• २८ भदौ २०८२, शनिबार

सेवा सूचारुबारे बागलुङका पालिका अन्यौलमा

blog

सदरमुकाममा रहेको बागलुङ नगरपालिकाको कार्यालय । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ २८ गते ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेदेखि बन्द भएका जिल्लाका स्थानीय तहहरु सेवा प्रवाहबारे अन्यौलमा परेका छन् ।

अन्यौलबीच पालिकाका कर्मचारीहरु बसेका छन् । कतिपय कर्मचारी घर जान पनि सकेका छैनन्, कार्यालय पनि नखुलेपछि अलमलमा छन् । भन्छन्, ‘‘के गर्ने, के नगर्ने अन्यौल छ ।’’ राज्यको अवस्था र प्रशासनको निशेधाज्ञाका कारण कार्यालयहरु खुल्ने अवस्था पनि छैन । तर आमनागरिक र सेवाग्राहीलाई कार्यालय सञ्चालन नहुँदा धेरै समस्या आइरहेका छन् ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले कार्यालय खोलेर काम गर्ने मनस्थिती बनाएको बताउनुभयो । तर देशको परिस्थिति ठिक नभएकोले सोचे अनुसार नभएको उहाँको भनाइ छ । ‘‘हाम्रो मनस्थिती ठिक छ, काम गरौं भन्ने छ’’ उहाँले भन्नुभयो । दैनिकजसो प्रशासनले सूचना निकालेर निशेधाज्ञा र कर्फ्यु लगाइरहेको छ । सोही आधारमा पालिकाहरुले पनि कार्यालय बन्द गर्ने सूचना लेखेर टाँस गर्न बाध्य छन् ।

अधिकांश आन्दोलनदेखि अन्य गतिविधि समेत सदरमुकाम केन्द्रित हुँदा बागलुङ नगरपालिकाले चाहेजस्तो तत्काल सेवा प्रवाह गर्न नसकेको हो । नगरभित्रका ४ वटा वडा त पूर्णरुपमा कर्फ्यु र निशेधाज्ञाको क्षेत्रमा पर्छन् । त्यस बाहेकअन्य सरकारी कार्यालय पनि संचालनमा आएका छैनन् । उच्च र जिल्ला अदालतमा त अनिश्चितकालसम्म पेशी स्थगित भइसकेको छ ।

सदरमुकामसहित गलकोट, बुर्तिवाङ र कुश्मीसेरालाई प्रशासनले निशेधाज्ञाको क्षेत्रमा राखेको छ । त्यसैले ती पालिकामा कार्यालय खुल्ने त संभावना छैन । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले परिस्थिति ठिक भए सेवा प्रवाहमा खटिने बताउनुभयो । ‘‘हामी तयारै छौं, तर जनता आउने वातावरण बनिसकेको छैन’’ शर्माले भन्नुभयो, ‘अत्यावस्यक सेवालाई त रोकिएको पनि छैन ।’’ तर पनि अबस्था सुधार भए आइतबार सम्ममा सेवा पूर्णरुपमा सूचारु गर्न सकिने संभावना रहेको उहाँको भनाइ छ ।

केही गाउँपालिका तहमा भने सामान्य काम भैरहेको छ । ‘‘सेवाग्राही आएमा काममा रोक छैन, तर परिस्थिति बुझेर कतिपय स्थानीय आउनै चाहेका छैनन्’’ सञ्चालन भएको एक पालिकाका जनप्रतिनिधिले भन्नुभयो, ‘‘धेरै समस्या त छैन, तर पनि तरल अबस्थामा जोखिम मोल्न कोही तयार छैनन् ।’’ परिस्थिति सुधार भएमा आइतबारदेखि भने सबै पालिकाले सेवा सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो ।