• १२ साउन २०८१, शनिबार

चौथो प्रतिभा नक्षत्रमा इशानी र गृष्मा विजयी

blog

करुण अर्याल

लन्डन, भदौ ११ गते । संयुक्त अधिराज्य (बेलायत) मा मौलिक नेपाली कला, संस्कृति प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित भएको चौथो प्रतिभा नक्षत्रमा इशानी बराइली र गृष्मा खड्का आ-आफ्नो स्पर्धामा विजयी हुनुभएको छ । 

प्रतिभा नक्षत्र युवातर्फ भएको स्पर्धामा बराइली पर्थम, रिया गिरी द्वितीय र सुनिता लामिछाने तृतीय हुनु भएको छ । यसैगरी, बाल स्पर्धातर्फ खडका प्रथम, आभा अधिकारी द्वितीय र आश्रिया सुवेदी तृतीय हुनुभएको छ ।  

प्रतिभा नक्षत्रद्वारा लन्डनमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले प्रतिभा नक्षत्रजस्ता कार्यक्रमले साना बालबालिकालाई नेपाली भाषा, संस्कृति र कला बुझ्न र सम्झिन सजिलो हुने बताउनु भयो । उहाँले यस्ता कार्यक्रम अन्य देशहरूमा पनि गरेर बालबालिकालाई आफ्नो देशप्रतिको माया जगाउन सकिने बताउनुभयो । 

सञ्चारकर्मी टीकाराम यात्रीले देशबाट टाढा जाँदैमा आफ्नो कला, संस्कृति टाढा नुहुने भएकाले यस्ता कार्यक्रमले देशप्रतिको माया र सद्भावलाई बढवा दिने बताउनु भयो । प्रतिभा नक्षत्रका संरक्षक मनिष श्रेष्ठले प्रतिभा नक्षत्रलाई अन्य देशमा पनि विस्तार गर्न सके टाढा रहेर पनि आफ्नो देशलाई सदैव माया गर्न सकिने बताउनु भयो । 

प्रतिभा नक्षत्रका अध्यक्ष सीमि पुन, प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसलगायतले यस्ता कार्यक्रम बेलायतमा भिन्न संस्कृति र परिवेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि उपयोगी हुने बताउनु भयो । 

छ वर्षदेखि १४ वर्षका बालबालिकाको सहभागिता रहेको सो कार्यक्रममा २२ जना बालबालिकाले नेपाली भाषामा बोलेर आफ्नो देशको कला र संस्कृतिबारे प्रस्तुत गरेका थिए । बालबालिकाले नेपाल र नेपाली संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा बेलायतबाहेक जर्मनी, अष्ट्रियालगायतबाट आएका नेपाली बालबालिकाले भाग लिएका थिए ।