निलम्बित गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै
निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिनुभएको रिटमा मङ्गलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । अधिकारीले सर्वोच्चमा दायर गर्नुभएको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने
पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गाेविन्द परियारले प्रधानमन्त्रीकाे अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेकाे जानकारी दिनुभयो ।
तालमेल घोषणाको तयारी
अशोक अधिकारीकाठमाडौँ, वैशाख ६ गते । सत्ता साझेदार पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा भएको छलफलपछि सत्तारूढ पाँच दलले मङ्गलबार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी गरेका हुन् । सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू चुनावी तालमेल र साझा उम्मेदवार तय गर्ने विषयमा सोमबार दिनभरि नै छलफलमा जुट्नुभएको थियो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ महानगरसहित ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकामा चुनावी तालमेलको विषयमा गम्भीर छलफल भएको बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “चुनावी तालमेलबारे हामीले गम्भीरता साथ छलफल गरेका छौँ र सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बैठक सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्नेछ ।”उहाँले मङ्गलबारसम्ममा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । सबै ठाउँमा सहमतिको नजिक पुगेकाले मङ्गलबार कहाँ–कसरी चुनावी तालमेल गर्ने भन्ने विषय सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा छलफल भएको छ । धेरै ठाउँमा सहमति नजिकमा पुगेका छौँ । सकारात्मक रूपमा अघि बढ्नुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत हुनुहुन्छ ।” छ महानगर र ११ वटा उपमहानगरसँगै वडाहरूमा साझा उम्मेदवार तय गर्ने गृहकार्यमा जुटेका सत्ता साझेदार दलहरू चैत २९ गते बसेको गठबन्धनको बैठकले निर्धारण गरेको मापदण्डका आधारमा अघि बढ्न लगभग सहमत भएका छन् । मन्त्री कार्कीले भन्नुभयो, “सम्पूर्ण विषयमा वस्तुगत रूपमा छलफल भयो । सत्ता साझेदार दलहरूबीचको समझदारीमा बनेको मापदण्डका आधारमा निर्णयमा पुग्छौँ ।” त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि महानगर र उपमहानगरमा चुनावी तालमेल गर्ने विषयमा मङ्गलबार निष्कर्ष आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार दिनभरि नै शीर्ष नेताहरू गृहकार्यमा लाग्नुभयो । दुई चरणमा छलफल भयो । मङ्गलबार पुनः छलफल गरेर निर्णयमा पुग्नु विश्वास गर्न सकिन्छ ।”प्रधानमन्त्री निवासमा दुई चरणमा सम्पन्न बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलसम्बद्ध निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देवप्रसाद गुरुङ सहभागी हुनुहुन्थ्यो । त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीसहित पाँच दलका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
निर्वाचन सर्दैन :प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन मिति नसर्ने बताउनुभएको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ, सर्दैन । सर्ने सम्भावना कहीँकतै छैन ।”
निर्वाचन निर्धारित समयमा हुनुपर्छ : अध्यक्ष ओली
सन्तोष राउतसोलुखुम्बु, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । एमाले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा सोमबार आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । निर्वाचनमा एमाले र गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा हुने उहाँले चर्चा गर्नुभयो । गठबन्धन दलको सामना गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो । एमाले विजयी भएमात्र मुलुकमा आर्थिक समृद्धि कायम हुने भन्नुहुँदै अध्यक्ष ओलीले सहयोग गर्न आग्रह गर्नुभयो ।प्रदेस १ का पूर्व मुख्यमन्त्रि शेरधन राईले आगामी निर्वाचनमा एमालेले धेरै सिट जित्ने दाबी गर्नुभयो । राईले एमाले विकासको बाहक भएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । महाधिबेशन प्रतिनिधि शेर्पालाई एमालेबाट मेयरमा टिकट दिने सहमति भएको एमाले स्रोतको बुझाई छ ।
लोकतान्त्रिक गणतन्त्रलाई सशक्त बनाउन सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
चुनावी तालमेल : गठबन्धनले सहमतिलाई मंगलबार अन्तिम रूप दिने
काठमाडौं, वैशाख ५ गते। पाँच दलीय सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। मंगलबार पुनः बस्नेगरी सोमबारको बैठक सम्पन्न भएको हो।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनका दलहरु सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। ‘तालमेलको कुरा छ, यसमा गम्भीरताका साथ छलफल भएको छ। केही विषयमा सहमति भएको छ’, सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘भोलि मंगलबार बिहान पुनः साढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिनेछ।’ ‘महानगरपालिका, उपमहानगरपालिका लगायत समग्रमा छलफल भयो। सकारात्मक रुपले अगाडि बढ्नुपर्छ भन्ने कुरा छ’, उहाँले भन्नुभयो, ‘हामीले बनाएको मापदण्डको वरीपरी रहेर छलफल गरेका छौं।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताको उपस्थिति रहेको थियो।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
सर्वोच्चमा तानिए तीन न्यायाधीश
काठमाडौं, वैशाख ५ गते। विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमबार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो।उहाँले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो। मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो। उक्त कानून कार्यान्वयनमा छैन।यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो।रासस