• ६ जेठ २०८१, आइतबार

चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बोगटी विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), जेठ २ गते । स्थानीय तह  १३ वटा रहेको कैलालीमा मतगणना सम्पन्न हुने पालिकामा चुरे पहिलो पालिका बनेको छ । सोमबार उक्त पालिकामा मतगणना सम्पन्न भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर बोगटी विजयी हुनुभएको हो ।  नेकपा समाजवादीका अध्यक्ष उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पछाडि पार्दै बोगटी विजयी हुनुभएको हो । नवनिर्वाचित बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार सारुले तीनहजार २८१ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उक्त पालिकामा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धना थापा विजयी हुनुभएको छ । थापाले तीनहजार ४४९ मत प्राप्त गरी विजय हुनुभएको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उक्त पालिकामा नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेको थियो । 

६ वटा वडा रहेको उक्त पालिकामा २ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । वडा नम्बर १ को अध्यक्षमा डम्बर बहादुर सिंह र वडा नम्बर ३ को वडाध्यक्षमा खगेन्द्र खडायत विजयी हुनुभएको छ । नेकपा (एमाले)बाट वडा नम्बर २ मा केशव साउँद, ४ मा चन्द्रबहादुर लामिछाने मगर, ५ मा बीरबहादुर धामी र ६ मा प्रेम बहादुर साउँद अध्यक्षमा विजयी हुनुभएको  छ ।