देवराम यादव
सप्तरी, भदौ ११ गते । सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादव (टुटु बाबु) को निधन भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका ३, बथनाहा निवासी यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उहाँ विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । चिकित्सकको निगरानीमा उपचारमा रहनुभएका उहाँको आफ्नै घरमा निधन भएको हो ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष केदार प्रसाद यादवले टुटु वाबुको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।
महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उहाँले आफ्नो कार्यकालमा स्थानीय सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिनुभएको थियो । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उहाँले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुभएको थियो ।
उहाँको एक छोरा, एक छोरी र पत्नी हुनुहन्छ । यसैबिच महादेवा गाउँपालिकाले बुधवार एक शोक विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष यादवको निधनमा बिहीवार महादेवा गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकसिमक र अत्यावश्यक सेवा वाहेक) सेवा केन्द्रहरु तथा सामुदायिक विधालयहरुमा शोक विदा दिइएको छ ।