• ३० वैशाख २०८२, मङ्गलबार

कार्यविधि नबन्दा सम्मेलन केन्द्र अलपत्र

blog

बुटवल समाचारदाता

बुटवल, भदौ ११ गते । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष पुग्दासमेत कार्यविधि नबन्दा सञ्चालनमा आएको छैन। आठ वर्ष लगाएर निर्माण भएको सम्मेलन केन्द्र प्रयोगमा नआउँदा आर्थिक घाटासमेत प्रदेशले बेहोर्दै आएको छ। 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना कार्यालय प्रमुख धर्मेन्द्र पन्थीले कार्यविधि नबन्दा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थित रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो। एउटा मुख्य सभा हल र अरू आठ वटा साना सभा हल निर्माणमा एक अर्ब ११ करोड रुपियाँ खर्च भएको थियो।  सम्मेलन केन्द्र उद्घाटन भएको एक वर्ष हुँदा पनि सञ्चालनमा आउन नसक्दा सम्मेलन केन्द्र व्यवस्थापन खर्चसमेत उठ्न सकेको छैन। सम्मेलन केन्द्रमा अहिले १५ जना कर्मचारी कार्यरत रहेका छन्। 

सम्मेलन केन्द्रको खर्च विद्युत्, सरसफाइ र कर्मचारी गरी मासिक चार लाख रुपियाँ हुने गरेको छ। एक वर्षको बिचमा सम्मेलन केन्द्र भाडामा दिएबापत जम्मा ११ लाख रुपियाँ आम्दानी भएको छ। सम्मेलन केन्द्र आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीका अनुसार सम्मेलन केन्द्रको कार्यविधि स्वीकृतिका लागि विसं २०७९ साल जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत सङ्घीय सहरी विकास मन्त्रालयलाई बुझाइएको थियो तर अहिलेसम्म कार्यविधि स्वीकृत भएर आउन सकेको छैन।   

कार्यविधि स्वीकृत भएर नआउँदा सभा हल भाडामा लगाउन समस्या परेको छ। आयोजना प्रमुख पन्थीका अनुसार एक वर्षको बिचमा सम्मेलन केन्द्रमा अहिलेसम्म आठ वटा मात्र कार्यक्रम भएका छन्। कार्यविधि स्वीकृत हुन ढिलाइ भएपछि आयोजनाले सम्मेलन केन्द्रको सभा हल अहिले चार घण्टाका लागि ९६ हजार, आठ घण्टाका लागि एक लाख २७ हजार र १२ घण्टाका लागि एक लाख ७६ हजार तोकेर भाडामा दिने गरेको छ। जसबाट जम्मा ११ लाख पाँच हजार आम्दानी भएको जनाइएको छ। यसको सञ्चालन खर्च वार्षिक ४८ लाख रुपियाँ रहेको छ। बुटवल उपमहानगरपालिकाले सरकारले कार्यविधि बनाएर सम्मेलन केन्द्र सञ्चालन गर्न दिएमा सञ्चालन गर्न तयार रहेको जनाएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्रको उद्घाटनकै दिन सम्मेलन केन्द्र चलाउन आफूहरू तयार रहेको बताउँदै सरकारसँग सम्मेलन केन्द्र निश्चित विधि बनाएर दिन आग्रह गर्नुभएको थियो। 

आयोजना प्रमुख पन्थीका अनुसार सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। त्यस्तै लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ। सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ। सम्मेलन केन्द्रको मुख्य सभा हलसहित छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय भवन तयार भएको छ।