गण्डकी, पुस ९ गते । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ ।
इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभएको छ ।
जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्वभरका इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने उहाँको सन्देशमा उल्लेख छ ।
यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने प्रदेश प्रमुख गुरुङले कामना गर्नुभएको छ । रासस