• २१ असार २०८१, शुक्रबार

सरकारी जागिरबाट बचेको समय ड्रागन खेतीमा

blog

हेमराज पन्थी र कमला पन्थी बुटवल १९ मा रहेको कृषि फार्ममा ड्रागन स्याहार गर्दै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, भदौ २३ गते । राति फुल्ने भएकाले ड्रागन फ्रुटलाई ‘रातकी रानी’ पनि भनिन्छ । पछिल्लो समय तराईदेखि पहाडसम्म ड्रागन खेतीबाट राम्रो उत्पादन हुन थालेपछि कृषकहरु यो खेतीप्रति आकर्षित हुन थालेका छन् । 

रुपन्देहीको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी पनि सरकारी जागिरबाट बचेको समयलाई यही ड्रागन खेतीमा लगाएर कृषिलाई व्यावसायिक बनाउने प्रयास गर्नुभएको छ । 

सरकारी जागिरबाट बचेको कम समयको सदुपयोग गर्दै पन्थीले ड्रागन खेतीलाई व्यावसायिक बनाउने प्रयास गर्नुभएको छ । ड्रागन खेतीलाई अरु खेतीमा जस्तो दैनिक समय दिनु नपर्ने भएकाले सरकारी जागिरेलाई यो खेती बढी प्रभावकारी हुने पन्थीले बताउनुभयो । 

पन्थीले बिहान–साँझको समय यही ड्रागन खेतीको गोडमेल र स्याहारसुसारमा लगाउने गर्नुभएको छ । उहाँका अनुसार यो अल्छीले गर्ने खेती जस्तै हो । यसमा पशुपालन तथा अरु तरकारी बालीमाजस्तो धेरै समय दिनुपर्दैन । 

कमला पन्थीको नाममा नीलकमल बहुउद्देश्यीय कृषि फार्म दर्ता भएको छ । त्यही फार्ममार्फत ड्रागन खेती सुरु गरिएको हो । सरकारी जागिरबाट बचेको समयलाई ड्रागन खेतीमा उपयोग गरेको पन्थीले बताउनुभयो । बुटवल उपमहानगरपालिका १९ नरैनापुरमा उहाँको फर्म छ । 

ड्रागन रातमा फुल्छ भने बिहानसम्म ओइलाउने गरेको कमलाले बताउनुभयो । यो १८ महिना पुगेपछि मात्रै फल्ने हुन्छ । यहाँ ९ महिनामै फलेको छ । गोडमेल गर्ने, मलखाद दिने र पानीको लेबल मिलाउने हो भने यसले चाँडै फल दिने गरेको उहाँको बुझाइ छ । 

पन्थीले यस्तै ड्रागन खेती रुपन्देहीको गैडहवामा पनि गर्नुभएको छ । सुरुमा ड्रागनको बिरुवा हुर्काउन मेहनत गर्नुपरे पनि पछि मुना पलाएर फल दिन सुरु गरेपछि यसको कलमीसमेत हुनेगरेको उहाँले बताउनुभयो । यो खेतीले विस्तारै फल दिन सुरु गरेकाले अहिलेसम्म यो खेतीबाट पन्थी परिवार सन्तुष्ट रहेको बताउने गरेको छ ।

ड्रागन किलोको १ हजार रुपियाँसम्ममा बिक्री हुनेगरेको छ । एउटा बोटबाट ५० किलोसम्म फल उत्पादन हुनेगरेको छ । सरकारी जागिरबाट बचेको समयलाई ड्रागनको खेतीमा लगाएर पन्थीले अरुलाई पनि मेहनत गर्न प्रेरित गर्दै आउनुभएको छ ।