चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था गर्दै योजना कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नारासहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । प्रत्येक वडाका कृषकलाई खेती तथा बाली लगाउने तरिका सिकाउने साथै खेती व्यवस्थापन लगायतका कार्यमा सहयोग पु¥याउने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका छ वटै वडामा एक कृषि प्राविधिकको व्यवस्था गरी चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक कृषि प्राविधिक’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । कार्यक्रम कार्यान्वयनमा आएसँगै कृषककै घरदैलोमा प्राविधिक सेवा पु¥याउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सिँचाइ प्रणालीमा सुधार गरेमा मात्र कृषि उत्पादन सम्भव हुने भएकाले यस कार्यक्रममार्फत मुख्य उत्पादनयोग्य खेती क्षेत्रको वर्गीकरण गरी आवश्यक सिँचाइको प्रवन्ध मिलाउने योजना बनाएको छ ।
कृषि उत्पादनमा वृद्धि गर्न मागका आधारित आधुनिक प्रविधि र यन्त्र किसानलाई उपलब्ध गराउने पनि गाउँपालिकाले योजना बनाएको जनाएको छ । यस्तै रासायनिक बिषादी प्रतिस्थापित गरी जैविक बिषादी र मलको उत्पादन तथा प्रयोगमा गाउँपालिकाले जोड दिने भएको छ । कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत नै गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई वडा १ नाङ्खोल्याङको मेवाखा क्षेत्रमा स्थापना भएको पाथीभरा कोसेली घरमार्फत बजारीकरणको प्रवन्ध गर्ने पनि पालिकाको योजना बनाएको छ ।
यस्तै चालु आवभित्रै पालिकाका उत्पादनजन्य सामग्रीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न मिल्नेगरी एक कृषि उद्योगको स्थापना गर्नेसमेत योजना रहेको गाउँपालिका अध्यक्ष सुब्बाको भनाइ छ । रैथाने बालीको प्रवद्र्धनलाई प्राथमिकता दिने योजना बनाएको र सोहीअनुसार परम्परादेखि खेती साथै कृषि तथा फलफूलजन्य उत्पादन प्रवर्धनका लागि किसानलाई प्रोत्साहित गरिने पनि उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका क्षेत्रभित्र कृषि क्षेत्रको वस्तुगत स्थिति पत्ता लगाउने र किसान सूचीकरण गर्ने कार्यक्रमलाई छ वटै वडामा विस्तार गर्ने भएको छ । किसानलाई व्यवसायमुखी बनाई उनीहरुको मिहिनेत र कृषि प्रणालीको दिगोपनका लागि हरेक वर्ष उत्कृष्ट चार जना कृषक छनोट गरी नगदसहित सम्मान गर्दै आइरहेको र उत्कृष्ट कृषक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।