फोहोरमैला व्यवस्थापन पर्यावरण संरक्षण र जनस्वास्थ्यका लागि महत्वपूर्ण तर जटिल र निरन्तर विकसित भइरहेको क्षेत्र हो । २१ औँ शताब्दीमा विश्वले स्रोतको कमी र फोहोरको विस्फोटको दोहोरो चुनौती सामना गरिरहेको छ । सन् २०२३ विश्वका नगरपालिकाको ठोस फोहोरको उत्पादन करिब २.१ अर्ब टन रहेकोमा सन् २०५० सम्ममा यो बढेर ३.८ अर्ब टनसम्म पुग्ने अनुमान गरिएको छ । एक अध्ययनमा नेपालको ७७ जिल्लामा प्रतिव्यक्ति प्रतिदिन ०.२२३ किलोग्रामको दरले राष्ट्रिय औसत बराबर अनुमानित तीन हजार २३ टन बराबर नगरपालिकाको ठोस फोहोर उत्पादन हुन्छ । यसमा ६५ प्रतिशत कम्पोस्ट हुने सम्भावना भएको जैविक फोहोर छ भने २५ प्रतिशत प्लास्टिक, धातु र कागज जस्ता रिसाइकल गर्न सकिने सामग्री छन् । फोहोरबाट स्रोतको पुनप्र्राप्ति र वातावरणीय प्रभावलाई कम गरी दिगो विकास प्राप्त गर्न प्रभावकारी फोहोर व्यवस्थापन आवश्यक छ । फोहोरको व्यवस्थापनले स्वच्छता, स्वास्थ्य र उत्पादकत्वमा प्रभाव पार्दै जीवनको सम्पूर्ण गुणस्तरलाई समेत उल्लेखनीय रूपमा प्रभाव पार्छ । फोहोरको अपर्याप्त व्यवस्थापनले नदी र समुद्रलगायत सम्पूर्ण जीवमण्डललाई प्रदूषित गर्छ र यसले दिगो विकासमा ठुलो अवरोध पैदा गर्छ । तसर्थ दिगो फोहोर व्यवस्थापनको अभ्यास कार्यान्वयन गर्नु सम्पूर्ण राष्ट्रमा एक आसन्न आवश्यकता र चुनौती रहेको छ ।
ऐतिहासिक सन्दर्भ
फोहोर व्यवस्थापन प्राचीनकालका साधारण विसर्जन विधिमा सीमित थियो । कीट, गन्ध र जङ्गली जनावरहरूको समस्या कम गर्न मानिसहरूले फोहोरमैलाको प्रारम्भिक व्यवस्थापन गर्न बस्तीहरू बाहिर फोहोर फाल्ने गरिन्थ्यो । त्यस समयमा फोहोर सङ्कलनका लागि माटोका भाँडाहरू र खाडलहरू प्रयोग हुन्थे । प्रारम्भिक प्रयासहरूको बाबजुद, प्लेग र हैजा जस्ता महामारीले शताब्दीयौँसम्म जनसङ्ख्यालाई सताइरह्यो । १५ औँ शताब्दीसम्म सहरका परिषद्ले सडक सफा गर्न र सरसफाइका नियमहरू लागु गरेनन् । १९ औँ शताब्दीमा ब्याक्टेरिया र भाइरसहरू रोगका कारण हुन् भन्ने बुझाइले पानी र ढल प्रशोधनको माग बढायो । सार्वजनिक स्वास्थ्यको सरोकार र वातावरणीय चेतनाको विकाससँगै फोहोर व्यवस्थापन परिष्कृत प्रणालीमा विकसित भएको छ । प्रारम्भिक अभ्यास फोहोरको असुविधाबाट बच्नमा केन्द्रित थिए, जबकि पछि सरसफाइलाई रोगको रोकथामसँग जोडेकाले गर्दा यसलाई जलाउने इन्सिनेरेसनको संयन्त्र र यसबाट सामग्री पुनप्र्राप्ति गर्ने सुविधाहरूको निर्माण भयो ।
आधुनिक चुनौती र लक्ष्य
दोस्रो विश्व युद्धपछिको आर्थिक उछाल, सहरीकरण र जनसङ्ख्या वृद्धिले ‘फोहोरको हिमस्खलन’ निम्त्यायो । यसो हुनुमा औद्योगिक उत्पादन र व्यक्तिगत उपभोगमा भएको वृद्धिको परिणाम थियो । यसले फोहोरमैला व्यवस्थापनमा थप व्यवस्थित दृष्टिकोणको आवश्यकता देखायो । यसले गर्दा केवल विसर्जन विधिमा सीमित फोहोर व्यवस्थापनको विषयमा परिवर्तन आवश्यक भयो । तसर्थ आधुनिक फोहोरमैला व्यवस्थापनको ऐनहरूमा फोहोरको व्यवस्थापनमा रोकथाम, उपयोगी सामग्री र ऊर्जाको पुनप्र्राप्ति र वातावरणीय रूपमा सुरक्षित विसर्जनलाई प्राथमिकता दिएको पाइन्छ । फोहोरको रोकथाम गर्न कम फोहोर उत्पादन गर्ने प्रविधि, उत्पादनको पुनर्प्रयोग र पुनर्चक्रणका लागि डिजाइन समावेश हुन्छन् । परम्परागत विसर्जनभन्दा फोहोरबाट सामग्री र ऊर्जा पुनप्र्राप्तिलाई प्राथमिकता दिने लक्ष्यका निम्ति प्राविधिक र आर्थिक सम्भाव्यतामा ध्यान केन्द्रित गर्ने गरिन्छ । सामग्री र ऊर्जा पुनप्र्राप्ति गर्न नसकिने फोहोरलाई सार्वजनिक कल्याण र वातावरणको रक्षा गर्ने तरिकाले विसर्जन गर्न सुनिश्चित गरिन्छ ।
फोहोर प्रशोधन र विसर्जन
फोहोर व्यवस्थापन स्थिर होइन बरु वातावरणीय संरक्षण, स्रोतको पुनप्र्राप्ति र सार्वजनिक स्वास्थ्य सुधार गर्न निरन्तर प्रविधिको नवप्रवर्तनद्वारा प्रेरित गतिशील क्षेत्र हो । यो विगतका चुनौती र नियमको माग अनुसार विकसित हुँदै जान्छ । फोहोरको कारण सार्वजनिक स्वास्थ्यमा उत्पन्न चासोको कारण सन् १८७६ मा सर्वप्रथम इन्सिनेरेसन संयन्त्र स्थापना भएको थियो । प्रारम्भिक इन्सिनेरेसन प्रविधिले हानिकारक वायु प्रदूषण ग¥यो । पछि यसबाट निस्कने ग्यास जस्तो सल्फरडाइअक्साइड कम गर्ने उपकरण जोडेर निरन्तर सुधार गरियो । आधुनिक इन्सिनेरेसन संयन्त्रमा फोहोरलाई ऊर्जामा रूपान्तरण गर्ने प्रणालीहरू समावेश छन् । खतरनाक फोहोर र अन्य विशेष फोहोरका निम्ति इन्सिनेरेसन प्रविधिको विकास भइरहेको छ ।
फोहोरमा भारी धातु र अन्य अशुद्धिको वृद्धि भएपछि कम्पोस्टिङमा चुनौती आएसँगै जैविक फोहोरलाई अलग गरेर मात्र गुणस्तरीय कम्पोस्ट उत्पादन सम्भव भयो । कम्पोस्टिङका आधारभूत सिद्धान्त, प्रविधि र गुणस्तर सुधारका उपाय क्रमशः विकास हुँदै जाँदा यसैसँग बायोग्याँस उत्पादन गर्ने एनोरोबिक प्रक्रियाको विकास भएको छ । अन्य उदीयमान प्रविधिमा पाइरोलिसिस र ग्यासिफिकेसन प्रविधिले थर्मल प्रशोधनको विकल्प प्रदान गरेका छन् । प्लास्टिक र टायर जस्ता छुट्टै सङ्कलित विशेष फोहोरका निम्ति यी प्रविधि प्रभावकारी हुन सक्छन् । रासायनिक/भौतिक प्रक्रियाबाट गरिने फोहोरको प्रशोधनले खतरनाक फोहोरमा रहेको विषाक्त पदार्थलाई न्यूनीकरण र स्रोतको पुनप्र्राप्तिमा सहयोगी बन्न सक्छ । क्रोमेट, साइनाइड, नाइट्राइट जस्ता विषाक्त पदार्थहरूको विशेष उपचारका निम्ति प्रविधिको विकास हुँदै छ । फोहोरको सुरक्षित विसर्जनका निम्ति प्रारम्भिक डम्पबाट आधुनिक उन्नत किसिमको स्यानिटरी ल्यान्डफिलको विकास भएको छ । यसमा कम्पोजिट र माटोको पत्र, ल्यान्डफिल कभर र लिचेट सङ्कलन प्रणाली समावेश छन् । लिचेटको सङ्कलन र उपचार तथा ल्यान्डफिलबाट ग्यासको सङ्कलन जस्ता प्रविधिको विकास भएको छ । त्यसै गरी खतरनाक फोहोरका निम्ति विशेष ल्यान्डफिलको डिजाइन र व्यवस्थापन गरिएको पाइन्छ ।
फोहोर व्यवस्थापनमा एकीकृत दृष्टिकोण
स्रोतको दिगो उपयोग र वातावरणीय प्रभावलाई न्यून गर्दै प्रभावकारी फोहोर व्यवस्थापनका लागि सामग्रीको सम्पूर्ण जीवनचक्रलाई विचार गर्नु पर्छ । यसमा उत्पादन र उपभोगदेखि सङ्कलन, स्थानान्तरण, प्रशोधन र अन्तिम विसर्जनसम्मका कुरा समावेश हुन्छन् । फोहोरको रोकथामलाई प्राथमिकतापछि पुनप्र्राप्ति (सामग्री र ऊर्जा) र अन्त्यमा वातावरणमैत्री विसर्जनलाई प्राथमिकता दिनु पर्छ । फोहोर व्यवस्थापन प्रविधिमार्फत परिवर्तनशील फोहोरको संरचना, बढ्दो मात्रा र कडा वातावरणीय नियमलाई सम्बोधन गर्न निरन्तर विकास गर्नु पर्छ । इन्सिनिरेसन, कम्पोस्टिङ, पाइरोलिसिस, रासायनिक/भौतिक उपचार र ल्यान्डफिल इन्जिनियरिङमा नवप्रवर्तन आवश्यक छन् । उचित फोहोर व्यवस्थापनको अभ्यास लागु गर्न, उत्पादकको जिम्मेवारी बढाउन र फोहोर घटाउने तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्न कडा वातावरणीय कानुन, नियम र नीतिहरूको भूमिका रहन्छ । पुनर्चक्रण र पुनप्र्राप्ति कार्यक्रमको सफलता स्रोतमा फोहोरको प्रभावकारी पृथकीकरण र सक्रिय सार्वजनिक सहभागितामा निर्भर गर्छ ।
शिक्षा, सुविधाजनक सङ्कलन प्रणाली र आर्थिक प्रोत्साहनले फोहोरको पृथकीकरण र पुनर्चक्रण दर सुधार्न महìवपूर्ण भूमिका खेल्छन् । सार्वजनिक स्वास्थ्य र वातावरणको सुरक्षा गर्न खतरनाक फोहोरका निम्ति विशेष उपचार, विसर्जन प्रविधि र पुनप्र्रशोधन आवश्यक हुन्छ । भविष्यमा ल्यान्डफिल क्षमताको सीमितता, फोहोरका सुविधाको सार्वजनिक स्वीकृति र फोहोर रोकथाम संस्कृतिको आवश्यकता जस्ता चुनौती जारी रहने छन् । साथमा उत्पादन पुनर्डिजाइन, प्रणालीगत विघटन र स्रोतको उन्नत पुनप्र्राप्तिका प्रविधिमा अवसर पनि छन् । फोहोर व्यवस्थापन एक जटिल र गतिशील क्षेत्र हो, जसले प्राविधिक नवप्रवर्तन, नियामक संरचना, वातावरणीय संरक्षण र सामाजिक सहभागिताबिच सन्तुलन कायम गर्दै वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र प्रभावकारी फोहोर व्यवस्थापन सुनिश्चित गर्नु पर्छ । दिगो र प्रभावकारी समाधान विकास र कार्यान्वयन गरेर फोहोरबाट जनस्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव कम गर्दै मानवकल्याण र जीवनको गुणस्तर सुधार गर्न सरकार, उद्योग, वैज्ञानिक, इन्जिनियर र जनताको सहकार्य आवश्यक छ ।