काठमाडौँ, भदौ ११ गते । पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण समेत गरिएको छ ।
भैरव रिसाल, शान्त दास मानन्धर, रोचक घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा ‘फित्कौलीको खित्कौली सभा–२’ कार्यक्रमको अवसरमा सम्मान तथा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘भ्यागुताको श्वेतपत्र’ साहित्यकार रोचक घिमिरेद्वारा स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक गोविन्दराज भट्टराईद्वारा स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कविता सङ्ग्रह शान्त दास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा. मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘बेसारे घुर्की’ चट्याङ मास्टरद्वारा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान– २०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २० हजार एक सय पाँच सहित सम्मान पत्र अर्पण गरिएको थियो ।
त्यसै गरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार(२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र न्यौपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार-२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ समर्पण गरिएको थियो ।
यी पुरस्कारहरूको रकम जनही १५ हजार एक सय पाँच रुपियाँ र फित्कौली प्रोत्साहन पुरस्कार स्वरूप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद रु. १० हजार एक सय पाँच ले सम्मान गरिएको थियो ।