• १३ साउन २०८१, आइतबार

कागबेनीमा बाढीको वितण्डा (फोटो फिचर)

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २९ गते । लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

लगातारको वर्षापछि वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा काग खोलामा आएको बाढीले गाउँपालिका–४ कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षति पर्याएको हो । 

बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङका अनुसार माथिल्लो झोङ देखि आएको बाढीले माथिल्लो क्षेत्रमा क्षति नपुर्याएको भए पनि कागबेनीमा क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले सबै जनप्रतिनिधिहरू कागबेनी क्षेत्रमा उद्धार तथा क्षति विवरण सङ्कलनमा लागेका छौँ, क्षतिको एकिन तथ्याङ्क निकाल्न समय लाग्ला तर सबै संरचना एवम् भौतिक श्रोतहरू हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्छ तर पनि एकिन भन्न सकिने अवस्था भने छैन ।’

काग खोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमान्थाङ एवम् लो–घेकर दामोदर कुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत् वितरण गर्दै आएको निलगिरी उपभोक्ता सहकारीका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘खोलामा बाढी छ बिजुलीको पोल ढलेको छ विद्युत् वितरण सुचारु गर्न समय लाग्न सक्छ ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार काग खोलामा आएको बाढीले कागबेनीको श्राद्ध स्थलमा रहेको एउटा धर्मशाला बगाएको छ । जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान पुरिएको छ भने दुई तले विद्यालयको पहिलो तला पनि लेदोले पुरेको छ । १५ घर पूर्ण रूपमा बगाउनुका साथै अन्य १५ घरमा पनि क्षति पुगेको स्थानीयले बताएको प्रजिअ केसीले जानकारी दिनुभयो । स्थानीय व्यवसायीको गाडी बगाएको भए पनि मानवीय क्षतिको अहिले सम्म कुनै जानकारी नआएको उहाँको भनाई छ । 

घर बगाएको तथा क्षति पुगेर बस्न नसक्ने अवस्था पुगेका घरका नागरिकलाई छिमेकीहरुकोमा आश्रय लिने व्यवस्था मिलाइएको छ । केही मोटरसाइकल तथा स्कुटर बगाएको र एउटा डोजर बाढीले पुरेर क्षति पुर्याएको केसीको भनाई छ । उपल्लो मुस्ताङ हुँदै चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगतको कागबेनीमा रहेको काग खोलाको पक्की पुलका साथै काठको पुल समेत बाढीले बगाएको छ ।

जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावासमा रहेको ९० विद्यार्थीलाई सुरक्षित तवरले कागबेनीकै क्याराभान होटेलमा राखिएको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो । बाढी आउन थालेपछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगेर राखेको उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) रवीन्द्र पौडेलका अनुसार प्रहरी चौकीको मोटर साइकल सहित कागबेनी क्षेत्रका १० वटा सवारी साधनमा क्षति पुगेको भनिएको भए पनि एकिन गर्न बाँकी छ । उहाँले भन्नुभयो–‘पशु चौपाया, व्यक्तिका धनमाल तथा भौतिक संरचनाको क्षतिको अहिले नै एकिन गर्न सकिँदैन तर क्षति निकै ठुलो भएको छ ।’

रातको समयमा एक्कासि बाढी आएको भए पनि स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको मुस्ताङका प्रजिअ केसीले बताउनुभयो । कागबेनी प्रहरी चौकीको भवन रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकाको पान्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थित राज खोलामा बाढीले गर्दा सडक अवरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क विच्छेद भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्य गरी रहनुभएको छ ।

बाढीले क्षति पुर्याएको तस्बिरः



यो पनि पढ्नुहोस