गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १२ गते । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा स्तरोन्नति भएका चार वटा विभागको शुल्क समायोजनको माग गर्दै आन्दोलनमा उत्रेको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र त्रिभुवन विश्वविद्यालय प्रशासनबिच चारबुँदे सहमति भएको छ । सहमतिसँगै क्रान्तिकारीले ३४ दिनदेखिको आन्दोलन फिर्ता लिएको छ ।
त्रिविले यसअघि कायक्रम अन्तर्गत सञ्चालन गरेको तर हाल मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतको विभागमा रूपान्तरण गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, शान्ति, द्वन्द्व र विकास विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागले विद्यार्थीबाट लिइरहेको शुल्क घटाउन माग गर्दै क्रान्तिकारीले विगत ३४ दिनदेखि आन्दोलन गर्दै आएको थियो ।
सहमति अनुसार ती चार वटै विभागमा अध्ययनका लागि हाल विद्यार्थीबाट लिइँदै आएको शुल्क घटाएर एक लाख १० हजार रुपियाँ कायम राख्ने तथा उक्त शुल्क अहिले पढाइ भइरहेको दोस्रो सेमेस्टरबाटै लागु गर्ने सहमति भएको छ । त्यस्तै त्रिवि नियम अनुसार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिलाई कार्यान्वयनमा ल्याउने तथा ती विभागको स्तरोन्नति गरिने विषयमा पनि सहमति भएको छ । सहमतिसँगै क्रान्तिकारीको आन्दोलन पनि फिर्ता भएको छ ।
सहमतिमा त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाल तथा आन्दोलनरत विद्यार्थीका प्रतिनिधिको हस्ताक्षर छ । त्रिविले यी विषयलाई यसअघि कार्यक्रमका रूपमा सञ्चालन गरेको थियो । त्यतिबेला विद्यार्थीबाट लिइने शुल्कबाट नै प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापन भइरहेको थियो, जसका कारण अन्य विभागको तुलनामा यी कार्यक्रममा पढ्ने विद्यार्थीको शुल्क केही धेरै थियो ।
तर नियमित खर्च आफैँले बेहोर्ने गरी त्रिविले यी कार्यक्रमलाई विभागमा रूपान्तरण गरे पनि शुल्क भने पहिले झैँ उठाएपछि क्रान्तिकारीले असन्तुष्टि जनाएको हो । क्रान्तिकारीको आन्दोलनका कारण त्रिविका पदाधिकारीलाई दैनिक कार्यसम्पादनमा समेत समस्या परेको थियो ।