• २० असोज २०८१, आइतबार

क्रिसमस डे : ‘सान्टा क्लस’ र ‘क्रिसमस ट्री’ को रौनक

blog

काठमाडौँ, पुस ९ गते । आज २५ डिसेम्बर जिसस क्राइस्ट जन्मिएको दिन । यही दिन क्रिसमस मनाउने चलन सन् ३५० देखि सुरु भएको हो । यो पर्व रोमका तत्कालीन बादसाह कन्स्टेन्टाइनले सुरु गरेका हुन् । जो पहिले सूर्यभक्त थिए । यसरी क्रिस्चियन धर्म अनुसार बादसाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर २५ लाई सूर्य देवताको जन्म दिवसका रूपमा मनाउथे ।

पसलमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामग्री आदिले पनि क्रिसमसको महत्वका बारे धेरै कुरा झल्काउँछ । सान्टा क्लसले पहिरिएको विभिन्न डिजाइनको टोपी नेपाली बजारमा निक्कै लोकप्रिय छ । यही टोपी कतिपय युवाले उपहार दिने र फेसनका रूपमा लगाउने गर्छन् । 

नेपाली बजारमा यसको बिक्री बढेको छ । एक सय रुपियाँदेखि माथिका विभिन्न कलरमा टोपी बजारमा पाइने गरेका छन् । क्रिसमस इभमा सान्टाले ज्ञानी बच्चा सुतिरहेको समयमा टोपी उपहार छोडेको विश्वास गरिन्छ । सय वर्षअघि भिक्षु सेन्ट निकहोलसको टर्कीमा जन्म भएको थियो । निकहोलसले विभिन्न ठाउँमा गरिबलाई मद्दत गर्दै हिँड्थे । उनै निकहोलस् युरोपमा सान्टाका रूपमा परिचित छन् । त्यति मात्र होइन, नेपाली बजारमा क्रिसमस गिफ्टको माग पनि बढेको छ । पछिल्ला केही दशकमा क्रिसमस डे र नयाँ वर्षको अवसरमा युवापुस्ताको रुचि कार्ड 

पठाउने भन्दा पनि सान्टा क्लसको लुगा र टोपी किन्नेमा धेरै हुन गएको बौद्धस्थित हलमार्कका प्रकाश गुरागाईं बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले क्रिसमस ट्री हेर्ने र सान्टा क्लससँग रमाउने धेरै छन् ।” 

त्यस्तै सिनामङ्गलस्थित डबली गिफ्ट सपका विष्णु कार्की क्रिसमस डेमा धेरै युवाले सान्टाको टोपी खोज्न आउने गरेको बताउनुहुन्छ । कोही सान्टाको पूरै लुगाको सेट नै किन्न आउने गरेका छन् भने कोही टोपी, जुँगा जस्ता रमाइला चिजबिज खरिद गर्न आउने उहाँले बताउनुभयो ।  

त्यस्तै क्रिसचियन धर्मावलम्बीले क्रिसमसको दिनमा सल्लाको रुख (क्रिसमस ट्री) लाई सजाएमा जीवनभरि हरियो हुने विश्वास गर्ने गरेका छन् । क्रिसमस ट्री जहिल्यै हरियो रुखमा विभिन्न किसिमका हिउँको थुप्रो जस्तो सेतो कपासले सजाइन्छ । क्रिसमस ट्रीमा बत्ती राखेर सजाउने गरिन्छ । क्रिसमस ट्री प्राकृतिक र कृत्रिम दुवैमा सजाउने गरिन्छ । क्रिसमस ट्री सजाउने परम्परा १६ औँ शताब्दीमा लिमोनिया र जर्मनीबाट आएको हो ।

केही इतिहासकारले क्रिसमसको समयमा सल्लाको रुखमा क्यान्डल, बत्तीले सजावट गरेमा स्वर्गसम्म पुग्ने विश्वास रहेको बताएका छन् । सल्लाको रुखको माथिल्लो भागमा स्वर्गदूत (परी) वा ताराले सजाइन्छ । जसले स्वर्गदूतले होस्ट गरेको अनुभव हुने धारणा पनि छ ।