• १३ साउन २०८१, आइतबार

गुल्मीबाट एक सय बढी खेलाडीले भाग लिने

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ २३ गते । गुल्मी जिल्लाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता एक सय बढी खेलाडीले भाग लिने भएका छन् । प्रदेश खेलकुद परिषद्ले यस जिल्लाका लागि १४३ खेलाडी कोटा छुट्टाएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख विश्वकर्माका अनुसार लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता विभिन्न एघार खेलमा गुल्मी जिल्लाले प्रतिस्पर्धा गर्न पाउने भएको छ । पुरुष १६ र महिला १६ गरी ३२ जना फुटबल खेलाडी, पुरुष १० र महिला १० गरी २० जना कबड्डी खेलाडी, पुरुष ९ जना र महिला ९ जना गरी १८ जना भलिबल खेलाडी, पुरुष ५ जना र महिला २ जना गरी ७ जना ब्याडमिन्टन खेलाडी, पुरुष ६ जना र महिला ६ जना गरी १२ जना एथलेटिक्स खेलाडी कोटा रहेको छ ।

पुरुष ८ जना र महिला ६ जना गरी १४ जना तेक्वान्दो खेलाडी, पुरुष ८ जना महिला ४ जना गरी १२ जना कराते खेलाडी, पुरुष ५ जना बक्सिङ खेलाडी कोटा छ ।  पुरुष १० जना र महिला ९ जना गरी १९ जना आईटिएफ तेक्वान्दो खेलाडी, पुरुष ३ जना टेबलटेनिस खेलाडी र पुरुष १ लनटेनिस खेलाडी कोटा रहेको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै, क्रिकेट खेलका लागि यस जिल्लाबाट पुरुष १४ जना सहभागी भइसकेका छन् । झण्डै छ सयभन्दा बढी खेलाडीहरूले जिल्लास्तरीय छनोट प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गराएका थिए । 

जिल्लास्तरीय छनोट प्रतियोगिताबाट करिब दुई सय खेलाडी छनोट गरिएको कार्यालय प्रमुख विश्वकर्माले बताउनुभयो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनका लागि बन्द प्रशिक्षणमार्फत कोटा अनुसारका खेलाडी छनोट गरिने उहाँको भनाई छ ।