गीतकार नारायण खतिवडाको गीतिसङ्ग्रह पुस्तक ‘बहार’ को लोकार्पण गरिएको छ । पुस्तकमा ९४ वटा गीत समावेश छन् । गीतिपुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरी कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सामाजिक विषयबस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, संयोगान्त र वियोगान्त, चेतनामूलक गीत रहेका छन् ।
नेपालले संयुक्त राज्य अमेरिकामा निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्पसनसँग बुधबार भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
उद्देश्य अनुसार स्याङ्जाका घरबास (होमस्टे) को प्रतिफल नआएपछि गण्डकी प्रदेश सरकार अनुदान रोकेर स्तरीकरणको गृहकार्यमा लागेको छ । स्थानीयलाई स्वरोजगार, आयआर्जनमा जोड्ने लक्ष्यसहित स्थापना भएका यहाँका घरबास (होमस्टे) धमाधम बन्द हुँदै जाँदा गण्डकी प्रदेश सरकार यो निर्णयमा पुगेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएका नेपाली श्रमिकले कोरियाको विकासमा धेरै सहयोग भएकाले कोरिया सरकारबाट त्यसको कदर हुनुपर्ने बताउनुभएको छ ।
मुगुको उत्तरी भेगको मुगुमकार्मारोङ गाउँपालिका–१ मा पर्ने डोल्फुगाउँका स्थानीय जिम्बु (भोटेजिरा) को सङ्कलनमा व्यस्त छन् । डोल्फुगाउँको वनक्षेत्रभित्र पाटनमा पाइने यो सुगन्धित जिम्बु उत्पादन हुने गर्छ । भदौदेखि यहाँको पाटन क्षेत्रमा जिम्बु सङ्कलन गर्न जानेको सङ्ख्या बढ्छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले कोरियामा आयोजना हुन लागेको विश्वव्यापी पूर्वाधार सम्मेलनमा नेपालका ऊर्जा परियोजनाको प्रस्ताव पेस गर्न आग्रह गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र योङबिच बुधबार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ र बिक्रीदर १४० रुपियाँ ६० पैसा कायम भएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ ।
भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबिच लिपुलेक सम्बन्धमा भएको सहमतिको विषय उठाइने बताउनुभएको छ । भदौ ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले चीन र भारत दुई देशले नेपालको सहमतिविपरीत लिपुलेक प्रयोग गर्ने सहमति गरेको प्रस्ट पार्नुभयो ।
सर्वोच्चको संवैधानिक इजलासले डेढ महिनादेखि स्थगित भएको मुद्दाका सुनुवाइ प्रक्रिया पुनः सुरु गरेको छ । इजलास गठनको विधिबारे प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा अन्य न्यायाधीशबिच मतभिन्नता हुँदा असार २५ गतेयता मुद्दाको सुनुवाइ प्रभावित भएको थियो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा स्तरोन्नति भएका चार वटा विभागको शुल्क समायोजनको माग गर्दै आन्दोलनमा उत्रेको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र त्रिभुवन विश्वविद्यालय प्रशासनबिच चारबुँदे सहमति भएको छ । सहमतिसँगै क्रान्तिकारीले ३४ दिनदेखिको आन्दोलन फिर्ता लिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ को सीमावर्ती क्षेत्र हुँदै हनुमन्तेखोलामा मिसिने घट्टेखोलामा बाढी उर्लिएपछि स्थानीयवासी त्रासदीमा पर्छन् । बस्ती नै बाढीको जोखिममा पर्ने भएपछि बर्खायाम स्थानीयवासीका लागि पीडादायी बन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।
सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादव (टुटु बाबु) को निधन भएको छ ।