहिले पनि कसैले तोड्न खोजेका छैनन् शर्माले भन्नुभयो, ‘‘कसैले नियम तोड्न खोजे उसको घरमा केही न केही अनिष्ट हुन्छ। त्यसैले नियम तोड्न कसैले आँट गर्न सक्दैनन्।’’ 

यो नियम लागू गराउन हामीले कसैलाई दबाब दिने गरेका छैनौँ उहाँले भन्नुभयो, “स्वतःस्फूर्त गाउँमा सयौँ वर्षदेखि यस्तो नियम बसेको छ।’’ यो गाउँमा क्षेत्री र ब्राह्मण जातिका २४ घरपरिवार बसोबास गर्छन्। 

ऊ बेला राजाले जगन्नाथको मन्दिर स्थापना गरेसँगै सभ्य र संस्कारयुक्त समाज निर्माणका लागि यस्तो नियम बसालेको भनाइ छ। 

परापूर्वकालदेखि राजाले बसालेको नियम मान्ने गाजने गाउँलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न स्थानीयहरू जुटेका छन्। 

जगन्नाथ मन्दिरको प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउनका लागि सडक विस्तार, भ्युटावर निर्माण जस्ता कार्यलाई जोड दिइएको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।