निर्माता तथा निर्देशक रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उहाँले उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाउनुभएको हो । उहाँले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ लिनुभएको छ । राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्छ । उहाँले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका चलचित्र निर्माण गर्नुभएको छ ।
आज २५ डिसेम्बर जिसस क्राइस्ट जन्मिएको दिन । यही दिन क्रिसमस मनाउने चलन सन् ३५० देखि सुरु भएको हो । यो पर्व रोमका तत्कालीन बादसाह कन्स्टेन्टाइनले सुरु गरेका हुन् । जो पहिले सूर्यभक्त थिए । यसरी क्रिस्चियन धर्म अनुसार बादसाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर २५ लाई सूर्य देवताको जन्म दिवसका रूपमा मनाउथे ।
शैली थिएटरको संयोजकत्वमा काठमाडौँमा १५ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन हुने भएको छ । माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव आठ दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुने छ । महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ । आवेदन पुस ५ देखि २१ सम्म पठाइसक्न आग्रह गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा प्रवाह भएको पाँच करोड रुपियाँसम्मको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षाका क्रममा गरिएको व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
गौमुखी गाउँपालिका–६, लिवाङका २८ वर्षीय पदमबहादुर केसीले आफ्नै गाउँमा बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँले २०७५ सालदेखि गाउँको जग्गामा विभिन्न जातका बिरुवाको नर्सरी राखेर बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । “आफ्नै आठ रोपनी जग्गामा नर्सरी गर्दै आएको छु,” केसीले भन्नुभयो, “यही नै मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।” नर्सरीमा विभिन्न जातका घाँसका बिरुवा र टिमुर, कफी, अम्बालगायत जातका बिरुवा उत्पादन गर्ने गरेको केसी बताउनुहुन्छ । सुरुमा थोरै लगानी गरेर नर्सरी सुरु गरेको तर उहाँले अहिले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “सो व्यवसायबाट वार्षिक १२ लाख रुपियाँसम्म आम्दानी गरिरहेको छु ।”
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–२, रकुका अविलाल विष्टले गाउँमै चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । खाडी देश कतारमा दुःख पाएपछि विष्ट गाउँ फर्केर आफ्नो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । गाउँकै स्कुलमा पढ्दै गर्दा वैदेशिक यात्राका लागि कतार पुग्नुभएका विष्टले आफ्नो देशको प्रेम बल्ल थाहा पाउनुभयो र फर्किनुभयो ।
गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रोपनी जमिन यतिखेर जुनारले पहेँलपुर बनेको छ । उहाँलाई हरेक दिन जुनार टिपेर बिक्रीका लागि बजार पठाउन भ्याइनभ्याइ छ । गत वर्षको तुलनामा यो वर्ष जुनार उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । “यो वर्ष अहिलेसम्म छ लाख रुपियाँ जतिको जुनार बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “गत वर्ष जुनारबाट १८ लाख रुपियाँ जति लिएको थिएँ । यो वर्ष २० लाख रुपियाँ होला जस्तो छ ।” जुनार किन्न व्यापारी बगैँचामै आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उहाँले सुनाउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभएको छ ।
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
एक वर्षको अन्तरमा करिब दुई लाख व्यक्तिगत करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा एक लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएर करदाताका रूपमा आफूलाई दर्ता गराएका हुन् । सोही अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन् । त्यस्तै एक वर्षभित्र दुई हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्याङ्क छ ।
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।