लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र
लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।
खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
दुई हजार रोपनी बाँझो जग्गामा खेती
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । त्यसबेलादेखि बाँझो जग्गामा फलफूल र अन्नबाली लगाउँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
कञ्चनमा पुल बन्दै
रुपन्देहीको सैनामैना नगरपालिका–११ को बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बीचमा पर्ने कञ्चन नदीमा पुल बन्ने भएको छ। सो पुलको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो। पुल निर्माण भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रबीच भावनात्मक सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ।
मौलिकता जोगाउन मगर सङ्ग्रहालय
रुकुमपूर्वमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा यस सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, वेशभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।
खोलाले बगाउँदा किशोरीको मृत्यु
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
जीर्ण भवनभित्र क्याम्पसको पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।
लसुनले मूल्य पाएन
लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न चाहन्छन् ।
ट्रक खरिद गरेको ऋण तिर्न नसकेपछि ट्रकधनीको हत्या
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन ।