रसुवामा पर्यटकको आगमन दैनिक १०० नाघ्यो
रसुवा, वैशाख १० गते । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन् । पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ । यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन् । पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एशोसिएशनले जनाएको छ । पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
भैरहवा, वैशाख ८ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई महिनाअघि मात्रै सकिएको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो ७४ वर्षको नागरिक उड्डयनको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा भएको पनि उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । विमानस्थलमा नयाँ धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अब नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिनुभयो । भैरहवामा सन १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थल सञ्चालनमा आएको थियो । भैरहवामा आन्तरिक विमानस्थल सञ्चालनमा आएको ६४ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलले जनाएको छ ।गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको अधिकारीहरु बताउँछन् ।यतीको पहिलो उडानगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि विधिवरुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट बिहीबार पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको भनाइ छ ।कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।
संयुक्त लगानी गर्ने प्रतिबद्धता
रमेश विश्वकर्मागुल्मी, वैशाख ६ गते । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले संयुक्त लगानी गर्नुपर्नेमा प्रतिबद्धता जनाएका छन् । गुल्मीमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।जिल्लाको पर्यटन विकासका लागि वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेल, होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवाली, पर्यटन व्यवसायी निश्चल श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष श्रीप्रसाद भलामी र कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरलगायतका उपस्थित व्यवसायीहरुले पर्यटन क्षेत्रको विकासका लागि संयुक्त लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।गुल्मीको पर्यटन माग र साहसिक पर्यटनसम्बन्धी वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेलले जानकारी गराउनुभयो । “पर्यटक आउने र जाने मात्र नभई पर्यटकले खर्च गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ ।” पर्यटन व्यवसायी कँडेलले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा व्यवस्थापन हुनु जरुरी छ । पर्यटन क्षेत्रमा चुनौती भए पनि उत्तिकै फाइदा हुने गर्दछ ।”गुल्मीको पर्यटनमा लगानी, चुनौती र स्थानीयको भूमिकासम्बन्धी होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवालीले जानकारी गराउनुभयो ।“सबै मिलेर व्यवसाय गरेमा अनिवार्य सफल हुन सकिन्छ ।” ज्ञवालीले भन्नुभयो, “आन्तरिक कृषिलाई पर्यटनसँग जोड्न आवश्यक छ ।” आफूहरुले देशभर होटल पौवाका एक सय शाखा विस्तार गर्ने गरेर लागेको बताउनुभयो ।पर्यटन व्यवसाय सञ्चालन, रोजगारी, सम्भावना र व्यवस्थापनसम्बन्धी पर्यटन व्यवसायी निश्चल श्रेष्ठले प्रस्तुति राख्नुभयो । पर्यटन व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्रले विश्वभर १० प्रतिशतमा रोजगारी दिएको कारणले पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।श्रेष्ठले भन्नुभयो, “पर्यटन क्षेत्रमा सामान्य लगानीमा पनि राम्रो काम गर्न सकिन्छ । पर्यटनसँग जोडिएका उद्योगहरु सञ्चालन गर्न सजिलो छ ।” पर्यटन क्षेत्रले गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने भएकाले होटल व्यवस्थापन कक्षा जिल्लामा सञ्चालन गर्न आफू तयार रहेको बताउनुभयो ।लगानीका लागि बैंकर्स एसोसिएसनका तर्फबाट आनन्द उपाध्याय र कालिदास पाण्डेले बैंकले लगानी गर्न तयार रहेको बताउनुभयो । कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरले गुल्मीमा पर्यटक नआउने कारणको अध्ययन गर्नपर्ने आवश्यक रहेको बताउनुभयो ।“हामीसँग भएको स्रोत साधनलाई उच्चतम प्रयोग गरेर पर्यटक ल्याउन सकिन्छ ।” कुँवरले भन्नुभयो, “पर्यटकीय क्षेत्रलाई भत्काउने र बिगार्ने नगरिकन पर्यकटकलाई आकर्षित गर्न सकिन्छ ।” भएको स्रोतसाधनलाई उच्चतम प्रयोग गर्न सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेमा उहाँको दाबी छ ।टिप्पणीकर्ता उद्योग वाणिज्य सङ्घका गुल्मीका पूर्वअध्यक्ष श्रीप्रसाद भलामीले एक्लो भएर व्यवसाय गर्ने युग हराइसकेकाले सबै मिलेर संयुक्त व्यवसाय गर्नुपर्ने बताउनुभयो । “लगानीकर्तालाई आकर्षित गरेर जिल्लामा व्यवसायलाई अगाडि बढाएर पर्यटनको सङ्ख्या वृद्धि गर्न सकिन्छ ।” टिप्पणी गर्दै भलाद्मीले भन्नुभयो, “लगानी लगाएर शिक्षा र स्वास्थ्यमा विकास गरेर आन्तारिक पर्यटक र बाह्य पर्यटक भित्र्याउन सबै लाग्नुपर्दछ ।”उहाँले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।गुल्मी जिल्ला सामुद्रिक सतहबाट ४ सय ६४ मिटरमा रिडी र २ हजार ६ सय ९० मिटरमा अग्लो थाप्ले लेक रहेकाले पर्यटन क्षेत्रमा थुप्रै सम्भावाना बोकेको जिल्ला हो । जिल्लामा पाल्पा–रिडी–तम्घास–धुर्कोट–मदाने–मालिका–मुसिकोट–रुद्रवेणी–कालीगण्डकी–सिद्धार्थ राजमार्ग, सिद्धार्थ राजमार्ग–रुद्रवेणी–मुसिकोट–इस्मा–मालिका–मदाने–धुर्कोट–तम्घास–रिडी, मध्यपहाडी राजमार्ग–वामीटक्सार–तम्घास–रिडी–रुद्रवेणी, सालझण्डी–ढोरपाटन–मदाने–मालिका–तम्घास–कालीगण्डकी, पाल्पा–रिडी–रुद्रवेणी–खैरेनी–ढोरपाटन र सन्धिखर्क–तम्घास–मजुवा–सालझण्डीलगायतका धेरै पर्यकटकीय मार्गहरु रहेकाले यसलाई जोड दिनुपर्ने पर्यटन व्यवसायीहरुले बताउनुभयो ।गुल्मी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको अवसरमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी छलफल गरेको वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह
काठमाडौं, वैशाख ३ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो।उहाँले भन्नुभयो, ‘सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए, अहिले सूचना प्रकाशन भएको हो।’अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ। रासस
सुत्न छाड्यो 'ठमेल'
छेटु शेर्पाकाठमाडौं, वैशाख २ गते। कोरोना महामारीले दुई वर्षदेखि सुनसान जस्तै बनेको मुख्य पर्यटकीय बजार ठमेलमा चहलपहल सुरु भएको छ। दिउँसो मात्र केही चहलपहल हुने ठमेल नयाँ वर्षदेखि २४ घण्टा खुल्न थालेको हाे । स्प्रीङ सिजन (बसन्त मौसम) सुरुभएसँगै पर्यटक आगमनको दर वृद्धि भएपछि प्रमुख बजार ठमेल लगायतमा चहलपहल बढ्दै गएको व्यवसायीले बताएका छन्। चकमन्न रहेको ठमेल दिउँसो मात्र नभएर रात्री बजारसमेत भरिभराउ हुन थालेको हाे। हिमाल आरोहणको मुख्य सिजन मानिने बसन्त मौसममा ६८ देशबाट आरोही नेपाल आएको पर्यटन विभागको तथ्याङ्क छ। पर्वतारोहीसँगै पदयात्राका लागि समेत विभिन्न देशबाट पर्यटक भित्रिएको पर्यटन व्यवसायी टीकाराम गुरुङले जानकारी दिनुभयो। ठमेल बजारको अवस्था हेर्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्किएको भन्न सकिने अवस्था आएको उहाँकाे भनाइ छ। अध्यागमन विभागको तथ्याङ्क अनुसार अप्रिल ९ तारिखमा एकै दिन दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो तथ्याङ्क कोरोना महामारीपछिको सबैभन्दा धेरै हो। मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क छ। नेपालमा पर्यटक आगमनको यो तथ्याङ्क गत वर्षको तुलनामा १८०.४७ प्रतिशतले बढी हो। गतवर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए। पर्यटकको सङ्ख्यामा वृद्धिभएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, दरबारमार्ग, कपिलवस्तुको लुम्बिनी, चितवनको सौराहा, कास्कीको पोखरालगायतका स्थानका होटल भरिभराउ भएको व्यवसायीले बताएका छन्। विभागको तथ्याङ्कनुसार मार्च महिनामा नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकबाट ४२.०४ प्रतिशत छ भने यूरोपबाट २६.८५ प्रतिशत र एसियाबाट ४.१८ प्रतिशत रहेका छन्। धेरै पर्यटक आउने देशमध्ये यूकेबाट ९.५९ प्रतिशत चार हजार २९ जना, अमेरिकाबाट ११.६६ प्रतिशत अर्थात् चार हजार ८९६ जना, अष्ट्रेलिया ३.४४ प्रतिशत एक हजार ४४४ जना, जर्मनबाट ४.३३ प्रतिशत एक हजार ११७ जना र फ्रान्सबाट ३.८७ प्रतिशत एक हजार ६२५ रहेका छन्। सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७७६ पर्यटक भ्रमणका लागि आएका थिए।
पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह
लक्ष्मण पौडेल भैरहवा, बैशाख ३ गते । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो ।लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु दैनिकजसो बढिरहेका छन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दा लुम्बिनीको आर्थिक चलायमान सुरु भएको व्यवसायीहरु बताउँछन् । पर्यटक आवागमन बढेपछि पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना महामारीले लुम्बिनीको पर्यटन व्यवसाय ठप्प थियो । पछिल्ला साताहरुमा स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीका होटलहरु भरिन थालेको स्थानीयको भनाई छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी रहेपनि स्वदेशी तथा भारतीय पर्यटकको संख्याको ग्राफ बढ्दो अवस्थामा छ ।कोरोना संक्रमणका कारण लुम्बिनी दर्शन गर्न नपाएका पर्यटकहरु अहिले दिनहुँ लामबद्ध भएर आउन थालेका छन् । लुम्बिनी विकास कोषको सूचना शाखाबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को सुरुवाती तीन महिना जनवरी, फेबु्रअरी र मार्चमा एक लाख ८३ हजार १२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये स्वदेशी र भारतीय पर्यटक संख्या बढी छ ।तीन महिनामा सबैभन्दा बढी एक लाख ४७ हजार ४७३ जना स्वदेशी र ३४ हजार तीन सय ५४ जना भारतीय पर्यटकको लुम्बिनीमा आगमन भएको लुम्बिनी विकास कोषको सूचना शाखा पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमले जानकारी दिनुभयो ।उहाँकाअनुसार लुम्बिनीमा जनवरीमा ४१ हजार ८३३ जना स्वदेशी पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ४२ हजार २१३ र मार्चमा ह्वात्तै बढेर आगमन संख्या ६३ हजार ४२७ पुगेको छ । त्यस्तै जनवरीमा भारतीय पर्यटक सात हजार ७७५ जना आए भने फेब्रुअरीमा सात हजार ७४५ जना र मार्चमा संख्या बढेर १८ हजार ८३४ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।स्वदेशी र भारतीय पर्यटको संख्या बढ्दो अवस्थामा रहेपनि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना संक्रमणका बेलाभन्दा तेस्रो मुलुकका पर्यटकको आगमन संख्यामा केही सुुधारोन्मुख देखिएको लुम्बिनी विकास कोषको सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो । “पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”–उहाँले भन्नुभयो–“तर, कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको छ ।”लुम्बिनीमा जर्मनी, फ्रान्स, चीन, अमेरिका, श्रीलंका, स्पेन, भियतनाम लगायत मुलुकबाट पर्यटकहरुको आगमन भइरहेको छ । यी मुलुकबाहेक युद्धमा फसेको युक्रेनबाट समेत सात जना लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै रसियाबाट ५७ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । पछिल्लो तीन महिनामा तेस्रो मुलुकबाट एक हजार १८५ जना पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा तेस्रो मुलुकबाट जनवरीमा २५३ जना पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ३०६ जना र मार्चमा संख्या बढेर ६२६ पुगेको बताइएको छ ।पर्यटकको आगमनको अफ सिजन पनि भएकोले तेस्रो मुलुकबाट पर्यटकको संख्या ह्वात्तै बढ्न नसकेको सूचना अधिकृत बस्नेतको भनाई छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष (सन् २०२२) को अन्तिमतिर सुरु हुने देखिएकाले त्यसपछि लुम्बिनीमा पर्यटकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।लुुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भएको बताउनुभयो । तर बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले व्यवसायीले फाइदा लिन नसकेको उहाँको बुझाई छ ।
सगरमाथा चुचुरो पुग्ने मार्ग निर्माण आइतबारदेखि सुरु
काठमाडौं, वैशाख ३ गते । सगरमाथाको चुचुरोसम्म पुग्न निर्माण गरिने मार्ग आइतबारबाट सुरु हुने भएको छ । सगरमाथा आरोहणकै अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलदेखि छ हजार चार सय मिटरको दोस्रो क्याम्पसम्म आइसफल डाक्टरहरुको टोलीले चैत २४ गतेनै मार्ग निर्माण सम्पन्न गरी सकेका थिए । मे २० देखि २५ भित्रसम्मा मार्ग निर्माण सम्पन्न गरी सगरमाथा आरोहण सुरु गर्ने गरी भोलबाट डोरी टाँग्ने काम सुरु गर्ने तयारी गरेको मार्ग निर्माण जिम्मा पाएको सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो । यस वर्ष कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा आरोहण मार्ग निर्माण हुने भएको छ । मार्ग निर्माणसँगै आरोहीहरु आधारशिविरबाट दोस्रो क्याम्पसम्म पुगेर हाई पचाउदै आरोहणको तयारीमा जुटेको शेर्पाले जानकारी दिनुभयो ।दोस्रो क्याम्प देखि चुचुरोसम्मको मार्ग निर्माण आरोहण सञ्चालक संघअन्तर्गत सेभेन समिट ट्रेक्स निर्माणको जिम्मा लिएको छ । कम्पनीले ११ हजार मिटर डोरी टाँगेर चुचुरो सम्मको बाटो निर्माण गर्ने गरी तयारीमा जुटेको जनाएको छ । सगरमाथा आरोहणका लागि आउने आरोहीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर र आरोहण सञ्चालक संघले प्रति आरोही दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् ।चैत ६ गते देखि आधारशिविरबाट आरोहण मार्ग निर्माण शुरु गरेका निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुको आइसफल डाक्टर आङसार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्वा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा, छेवाङ नुरु शेर्पा र निमा ग्याल्जेन शेर्पाको टोलीले अघिल्लो वर्षहरुभन्दा यस वर्ष चाँडै मार्ग निर्माण सम्पन्न गरेको आरोहीहरुले जनाएका छन् । यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर र आरोहण सञ्चालक संघले प्रति आरोही दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् ।हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो दुई वटा भर्याङ जोडेर बाटो बनाएको समितिले जनाएको छ । खुम्बु आइसफलको मार्ग निर्माणमा ५० वटा बढी भर्याङ प्रयोग गरिएको जनाएको छ । खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ । यस वर्ष यस बसन्त मौसममा ६८ देसका ६८९ जना आरोहीले नेपालका १९ वटा अग्ला हिमालहरुको आरोहण गर्ने गरी पर्यटन विभागबाट अनुमती लिएको हो । विभागले १९ वटा हिमालबाट ३७ करोड ३८ लाख ५१ हजार ४२१ रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
पर्यटकको रोजाइमा वीरेझर्ना परेपछि स्थानीय हर्षित
शेरबहादुर सार्कीबाजुरा, वैशाख ३ गते । बाजुराको सदरमुकाम मार्तडी नजिकमा रहेको वीरे खोला झर्नाको अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रसँगै वीरेझर्ना समेत सुनसान बनेको थियो । पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै यहाँ आउनेको भीड लाग्न थालेपछि स्थानीयबासी समेत हर्षित बन्न थालेका छन् । बडिमालिका नगरपालिका– ६ र ८ को बीचमा करिव दुई सय मिटर लामो रहेको यो झर्नाले पछिल्लो समय यहाँका आन्तरिक पर्यटकहरुको मन नै लोभ्याउदै आएपछि अहिले त्यो झर्ना उनीहरुको रोजाइको रुपमा रहेको हो ।आन्तरिक पर्यटक भित्र्याउने गरी जिम्मा पाएको बडिमालिका नगरपालिका वडा नं ६ र ८ ले यो झर्ना बाजुराकै सबै भन्दा लामो र उतकृष्ट झर्ना रहेको बडिमालिका नगरपालिका– ६ का वडाअध्यक्ष कला बडुवालले बताउनुभयो । मानव सुचाङ्कका आधारमा बाजुरा ७४ आंै स्थानमा रहेपनि पर्यटकीय क्षेत्रका आधारमा भन्ने हो भने यो जिल्ला सुदूरपश्चिमकै पहिलो जिल्लाका रुपमा पर्दछ । यहाँका बडिमालिका, बुढीनन्दा, कालाजार्गा, खप्तडछेडेदह, वडालेख लगायतका धेरै ठाउँहरु पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछन् । जिल्लामा आउने आगन्तुक तथा पर्यटकहरुलाई मनमोहक पार्दै आएको यो झर्नाले लामो समय सम्म संरक्षण,सम्बद्र्धन तथा संरक्षणको प्रखाइमा रहँदै आएको थियो । यती बेला बडिमालिका नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी यसको वरिपरी घेरवार तथा पुल निर्माण गरेपछि आन्तरिक पर्यटक भित्रिन थालेको वडाअध्यक्ष बडुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम मार्तडीकै सेरोफेरामा रहेको यो झर्ना जिल्लामा आउने रहेक पाहुनाहरुको मन समेत लोभ्याउने गरेको छ ।,,प्राकृतिक अनुपमकै कारण प्रयटकहरुको मनमोहक जित्न सफल भएको यो झर्ना यती बेला यहाँका स्थानीयको जीविकोपार्जनको एक माध्याम बनेको छ । समयमै यसको संरक्षण र प्रवद्र्धन गर्न सकियो भने यसलाई हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकबाट लाखौको कमाइ गर्न सकिने वडा अध्यक्ष बडुवालले बताउनुभयो ।
घलेगाउँलाई सुखी गाउँ घोषणा
बेलिना थापालमजुङ, बैशाख ३ गते । गुरुङ जातीको परम्परागत संस्कृतिको थलोको रुपमा चिनिने लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । क्व्होलासोंथर गाउँपालिका– ३ स्थित समुद्री सतहदेखि २ हजार १०० मिटरमा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।सार्क राष्ट्रको नमुना गाउँ, स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँलाई शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी गाउँ घोषणा गर्नुभएको हो । ओलीले नेपालमा पहिलो पटक घलेगाउँ सुखी गाउ घोषणा भएकोमा खुसी व्यक्त गर्नुभयो । एमालेले वि.स. २०५१ सालमा नौ महिने सरकार चलाउँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान ल्याएको र त्यसबाट प्रभावित भएर अहिले स्थानीय सरकार लागिपरेर अरुका लागि पनि अनुसरणीय काम गरेको बताउनुभयो । अहिले निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचनपछि गाउँको विद्यालयलाई आधुनीकिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले सार्क राष्ट्रकै नमुना गाउँ, स्मार्ट भिलेज घोषणा भइसकेको गाउँलाई शुक्रबार सुखी गाउँ घोषणा गरिएको हो । घलेगाउँका नागरिक सबै सुखी छन् भनेर प्रमाणित भएको बताउनुभयो ।घलेगाउँबासीलाई ग्रामीण पर्यटनका माध्यमबाट सुखी बनाउने उद्देश्यले विस. २०५७ बैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी घरबास (होमस्टे) सुरु गरिएकोमा अहिले ४२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । यस गाउँमा विश्वकर्मासहित घले र गुरुङ समुदायले होमस्टे सञ्चालन गरिरहेको छ । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ को नारालाई सार्थक बनाउन घलेगाउँलाई सुखी गाउँ बनाउने परिकल्पना थालिएको अध्यक्ष घलेले बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हुँदा २०६४ फागुनमा दक्षिण एशियाको नमूना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई पुनः २०७० मा पनि सार्क भिलेज शुभारम्भ भएको हो । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा, एउटै रंगको रातो छानो छ । सडक, विजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा भएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरेको थियो ।यहाँका स्थानीयबासी होमस्टे संचालन गरेर प्रत्येक घरले ३० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म मासिक बचत गर्ने गरेका छन् ।