• २८ भदौ २०८२, शनिबार

आउन थाले अत्यावश्यक वस्तु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । जेन जी आन्दोलन र कफ्र्युका कारण अर्थ मन्त्रालयमातहत आन्तरिक राजस्व र भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आन्तरिक राजस्व विभाग र कार्यालयहरू तथा भन्सार कार्यालयमा तोडफोड र आगजनीका कारण भएको क्षतिले राजस्व सङ्कलनका साथै आयातनिर्यात प्रभावित भएको थियो । सो घटनामा १४ वटा आन्तरिक राजस्व कार्यालय तथा पाँच वटा भन्सार कार्यालयमा निकै क्षति भएको थियो । भन्सार विभाग अन्तर्गतको अनलाइन जाँचपास प्रणाली आसिकुडामा भने क्षति नभएका कारण काम गर्न सहज बनेको छ । आन्तरिक राजस्वका लागि भने कार्यालयहरूको सर्भर सम्पर्क बन्द रहेको बताइएको छ । भन्सार जाँचपास नहुँदा अत्यावश्यक वस्तुको आयातसमेत ठप्प भएकामा प्रायः सबै नाकाबाट शुक्रबारदेखि मालवस्तु आउन थालेका छन् ।

विराटनगरबाट आयो ग्यास

जेन जी आन्दोलनका क्रममा आंशिक क्षति भएको विराटनगर भन्सार कार्यालयले अत्यावश्यक सेवा अन्तर्गत पर्ने मालवस्तुको जाँचपास शुव्रmबारदेखि सुरु गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार बुधबारपछि रोकिएको सेवा शुक्रबार एलपी ग्यास जाँचपास गरेर सुचारु गरिएको हो । यसै गरी कोशी प्रदेशकै मेची भन्सार कार्यालय काँकडभिट्टा पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अहिले नै काम कसरी सुरु गर्ने भन्ने यकिन भइसकेको छैन । मेची भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार काम सुरु गर्ने वातावरणको प्रतीक्षामा कुरिरहेको अवस्थामा छ । आन्तरिक राजस्व कार्यालय विराटनगर भने केन्द्रीय सर्भरसँग बिच्छेद रहेका कारण काम सुरु भएको छैन । कार्यालयका प्रमुख केशवकुमार उप्रेतीले केन्द्रीय सर्भरसँग जोडिएपछि काम सुरु गरिने छ तर कार्यालय पूर्ण रूपमा क्षति भएका कारण यसलाई ब्युँताउन समय भने अझै लाग्छ । आन्तरिक राजस्व विभागका अनुसार कोशीमा दमक, इटहरी, विराटनगर कार्यालयमा क्षति भएको छ । इलामको कार्यालयमा आंशिक क्षति भएको छ ।

वीरगन्जबाट बिहीबारदेखि नै

वीरगन्ज भन्सारबाट बिहीबारदेखि अत्यावश्यक वस्तुको जाँचपास सुरु भई मालसामान भित्रिन थालेको छ ।  भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन ठप्प भए पनि बिहीबारदेखि अत्यावश्यक वस्तुको भन्सार जाँचपास सुरु भई मालसामान भित्रिन थालेको हो । खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधीजन्य वस्तुको बिहीबार नै जाँचपास गरी केही सामान छुटेको र शुक्रबार पनि अत्यावश्यक वस्तु नै पठाइएको उहाँले बताउनुभयो । 

लुम्बिनीका दुवै नाका सुचारु

भैरहवा र नेपालगन्ज भन्सार कार्यालयले शुक्रबारदेखि अत्यावश्यक वस्तुको आयात सुरु गरेका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार शुक्रबारदेखि एलपी ग्यास, तरकारी तथा खाद्यान्नसहितका अत्यावश्यक सामग्री बोकेका गाडी भित्रिन थालेका छन् । प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले दुई/तीन दिनभित्र सम्पूर्ण प्रकारका मालसामानको आयातनिर्यात सुचारु हुने आशा गर्नुभयो ।

सूचना अधिकारी नरेन्द्रकुमार चौधरीका अनुसार शुक्रबार चार वटा पेट्रोल गाडी, ३७ वटा ग्यास बुलेट र अन्य तरकारी तथा खाद्यान्नका गाडी भित्रिएका छन् । भैरहवा भन्सारले दैनिक सरदर ३० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने गरे पनि विद्यमान असहज परिस्थितिका कारण तीन दिन पूर्ण रूपमा राजस्व सङ्कलन ठप्प भएको थियो । नेपालगन्जमा पनि शुक्रबारदेखि भन्सार प्रक्रिया सञ्चालनमा आएको छ । सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार शुक्रबार एकै दिन ९८ वटा गाडी भन्सार गरेर नेपालगन्ज पठाइएको छ । 

कैलाली आंशिक सञ्चालन 

कैलाली भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा रहेको छ । कफ्र्यु र कार्यालयमा आगजनी भए पनि यस भन्सारबाट आयातनिर्यात भइरहेको छ । आगजनी हुनुभन्दा अगाडि पोस्टिङ भएका तर गन्तव्यतर्फ नगएका मालसामान छोड्ने कार्य भइरहेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार भदौ २४ गते भएको आगजनीपछि पनि भारतबाट पेट्रोलियम पदार्थ आएको र राजस्व सङ्कलन भएको छ । थप पेट्रोलियम पदार्थ लिन गाडी गएका छन् । आइतबारदेखि पूर्ण रूपमा भन्सार सञ्चालन गर्ने तयारी छ । उता कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालय भने चार दिनदेखि बन्द छ । कफ्र्युका कारण गाडी चल्न नपाएकाले आयातनिर्यात रोकिएको प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले जानकारी दिनुभयो । उहाँले चार दिनमा करिब ५० लाख राजस्व गुमेको उल्लेख गर्नुभयो । 

(नवराज कट्टेल, विराटनगर/दीपक गौतम, पर्सा /लक्ष्मण पौडेल, भैरहवा/सिराज खान, नेपालगन्ज/ अविनाश चौधरी धनगढीको सहयोगमा)