सायलमा कांग्रेस उम्मेदवार विजयी
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजीत गर्दै जोशी निर्वाचित हुनुभएको हो ।
दार्चुलाका सबै स्थानीय तह प्रमुखमा कम्युनिष्ट विजयी
चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक
डिलबहादुर सिंहडोटी, जेठ २ गते। डोटीका विभिन्न छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा र नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट उपाध्यक्ष पदमा जमुनाकुमारी बोहरा, आदर्श गाउँपालिकामा नेपाली काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गड्सिला अध्यक्ष र नेपाली काँग्रेसकी विष्नादेवी बम उपाध्यक्ष, निर्वाचित हुनुभएको छ। यसैगरी सायल गाउँपालिकामा नेपाली कांग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली कांग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्षमा र नेपाली नेपाली काँग्रेसकै पशुपति खड्का उपाध्यक्ष र बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरीकुमारी बिष्ट निर्वाचित हुनुभएको छ। दुई गाउँपालिकामा प्रमुख दोहोरिएडोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित गड्सिला नेकपा (माओवादी केन्द्र) र जोरायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित ओझा तथा उपाध्यक्ष बोहरा नेकपा (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।
कांग्रेस क्षेत्रीय सभापति बोहरा अमरगढी–७ मा प्यानलसहित निर्वाचित
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ मा नेपाली कांग्रेसको प्यानलसहित वडा अध्यक्षमा खडक बोहरा निर्वाचित हुनुभएको छ । कांग्रेस क्षेत्र ‘ख’ सभापती समेत रहनुभएका बोहरा निर्वाचित हुनुभएको हो ।
अछामको बान्नीगढी गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
शिवराज ढुङ्गाना अछाम। जेठ २ गते। बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा विजयी भएका छन्। सोमबार सार्वजनिक मतपरिणाम अनुसार चार सय ९८ मतान्तरले काँग्रेसका टेकबहादुर साउँद अध्यक्ष पदमा विजयी हुनुभएको हो। टेकबहादुरले तीन हजार ११२ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार लोकबहादुर साउदले दुई हजार ६१४ मत पाउनुभएको छ। लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुनुहन्छ भने टेकबहादुर २०७४ को प्रदेशसभा निर्वाचनमा अछाम–१ ‘ख’ का प्रत्याशी हुनुहुन्थ्यो। उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल १४ मतको अन्तरमा विजयी हुनुभएको छ। रावलले दुई हजार ७३१ र गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउदले दुई हजार ७१७ मत ल्याएर पराजित हुनुभएको छ।
चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बोगटी विजयी
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ २ गते । स्थानीय तह १३ वटा रहेको कैलालीमा मतगणना सम्पन्न हुने पालिकामा चुरे पहिलो पालिका बनेको छ । सोमबार उक्त पालिकामा मतगणना सम्पन्न भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । नेकपा समाजवादीका अध्यक्ष उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पछाडि पार्दै बोगटी विजयी हुनुभएको हो । नवनिर्वाचित बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार सारुले तीनहजार २८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उक्त पालिकामा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धना थापा विजयी हुनुभएको छ । थापाले तीनहजार ४४९ मत प्राप्त गरी विजय हुनुभएको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उक्त पालिकामा नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेको थियो । ६ वटा वडा रहेको उक्त पालिकामा २ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । वडा नम्बर १ को अध्यक्षमा डम्बर बहादुर सिंह र वडा नम्बर ३ को वडाध्यक्षमा खगेन्द्र खडायत विजयी हुनुभएको छ । नेकपा (एमाले)बाट वडा नम्बर २ मा केशव साउँद, ४ मा चन्द्रबहादुर लामिछाने मगर, ५ मा बीरबहादुर धामी र ६ मा प्रेम बहादुर साउँद अध्यक्षमा विजयी हुनुभएको छ ।
चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी
कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजीत गरी बोगटी अध्यक्षमा विजयी हुनुभएको हो ।
भलमन्साको काँधमा वडा हाँक्ने जिम्मेवारी
अविनाश चौधरीधनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का कैलाश चौधरीलाई पराजित गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो ।विजयी हुनु भएका चौधरीले एक हजार १२ र पराजित हुनु भएका उम्मेदवारले ७४२ मत प्राप्त गर्नुभयो । यसैगरी, जोशीपुर गाउँपालिका–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीका विष्णु चौधरी विजयी हुनु भएको छ । उहाँले ६४२ मत प्राप्त गर्नुभयो । यस्तै, कैलालीको टीकापुर नगरपालिकाको वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित भएको छ । सो पार्टीका लालवीर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । यसैगरी, गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रविन्द्र शाही (गुड्डु) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
भिमदत्त नगरपालिकामा शुरु भएन मतगणना
लक्ष्मण पन्तमहेन्द्रनगर, जेठ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो । पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमती जुटेको छैन, फेरि बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’