गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ ।
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।
राधिका अधिकारीको नयाँ तिज गीत ‘माइती देशको गाउँ’ सार्वजनिक भएको छ । गीतमा गायिका काव्य आचार्य र मीना नेपालीले स्वर दिनुभएको छ । दीपक शर्माको सङ्गीत तथा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ । गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिले पनि तिजको कोसेलीस्वरूप ‘पाउजु बजाउँदै’ बोलको गीत ल्याउनुभएको छ । स्रष्टा अमर वन्तुको शब्द, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा ‘पाउजु बजाउँदै’ बोलको तिज गीतमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय रहेको छ भने निर्देशन स्मृति तिमल्सिनाले गर्नुभएको हो । भिडियो गायिका श्रेष्ठको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
नेपाली युवामाझ गायक दीपक वज्राचार्य र उहाँकी छोरी चेरिसा वज्राचार्यलाई इन्टरनेसनल एजुकेसन, माइग्रेसन एन्ड भिसा सर्भिसेस कम्पनी स्मार्ट एक्सेसुले सद्भावना दूत नियुक्त गरेको छ । नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारका लागि उल्लेखनीय योगदान गर्नुभएका गायक वज्राचार्य र चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’ अन्तर्गत अस्ट्रेलियाको साङ्गीतिक भ्रमणमा हुनुहुन्छ । ‘स्मार्ट एक्सेस’ ले अस्ट्रेलियाको मेलबर्नमा वज्राचार्य र चेरिसालाई सद्भावना दूत नियुक्त गरेको हो ।
हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ । यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो ।
जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
फोटा पत्रकार नरेश श्रेष्ठ आइतबार विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४३ बाट सम्मानित हुनुभएको छ । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारका रूपमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएका गोरखापत्रका पूर्वफोटो पत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाएका चार जलविद्युत् आयोजनाका लागि ऋण स्वीकृत गरेको पत्र प्रदान गरेको छ । शुक्रबार एचआइडिसिएलले एकै पटक कुल पाँच सय मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको पत्र प्रदान गरेको हो ।
पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण समेत गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए ।
कुस्मा नगरपालिकाका नेवार समुदायले आफ्नो परम्परागत संस्कृति लाखेनाचलाई लोप हुनबाट जोगाउन युवा तथा केटाकेटीलाई सिकाउन थालेका छन्। सहरमा लाखेनाच देखाउँदै गर्दा सँगसँगै नयाँ पुस्तालाई पनि नाच्न र बजाउन सिकाइने गरिएको छ। नेवार समुदायको दोस्रो पुस्ता मानिने अधिकांश युवा विदेश छन्। यहाँ भएका युवामा पनि लाखेनाचप्रति चासो र रुचि छैन। समाजमा चलनचल्तीमा रहँदै आएका मौलिक कला संस्कृति, चाडपर्व, मेला, जात्रा लोपोन्मुख अवस्थामा पुगेको नेवा समुदायका अगुवा बताउँछन्।
बाली लगाएर बाँदर, बँदेल, दुम्सी, स्यालजस्ता वन्यजन्तुबाट जोगाउन पहाडी जिल्लामा निकै कठिन हुँदै गएको छ । खेतबारीमा लगाइएको बाली जोगाउन बिहानदेखि बेलुकासम्म किसानले चौकीदारी नगरी सुखै छैन । नलगाड, भेरी, छेडागाड नगरपालिका, बारेकोट, जुनीचाँदे, शिवालय र कुशे गाउँपालिकामा बाँदर सँगसँगै जङ्गली जनावर दुम्सी, स्यालले मकै खेती नष्ट पारेपछि किसान हैरान भएका छन् । खेतबारीका किसानले दैनिक चौकीदारी गरिरहेका छन् ।
संयूक्त अधिराज्य (बेलायत) मा मौलिक नेपाली कला,संस्कृति प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित भएको चौथो प्रतिभा नक्षत्रमा इशानी बराल र गृष्मा खडका संयूक्त रूपमा विजयी हुनु भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष पुग्दासमेत कार्यविधि नबन्दा सञ्चालनमा आएको छैन। आठ वर्ष लगाएर निर्माण भएको सम्मेलन केन्द्र प्रयोगमा नआउँदा आर्थिक घाटासमेत प्रदेशले बेहोर्दै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना कार्यालय प्रमुख धर्मेन्द्र पन्थीले कार्यविधि नबन्दा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थित रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो। एउटा मुख्य सभा हल र अरू आठ वटा साना सभा हल निर्माणमा एक अर्ब ११ करोड रुपियाँ खर्च भएको थियो। सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष हुँदा पनि सञ्चालनमा आउन नसक्दा सम्मेलन केन्द्र व्यवस्थापन खर्चसमेत उठ्न सकेको छैन। सम्मेलन केन्द्रमा अहिले १५ जना कर्मचारी कार्यरत रहेका छन्।
डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ। चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ। पाँच वटा विषय अध्यापनको माग गरिएको सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायका डिन हेमनाथ जोशीले बताउनुभयो।