सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बुधबार बिहान साढे ११ बजेदेखि बैठक जारी रहेको जानकारी दिनुभयो ।
कास्की काँग्रेस कार्यालयमा महानगर समितिद्वारा तालाबन्दी
सन्तोष सुवेदीकास्की, वैशाख ७ गते । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमतिपछि नेपाली काँग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । काँग्रेसको पोखरा महानगर समितिले बुधबार जिल्ला कार्यालय, चिप्लेढुङ्गामा ताला लगाएको हो ।महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उहाँहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ । हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले काँग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’’सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको सचिव थापाले बताउनुभयो । ‘आगामी दिनमा अपनाइने सङ्घर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्यसमितिलाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
साझा उम्मेदवारीको कार्यविधि तय
अशोक अधिकारीकाठमाडौँ, वैशाख ७ गते । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दल निर्णयको अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएका हुन् । सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गर्नुभएको हो तर यो समाचार तयार पार्दा राति १ः०० बजेसम्म समझदारीपत्रमा हस्ताक्षर भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो चरणको छलफलपछि चुनावी तालमेलको विषयमा सत्तारूढ दलहरू निष्कर्ष नजिक पुगेको बताउनुभयो । बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलका अनुसार छ महानगरमध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित छ । त्यसैगरी, ११ उपमहानगरपालिकामध्ये सातवटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओवादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उहाँले बताउनुभयो । डा. पौडेलले भन्नुभयो, “काठमाडौँ महानगरपालिकासहित ललितपुर र विराटनगरको नेतृत्व काँग्रेसलाई, भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादीलाई दिने गरी छलफल भइरहेको छ ।”त्यसैगरी, उपमहानगरपालिकातर्फ इटहरी, धरान, बुटवल, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पद काँग्रेसले लिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई, हेटौँडा एकीकृत समाजवादीलाई र जनकपुर जनता समाजवादीलाई दिने गरी सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।प्रधानमन्त्री निवासमा दुई चरणमा सम्पन्न बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलसम्बद्ध निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देवप्रसाद गुरुङ सहभागी हुनुहुन्थ्यो । त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोककुमार राई तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीसहित पाँच दलका नेताहरू सहभागी हुनुहुन्थ्यो । काठमाडौँ, वैशाख ७ गते ।काठमाडौँ, वैशाख ७ गते ।
सत्ता गठबन्धनको बैठक : छलफल सहमति नजिक
चुनावी तालमेलको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको छ।
मेलम्चीको पानी : वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन
खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ।
निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश
काठमाडौं, वैशाख ६ गते। सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो। उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिनुभएको छ। २०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै गर्भनर अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो।अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै काममा फर्किन न अन्तरिम आदेशको माग गर्नुभएको थियो। अधिकारीले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।
गृहमन्त्री खाणसँग दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको शिष्टाचार भेट
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसीसम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
लुम्बिनी प्रदेश सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा : ४३ लाख बिगो
काठमाडौं, वैशाख ६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख श्रीधर ज्ञवाली, आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा सरकारी सम्पत्ति हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो। किसानलाई उपकरण उपलब्ध गराउने भन्दै झुटो बिल भरपाई बनाएर दोहोरो बिल भुक्तानी गरेको आरोप उनीहरुमाथि लगाइएको छ। सम्झौता विपरितको उपकरण खरिद गरेको आरोपमा अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संसार र त्यसका निर्देशक राजाराम तिवारी विरुद्ध ४३ लाख ३७ हजार पाँच सय बिगो, तीन महिनादेखि ३ वर्षसम्म कैद र सोही बमोजिमको जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचन तयारी, चुनावी तालमेललगायतका विषयमा गठबन्धनबीच भएको सहमतिलाई अन्तिम रुप दिने दिइने भनिएको छ ।