पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह
लक्ष्मण पौडेल भैरहवा, बैशाख ३ गते । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो ।लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु दैनिकजसो बढिरहेका छन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दा लुम्बिनीको आर्थिक चलायमान सुरु भएको व्यवसायीहरु बताउँछन् । पर्यटक आवागमन बढेपछि पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना महामारीले लुम्बिनीको पर्यटन व्यवसाय ठप्प थियो । पछिल्ला साताहरुमा स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीका होटलहरु भरिन थालेको स्थानीयको भनाई छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी रहेपनि स्वदेशी तथा भारतीय पर्यटकको संख्याको ग्राफ बढ्दो अवस्थामा छ ।कोरोना संक्रमणका कारण लुम्बिनी दर्शन गर्न नपाएका पर्यटकहरु अहिले दिनहुँ लामबद्ध भएर आउन थालेका छन् । लुम्बिनी विकास कोषको सूचना शाखाबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को सुरुवाती तीन महिना जनवरी, फेबु्रअरी र मार्चमा एक लाख ८३ हजार १२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये स्वदेशी र भारतीय पर्यटक संख्या बढी छ ।तीन महिनामा सबैभन्दा बढी एक लाख ४७ हजार ४७३ जना स्वदेशी र ३४ हजार तीन सय ५४ जना भारतीय पर्यटकको लुम्बिनीमा आगमन भएको लुम्बिनी विकास कोषको सूचना शाखा पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमले जानकारी दिनुभयो ।उहाँकाअनुसार लुम्बिनीमा जनवरीमा ४१ हजार ८३३ जना स्वदेशी पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ४२ हजार २१३ र मार्चमा ह्वात्तै बढेर आगमन संख्या ६३ हजार ४२७ पुगेको छ । त्यस्तै जनवरीमा भारतीय पर्यटक सात हजार ७७५ जना आए भने फेब्रुअरीमा सात हजार ७४५ जना र मार्चमा संख्या बढेर १८ हजार ८३४ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।स्वदेशी र भारतीय पर्यटको संख्या बढ्दो अवस्थामा रहेपनि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना संक्रमणका बेलाभन्दा तेस्रो मुलुकका पर्यटकको आगमन संख्यामा केही सुुधारोन्मुख देखिएको लुम्बिनी विकास कोषको सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो । “पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”–उहाँले भन्नुभयो–“तर, कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको छ ।”लुम्बिनीमा जर्मनी, फ्रान्स, चीन, अमेरिका, श्रीलंका, स्पेन, भियतनाम लगायत मुलुकबाट पर्यटकहरुको आगमन भइरहेको छ । यी मुलुकबाहेक युद्धमा फसेको युक्रेनबाट समेत सात जना लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै रसियाबाट ५७ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । पछिल्लो तीन महिनामा तेस्रो मुलुकबाट एक हजार १८५ जना पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा तेस्रो मुलुकबाट जनवरीमा २५३ जना पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ३०६ जना र मार्चमा संख्या बढेर ६२६ पुगेको बताइएको छ ।पर्यटकको आगमनको अफ सिजन पनि भएकोले तेस्रो मुलुकबाट पर्यटकको संख्या ह्वात्तै बढ्न नसकेको सूचना अधिकृत बस्नेतको भनाई छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष (सन् २०२२) को अन्तिमतिर सुरु हुने देखिएकाले त्यसपछि लुम्बिनीमा पर्यटकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।लुुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भएको बताउनुभयो । तर बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले व्यवसायीले फाइदा लिन नसकेको उहाँको बुझाई छ ।
सगरमाथा चुचुरो पुग्ने मार्ग निर्माण आइतबारदेखि सुरु
काठमाडौं, वैशाख ३ गते । सगरमाथाको चुचुरोसम्म पुग्न निर्माण गरिने मार्ग आइतबारबाट सुरु हुने भएको छ । सगरमाथा आरोहणकै अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलदेखि छ हजार चार सय मिटरको दोस्रो क्याम्पसम्म आइसफल डाक्टरहरुको टोलीले चैत २४ गतेनै मार्ग निर्माण सम्पन्न गरी सकेका थिए । मे २० देखि २५ भित्रसम्मा मार्ग निर्माण सम्पन्न गरी सगरमाथा आरोहण सुरु गर्ने गरी भोलबाट डोरी टाँग्ने काम सुरु गर्ने तयारी गरेको मार्ग निर्माण जिम्मा पाएको सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो । यस वर्ष कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा आरोहण मार्ग निर्माण हुने भएको छ । मार्ग निर्माणसँगै आरोहीहरु आधारशिविरबाट दोस्रो क्याम्पसम्म पुगेर हाई पचाउदै आरोहणको तयारीमा जुटेको शेर्पाले जानकारी दिनुभयो ।दोस्रो क्याम्प देखि चुचुरोसम्मको मार्ग निर्माण आरोहण सञ्चालक संघअन्तर्गत सेभेन समिट ट्रेक्स निर्माणको जिम्मा लिएको छ । कम्पनीले ११ हजार मिटर डोरी टाँगेर चुचुरो सम्मको बाटो निर्माण गर्ने गरी तयारीमा जुटेको जनाएको छ । सगरमाथा आरोहणका लागि आउने आरोहीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर र आरोहण सञ्चालक संघले प्रति आरोही दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् ।चैत ६ गते देखि आधारशिविरबाट आरोहण मार्ग निर्माण शुरु गरेका निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुको आइसफल डाक्टर आङसार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्वा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा, छेवाङ नुरु शेर्पा र निमा ग्याल्जेन शेर्पाको टोलीले अघिल्लो वर्षहरुभन्दा यस वर्ष चाँडै मार्ग निर्माण सम्पन्न गरेको आरोहीहरुले जनाएका छन् । यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर र आरोहण सञ्चालक संघले प्रति आरोही दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् ।हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो दुई वटा भर्याङ जोडेर बाटो बनाएको समितिले जनाएको छ । खुम्बु आइसफलको मार्ग निर्माणमा ५० वटा बढी भर्याङ प्रयोग गरिएको जनाएको छ । खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ । यस वर्ष यस बसन्त मौसममा ६८ देसका ६८९ जना आरोहीले नेपालका १९ वटा अग्ला हिमालहरुको आरोहण गर्ने गरी पर्यटन विभागबाट अनुमती लिएको हो । विभागले १९ वटा हिमालबाट ३७ करोड ३८ लाख ५१ हजार ४२१ रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
पर्यटकको रोजाइमा वीरेझर्ना परेपछि स्थानीय हर्षित
शेरबहादुर सार्कीबाजुरा, वैशाख ३ गते । बाजुराको सदरमुकाम मार्तडी नजिकमा रहेको वीरे खोला झर्नाको अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रसँगै वीरेझर्ना समेत सुनसान बनेको थियो । पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै यहाँ आउनेको भीड लाग्न थालेपछि स्थानीयबासी समेत हर्षित बन्न थालेका छन् । बडिमालिका नगरपालिका– ६ र ८ को बीचमा करिव दुई सय मिटर लामो रहेको यो झर्नाले पछिल्लो समय यहाँका आन्तरिक पर्यटकहरुको मन नै लोभ्याउदै आएपछि अहिले त्यो झर्ना उनीहरुको रोजाइको रुपमा रहेको हो ।आन्तरिक पर्यटक भित्र्याउने गरी जिम्मा पाएको बडिमालिका नगरपालिका वडा नं ६ र ८ ले यो झर्ना बाजुराकै सबै भन्दा लामो र उतकृष्ट झर्ना रहेको बडिमालिका नगरपालिका– ६ का वडाअध्यक्ष कला बडुवालले बताउनुभयो । मानव सुचाङ्कका आधारमा बाजुरा ७४ आंै स्थानमा रहेपनि पर्यटकीय क्षेत्रका आधारमा भन्ने हो भने यो जिल्ला सुदूरपश्चिमकै पहिलो जिल्लाका रुपमा पर्दछ । यहाँका बडिमालिका, बुढीनन्दा, कालाजार्गा, खप्तडछेडेदह, वडालेख लगायतका धेरै ठाउँहरु पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछन् । जिल्लामा आउने आगन्तुक तथा पर्यटकहरुलाई मनमोहक पार्दै आएको यो झर्नाले लामो समय सम्म संरक्षण,सम्बद्र्धन तथा संरक्षणको प्रखाइमा रहँदै आएको थियो । यती बेला बडिमालिका नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी यसको वरिपरी घेरवार तथा पुल निर्माण गरेपछि आन्तरिक पर्यटक भित्रिन थालेको वडाअध्यक्ष बडुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम मार्तडीकै सेरोफेरामा रहेको यो झर्ना जिल्लामा आउने रहेक पाहुनाहरुको मन समेत लोभ्याउने गरेको छ ।,,प्राकृतिक अनुपमकै कारण प्रयटकहरुको मनमोहक जित्न सफल भएको यो झर्ना यती बेला यहाँका स्थानीयको जीविकोपार्जनको एक माध्याम बनेको छ । समयमै यसको संरक्षण र प्रवद्र्धन गर्न सकियो भने यसलाई हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकबाट लाखौको कमाइ गर्न सकिने वडा अध्यक्ष बडुवालले बताउनुभयो ।
घलेगाउँलाई सुखी गाउँ घोषणा
बेलिना थापालमजुङ, बैशाख ३ गते । गुरुङ जातीको परम्परागत संस्कृतिको थलोको रुपमा चिनिने लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । क्व्होलासोंथर गाउँपालिका– ३ स्थित समुद्री सतहदेखि २ हजार १०० मिटरमा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।सार्क राष्ट्रको नमुना गाउँ, स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँलाई शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी गाउँ घोषणा गर्नुभएको हो । ओलीले नेपालमा पहिलो पटक घलेगाउँ सुखी गाउ घोषणा भएकोमा खुसी व्यक्त गर्नुभयो । एमालेले वि.स. २०५१ सालमा नौ महिने सरकार चलाउँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान ल्याएको र त्यसबाट प्रभावित भएर अहिले स्थानीय सरकार लागिपरेर अरुका लागि पनि अनुसरणीय काम गरेको बताउनुभयो । अहिले निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचनपछि गाउँको विद्यालयलाई आधुनीकिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले सार्क राष्ट्रकै नमुना गाउँ, स्मार्ट भिलेज घोषणा भइसकेको गाउँलाई शुक्रबार सुखी गाउँ घोषणा गरिएको हो । घलेगाउँका नागरिक सबै सुखी छन् भनेर प्रमाणित भएको बताउनुभयो ।घलेगाउँबासीलाई ग्रामीण पर्यटनका माध्यमबाट सुखी बनाउने उद्देश्यले विस. २०५७ बैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी घरबास (होमस्टे) सुरु गरिएकोमा अहिले ४२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । यस गाउँमा विश्वकर्मासहित घले र गुरुङ समुदायले होमस्टे सञ्चालन गरिरहेको छ । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ को नारालाई सार्थक बनाउन घलेगाउँलाई सुखी गाउँ बनाउने परिकल्पना थालिएको अध्यक्ष घलेले बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हुँदा २०६४ फागुनमा दक्षिण एशियाको नमूना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई पुनः २०७० मा पनि सार्क भिलेज शुभारम्भ भएको हो । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा, एउटै रंगको रातो छानो छ । सडक, विजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा भएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरेको थियो ।यहाँका स्थानीयबासी होमस्टे संचालन गरेर प्रत्येक घरले ३० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म मासिक बचत गर्ने गरेका छन् ।
काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ
बनेपा, वैशाख २ गते । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।अघिल्लो वर्षमा कोरोना सङ्क्रमण जोखिमका कारण भीडभाडमा जान नहुने भएका कारण बाहिर घुम्न ननिस्कने गरेकामा यस वर्ष कोरोना सङ्क्रमण जोखिम न्यून भएकाले धेरैजसो मानिस रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको बताउँछन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का विजय तामाङले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि देवीस्थानडाँडामा घुम्न पुगेको बताउनुभयो । “अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ”, उहाँले भन्नुभयो, “फुर्सदका दिनभन्दा पनि सबैले मनाउने गरेको यस अवसरमा घुमघामका लागि निस्केको हुँ ।”देवीस्थानडाँडामा परिवारसहित घुम्न पुग्नुभएका विक्रम चौलागाईँले नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर निस्केको बताउनुभयो । “निर्वाचन नजिक आइसकेका कारण हिजोआज खासै फुर्सद नै मिलेको छैन”, उहाँले भन्नुभयो, “वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि पनि आएको हुँ ।”नगरपालिकाले यहाँका देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् । काठमाडौँबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् ।धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन् । साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कने गरेको उहाँहरूको भनाइ छ । पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ । लामो समयसम्म कोरोना सङ्क्रमण जोखिमका कारण सोचजस्तो आम्दानी गर्न नपाएका व्यवसायी पर्यटकको आवतजावत कम हुँदा खुम्चिए बस्नुपरेको अवस्थामा अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् ।यसैबीच नयाँ वर्षका दिन बिहान काभ्रेपलाञ्चोकका धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो नै लागेको थियो । पलाञ्चोकको पलाञ्चोक भगवती मन्दिर, नमोबुद्धको नमोबुद्ध गुम्बा, बनेपाको चण्डेश्वरीलगायतका मन्दिरमा दर्शनार्थी दर्शनका लागि लामबद्ध भएका थिए । नयाँ वर्ष सुरुआतसँगै पहिलो दिन खुशी, आनन्द, सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नका लागि मन्दिरमा पुगेर दर्शन गरेको बेथानचोक गाउँपालिका–५ का नारायण फँुयालले बताउनुभयो ।
सगरमाथा आरोहणका क्रममा गाइडको मृत्यु
काठमाडौं, वैशाख १ गते। सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ। माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याएको उहाँले जानकारी दिनुभयो। इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका गाइड शेर्पाको लेख लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
१५ जना नेपाली विद्यार्थीको टोली हिमाल आरोहण गर्दै
काठमाडौं, वैसाख १ गते । बेच्लर अफ माउन्टेनेरिङ स्टडिजमा अध्ययनरत आठौं सेमेस्टारका विद्यार्थीहरुले हिमलुङ हिमाल (७१२६ मिटर) को आरोहण गर्ने भएको छ । १५ जना विद्यार्थीहरुले पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) ले हिमालको अध्ययन र अनुसन्धान गर्ने गरी चार वर्ष अघिदेखि पठनपाठन शुरु गरेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेपछिको यो पहिलो आरोहण हो । आरोही विद्यार्थीको टोलीलाई अन्तर्राष्ट्रिय माउन्टेन गाइड गेल्जे शेर्पाले आरोहणमा नेतृत्व गर्ने एकेडेमीका प्रशासकीय प्रमुख उत्तम भट्टाराईले जानकारी दिनुभयो । टोलीमा एकेडेमीका सुपरभाइजर डा. वेहरोउज मोघाडेसीको समेत सहभागिता रहेको छ । एकेडेमीले स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीका लागि सात हजार मिटरमाथिको हिमाल अनिवार्य आरोहण गर्नुपर्ने पाठ्यक्रममै समावेश गरेकाे छ । एकेडेमीबाट यो पहिलो आरोहण रहेको र प्रत्येक वर्ष नियमित आरोहण गर्नुपर्ने भट्टाराईले जानकारी दिनुभयो । विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि बेच्लर अफ माउन्टेन स्टडिस र स्नातोकोत्तर तह विषयको अध्ययन शुरु गराएको हो । नेपालमा पर्वतारोहण सम्बन्धी प्रशिक्षण र अध्ययन गराउने संस्था यही मात्र हाे ।
विसं २०७८ : पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष
काठमाडौं, वैशाख १ गते । मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसोत, अघिल्लो वर्ष विसं २०७७ पनि कोभिड कहरले नेपालको सबैजसो क्षेत्रलाई चौपट तुल्यायो । त्यसताका पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तरार्द्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान)ले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताउनुभयो । उहाँले वर्ष २०७८ पर्यटनका लागि निराशा र चुनौती सँगसँगै उत्साह पनि थपिएको बताउनुभयो । कार्यवाहक अध्यक्ष शाहका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् । ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोभिड कहरकैबीच पनि अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क विस्तार र नीतिगत योजना बनाउन सहज भएकाले वर्ष २०७८ पर्यटनका लागि राम्रै रहेको कार्यवाहक अध्यक्ष शाहको भनाइ छ । उहाँले कोभिडपछिको पर्यटन पुनरुत्थानका लागि गठित कार्यदलले पनि आगामी रणनीतिबारे काम गरिरहेकाले आगामी दिनमा पर्यटन क्षेत्र सकारात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो । यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले वर्ष २०७८ पर्यटनका लागि निकै दुःखद् भएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष पर्यटनका लागि कठिनाइ रहे पनि पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेकाले आउँदा दिनमा आशाका सङ्केत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष पर्यटनका लागि दुःखद् भयो । विदेशी पर्यटक आगमन न्यून रह्यो । आर्थिक उपार्जन हुन सकेन, यो वर्ष २०७९ तुलनात्मकरूपमा राम्रो होला भन्ने अपेक्षा छ, विदेशी पर्यटक आउन थालेका छन् ।”नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्रै हवाईमार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ”, उहाँले भन्नुभयो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगामनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कालो बादलभित्र चाँदीको घेरा भनेझै मुलुकको पर्यटन क्षेत्र कोभिड कहरले अस्तव्यस्त बने पनि पर्यटनका केही क्षेत्र भने उत्लासमय रहे । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहण क्षेत्रमा उत्साह र उमङ्ग अन्य क्षेत्रको निराशालाई केही आशामा परिणत गरिदियो । वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन, विभिन्न कीर्तिमान पनि कायम भए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । तर २०२१ को वसन्त आरोहण उत्साहवर्द्धक रूपमा रह्यो । कोभिड महामारीको जोखिमकाबीच भएको उक्त आरोहणबाट विश्वभर चर्चा चुलियो । सर्वाधिक सङ्ख्याका आरोहीले आरोहण गरेर अदम्य साहस प्रदर्शन गरेका थिए । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोड्नुभयो । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो । विश्व कीर्तिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन् । यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ । अघिल्लो वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडीसन पर्मिट) दिइएको थियो । यो सन् २०१९ को वसन्त यामको आरोहणभन्दा बढी हो । यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका छ सयभन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।हवाई पूर्वाधारमा फड्कोपर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७८ निकै उपलब्धिपूर्ण रह्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालयनयोग्य भएको छ । यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको यो विमानस्थल आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तै पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा भइरहेको छ । करिब ९३ प्रतिशत काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किँदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ ।नेपाल प्रवर्द्धनमा बिबीसी मास्टर सेफको टोली‘बिबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोष साहसहितको टोलीले नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरेका छन् । गत चैत २४ गते नेपाल आएर सेफ टोलीले नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार–प्रसार गरे । सेफ टोलीले १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवर्द्धनात्मक गतिविधिमा सहभागी भएका थिए । नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीका रूपमा कहलिएको पोखरामा १७औँ फेवा महोत्सव चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना भएको छ । उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभयो । नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।होटल भरिभराउकाठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ छन् । यता ठमेलका होटलहरु पनि आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । पाहुना बढेकाले ठमेल क्षेत्रका व्यवसायी पनि उत्साहित छन् ।काठमाडौं महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ”, महाप्रबन्धक फुँयालले भन्नुभयो । ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष निलहरि बाँस्तोलाले मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउनुभयो । काठमाडौंको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।हवाई उडानमा उत्साहकोभिडका कारण प्रभावित बनेको मुलुकको हवाई क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको छ । आन्तरिक हवाई उडानमा यात्रुको चाप छ । ठूला हवाई सेवा प्रदायक कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान बढेको छ । बुद्ध एयरको सर्वाधिक उडान छ । कम्पनीले हवाई उडान पूर्ववत् लयमा फर्किसकेको जनाएको छ ।हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले आन्तरिक तथा विदेशी पर्यटकको सर्वाधिक रोजाइमा हेलिकोप्टर सेवा रहेकाले हेलिकोप्टरको सेवा विस्तार पनि धमाधम भइरहेको बताउनुभयो । उहाँका अनुसार कोभिड त्रासपछि अहिले हेलिकोप्टर व्यवसायमा उत्साह छाएको छ । अहिले ४० प्रतिशतभन्दा बढी व्यवसाय बढेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार अहिले ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले हवाई उडान सेवा सञ्चालन गर्दै आएका छन् ।
पर्वतारोहणको सिजन सुरु : अनुमति लिने छ सय नाघे
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । नेपालको पर्वतारोहणका लागि मुख्य समय मानिने वसन्तयामका लागि अहिलेसम्म छ सयभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत २९ गतेसम्म करिब चार दर्जन देशका ६०७ जना नागरिकले पर्वतारोहणका लागि अनुमति लिइसकेका छन् । विभागले विभिन्न १९ वटा हिमालका लागि अनुमति उपलब्ध गराएको जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि २८ वटा दलबाट २२५ जनाले अनुमति लिएको विभागको तथ्याङ्क छ । जसमध्ये १७५ जना पुरुष र ५० जना महिला रहेका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १० जना महिला र ४३ जना पुरुष गरी ५३ जनाले अनुमति लिएका छन् । त्यसपछि संयुक्त अधिराज्यबाट चार जना महिला र २३ जना पुरुष गरी २७ जनाले अनुमति लिएका छन् । भारतबाट कुल १७ जना, नेपाल र रसियाबाट समान १४÷१४ जना, क्यानडाबाट १२ जना र अस्टे«लियाबाट १० जना रहेका छन् । आरोहणका लागि धेरैले अनुमति लिएका हिमालमध्ये कञ्चनजङ्घा दोस्रो स्थानमा छ । हालसम्म उक्त हिमाल आरोहणका लागि छवटा आरोहण दलबाट ५४ जना पुरुष र १३ जना महिला गरी ६७ जनाले अनुमति लिएका छन् । त्यसपछि आमादब्लम हिमालका लागि छवटै आरोहण दलबाट ५४ जना पुरुष र ११ जना महिला गरी ६५ जनाले अनुमति लिएका छन् । ल्होत्से हिमालको आरोहणका लागि छवटा दलबाट ४१ जना पुरुष र ११ जना महिला गरी ५२ जनाले अनुमति लिएको विभागले जनाएको छ । विभागका अनुसार मङ्गलबारसम्म हिमलुङ हिमालका लागि ३१ जना, नुप्त्से हिमालका लागि २८ जना, अन्नपूर्ण प्रथमका लागि २६ जना, मकालुका लागि २५ जना, धौलागिरिका लागि २१ जना र बरुन्त्से हिमालका लागि १६ जनाले अनुमति लिएका छन् । थापा पिकका लागि १० जना, मनास्लु र पोखर खाङका लागि समान नौ÷नौ जना, भेम्दाङ रिका लागि आठ जना, नोर्बु खाङका लागि पाँच जना, मुकोटका दागि चार जना, गङ्गापूर्ण, खाङचुङ र उर्कन्माङ हिमालका लागि समान दुई जनाले अनुमति लिएको विभागले जनाएको छ । सबै हिमालमा गरी आरोहण अनुमति लिनेमा संयुक्त राज्य अमेरिकाबाट १०४ जना रहेका छन् । त्यसपछि नेपालबाट ५५ जना, संयुक्त अधिराज्यबाट ४८ जना, भारतबाट ४६ जना र फ्रान्सबाट ३८ जना रहेका छन् । कोभिड–१९ सङ्क्रमणको प्रभाव सामान्य बन्न थालेपछि पर्वतारोहणका लागि अनुमति लिनेको सङ्ख्या पनि बढ्दो छ । विगतमा केही निश्चित देशबाट मात्र पर्वतरोही आउने गरेकामा अहिले धेरै देशका नागरिकको चासो देखिन्छ ।