सम्बन्ध विच्छेदका मुद्दा वृद्धि
अर्घाखाँचीमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको छ । अपरिपक्व उमेरमा विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीजस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा सङ्ख्या वृद्धि भएको जनाइएको छ । सम्बन्धविच्छेद गर्नेमा ८० प्रतिशत ४० वर्षमुनिका दम्पती रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत ३४९ वटा मुद्दा दर्ता भएकामा २०६ वटा मुद्दा सम्बन्धविच्छेदका रहेका अदालतका स्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा आएका मुद्दामध्ये झन्डै ६० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका छन् ।
गाउँ ब्लकको जग्गालाई लालपुर्जा
बाँकेको कोहलपुर नगरपालिका–४ स्थित गोहवा र बेलनपुरमा गाउँ ब्लकका १०१ जनालाई लालपुर्जा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र वडाध्यक्ष मुबारक अलि गुजरले संयुक्त रूपमा पुर्जा वितरण गर्नुभयो । नगरप्रमुख आचार्यले कोहलपुरमा जग्गा वितरणको काम सुरु भइसकेको र केही महिनामा सबै वडामा लालपुर्जा वितरण हुने बताउनुभयो । “अहिले जग्गा नाप्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “अबको केही महिनापछि सबै वडामा पुर्जा वितरण हुन्छ ।” उपप्रमुख सुवेदीले कोहलपुरका–३ वडामा गाउँ ब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो । नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरी बसिरहेकालाई छानबिन गरी लालपुर्जा उपलब्ध गराइएको बताउनुभयो ।
सहकारीमा बढ्यो चोरी
पाल्पा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूमा चोरी हुने क्रम बढेको छ । सहकारी संस्थाहरूको सेफ, गेट, ढोका र दराज फोडेर नगद तथा जिन्सी सामग्री चोरी भएका छन् । सीसीक्यामरा जडान गरिएका सहकारीमा समेत चोरी हुन थालेपछि चोरी घटना रहस्यमय हुन थालेको छ । ती घटनामा संलग्न कोही व्यक्ति पक्राउ पर्न सकेका छैनन् । “सहकारी चोरी भयो भनेर उजुरी आएका छन्,” जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “तर कोही पनि पक्राउ परेका छैन ।”
चामलको बिल बनाएर चिनी तस्करी
बिलमा चामल देखाएर चिनीको ढुवानी गरेको अवस्थामा रुपन्देहीमा दुुईवटा ट्रक सहित ठुला मात्रामा चिनी बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राएर नवलपरासीमा गोदाम गरी दाङतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीबाट चिनी र चामल बरामद गरेको हो ।
दुःख दिने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता
राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले अवैध तरिकाले व्यापार व्यवसाय गर्नेविरुद्ध कडा कारबाही गर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले यहाँ बुधबार आयोजना गरेको अन्तक्र्रियामा महानिर्देशक अधिकारीले व्यापारका नाममा अवैध माल मगाउने, भण्डारण गर्ने र पैठारी गर्नेसँग राजस्व अनुसन्धान विभाग कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
गुल्मीबाट एक सय बढी खेलाडीले भाग लिने
गुल्मी जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिमा एक सय बढि खेलाडीले भाग लिने भएका छन् ।
बेलहिया नाकाबाट आयात घट्यो
दैनिक पाँच सय मालबाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै आयात भइरहेको छ। आयात घट्दा यसको असर राजश्व संकलनमा परेको छ।
समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा निर्माणाधिन ओपीडी भवनको बिहीवार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।
सरकारी जागिरबाट बचेको समय ड्रागन खेतीमा
राति फुल्ने भएकाले ड्रागन फ्रुटलाई ‘रातकी रानी’ पनि भनिन्छ । पछिल्लो समय तराईदेखि पहाडसम्म ड्रागन खेतीबाट राम्रो उत्पादन हुन थालेपछि कृषकहरु यो खेतीप्रति आकर्षित हुन थालेका छन् ।