• १२ भदौ २०८२, बिहिबार

विधान महाधिवेशनको तयारी तिव्र पार्न महासचिव पोखरेलको निर्देशन

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, साथमा एमाले नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिका् तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको हो । 

महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनुभयो । उहाँले पूर्वनिर्धारित योजनाअनुरूप नै व्यवस्थापनको काम अघि बढेको पाइएको बताउनुभयो । 

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भदौ १५ गतेदेखि तयारीको कामलाई थप तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा आठ वटै उपसमितिका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए । 

प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको छ । पार्टीले हिजो मात्र महाधिवेशनको मूल नारा तय गरेको थियो । “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई पार्टीले मूल नारा बनाएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कूल दुई हजार ३७८ रहेका छन् ।