• २० असोज २०८१, आइतबार

नेवाः संस्कृति जोगाउन प्रशिक्षण

blog

प्रनिश गिरी

कुस्मा, भदौ ११ गते । कुस्मा नगरपालिकाका नेवार समुदायले आफ्नो परम्परागत संस्कृति लाखेनाचलाई लोप हुनबाट जोगाउन युवा तथा केटाकेटीलाई सिकाउन थालेका छन्। सहरमा लाखेनाच देखाउँदै गर्दा सँगसँगै नयाँ पुस्तालाई पनि नाच्न र बजाउन सिकाइने गरिएको छ। 

नेवार समुदायको दोस्रो पुस्ता मानिने अधिकांश युवा विदेश छन्। यहाँ भएका युवामा पनि लाखेनाचप्रति चासो र रुचि छैन। समाजमा चलनचल्तीमा रहँदै आएका मौलिक कला संस्कृति, चाडपर्व, मेला, जात्रा लोपोन्मुख अवस्थामा पुगेको नेवा समुदायका अगुवा बताउँछन्। 

आफ्नो संस्कृति लोप हुनबाट कसरी जोगाउने भन्ने चिन्ताले नेवार समुदायलाई पिरोल्न थालेपछि लाखेनाचलाई निरन्तरता दिन १२ देखि १८ वर्षसम्मका उमेर समूहलाई प्रशिक्षण दिनु परेको नेवार समुदायका अग्रज विष्णुप्रसाद नेवार बताउनुहुन्छ। 

अग्रज सदस्यहरू इन्द्र श्रेष्ठ, खड्ग श्रेष्ठका साथै युवा रमेश श्रेष्ठ, रामु श्रेष्ठलगायतले केटाकेटीलाई आफ्नो मौलिक संस्कृतिको महत्व दर्साउँदै लाखेनाच सिकाउँदै आएका छन्। उहाँका अनुसार खुसी र उत्साहका साथ नयाँ पुस्ताले लाखेनाच सिक्दै छन्। यिनीहरूले १० दिनभित्रमा झ्याली, ढोलक, बाँसुरी बजाउनुका साथै ताल मिलाएर नाच्न सिक्ने छन्। 

प्रशिक्षणले परम्परागत लाखेनाच र अन्य जात्रालाई समेत परिष्कृत तथा आकर्षक बनाउँदै लैजाने र यसले नेवार समुदायको सांस्कृतिक पहिचानसमेत जोगाउने अग्रज नेवार समुदायका सदस्यको विश्वास छ। 

नेवार समुदायका सदस्य चेतप्रसाद श्रेष्ठका अनुसार भदौ महिनाको नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म हरेक दिन सदरमुकाम कुस्मा बजार क्षेत्रमा लाखेनाच प्रदर्शन गरिने छ। यो प्रदर्शन अवधिमा सात जना केटाकेटीलाई विशेष तवरले लाखेनाच सिकाइँदै छ।

जनैपूर्णिमासम्म भदौरे जात्राअन्तर्गत लाखेनाच देखाउने र त्यसपछि रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा, नागानाच देखाइने गरिएको छ। गाईजात्रामा आफन्तको सम्झनास्वरूप परिवारका सदस्यले सेतो कपडाले बेरेको डोकोमा तस्बिर टाँसेर बजार परिक्रमा गर्दै आएका छन्। 

केही दशक पहिलेसम्म हनुमाननाच र बकुल्लानाच देखाइँदै आएको भए पनि अहिले यी नाचको संरक्षण हुन नसक्दा लोप भइसकेको अग्रज नेवार सदस्य हरिप्रसाद श्रेष्ठ बताउनुहुन्छ। केही वर्षअघिसम्म गाउँ गाउँमा देखाइँदै आएको भदौरे जात्रा हाल बजार क्षेत्रमा मात्र सीमित छ।