गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएका नेपाली श्रमिकले कोरियाको विकासमा धेरै सहयोग भएकाले कोरिया सरकारबाट त्यसको कदर हुनुपर्ने बताउनुभएको छ । कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभाग (एचआरडी) प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली युवाले कोरियाबाट पुँजीसँगै श्रम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सिप हासिल गरेर आउने उहाँले बताउनुभयो । कोरिया नेपाली युवाका लागि आकर्षक रोजगारी गन्तव्यका रूपमा स्थापित भइसकेको छ । सन् २०२५ का लागि पाँच हजार युवाका लागि माग आएकोमा एक लाखभन्दा बढीले आवेदन दिएका छन् । हुन्डाईले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको जानकारी दिएको थियो ।