कर्णाली प्रदेश सरकारले शिक्षालाई व्यावहारिक बनाउने गरी नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटेर ‘किताबरहित शुक्रबार’ जीवन उपयोगी शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । विद्यालयमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्ने गरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रबार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गर्ने गरी कार्यक्रम सुरु गर्न लागिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो वर्षदेखि परीक्षणको रूपमा कार्यक्रम सुरु गरिने निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो ।
लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा चिकित्सकले लापर्बाही गरिरहेको गुनासो आएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले छड्के अनुगमन गर्नुभएको छ ।
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च घटाउन, मितव्ययिता अपनाउन र प्रदेश सरकारको कार्यसम्पादन एवं सेवा प्रवाहमा सुशासन कायम गर्न निर्देशन दिएको छ ।
बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ ।
बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो ।
खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।
दार्चुलाको मार्मा गाउँपालिकाका बाढीपहिरोपीडित परिवार समस्यामा परेका छन् । मार्मामा साउनमा आएको बाढीपहिरोबाट ३६ परिवार प्रभावित भएका छन् । मार्मा गाउँपालिका–४, मर्मतीका २३ परिवार; वडा नं. ५ गन्याडीका छ परिवार र मुरैका दुई परिवार, वडा नं. ६ का तीन परिवार र वडा नं. ३ का दुई परिवार गरी ३६ परिवार यो वर्ष बाढीपहिरोको चपेटामा परेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।
राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।
लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको बिरेखोला झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक बन्दै गएको हो । प्राकृतिक वरदानको नमुना बिरेखोला झरना प्राचीनकालदेखि नै यसरी बग्ने गरेको बताइएको छ । उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको झरना केही वर्षयता सामाजिक सञ्जालमा चर्चित छ । करिब तीन सय मिटर अग्लो बिरेखोला झरना हेर्न प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । एक दिनमा करिब दुई सय पर्यटक झरनामा रमाउन आउने गरेको वडाध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।
धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो ।
तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो ।
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।