• १९ असार २०८१, बुधबार

सत्ता साझेदार दलको बैठक

तालमेल घोषणाको तयारी

blog

अशोक अधिकारी

काठमाडौँ, वैशाख ६ गते ।  सत्ता साझेदार पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा भएको छलफलपछि सत्तारूढ पाँच दलले मङ्गलबार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी गरेका हुन् । 

सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू चुनावी तालमेल र साझा उम्मेदवार तय गर्ने विषयमा सोमबार दिनभरि नै छलफलमा जुट्नुभएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ महानगरसहित ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकामा चुनावी तालमेलको विषयमा गम्भीर छलफल भएको बताउनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो, “चुनावी तालमेलबारे हामीले गम्भीरता साथ छलफल गरेका छौँ र सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बैठक सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्नेछ ।”उहाँले मङ्गलबारसम्ममा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । सबै ठाउँमा सहमतिको नजिक पुगेकाले मङ्गलबार कहाँ–कसरी चुनावी तालमेल गर्ने भन्ने विषय सार्वजनिक  गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “समग्रमा छलफल भएको छ । धेरै ठाउँमा सहमति नजिकमा पुगेका छौँ । सकारात्मक रूपमा अघि बढ्नुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत हुनुहुन्छ ।” छ महानगर र ११ वटा उपमहानगरसँगै वडाहरूमा साझा उम्मेदवार तय गर्ने गृहकार्यमा जुटेका सत्ता साझेदार दलहरू चैत २९ गते बसेको गठबन्धनको बैठकले निर्धारण गरेको मापदण्डका आधारमा अघि बढ्न लगभग सहमत भएका छन् । 

मन्त्री कार्कीले भन्नुभयो, “सम्पूर्ण विषयमा वस्तुगत रूपमा छलफल भयो । सत्ता साझेदार दलहरूबीचको समझदारीमा बनेको मापदण्डका आधारमा निर्णयमा पुग्छौँ ।” 

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि महानगर र उपमहानगरमा चुनावी तालमेल गर्ने विषयमा मङ्गलबार निष्कर्ष आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार दिनभरि नै शीर्ष नेताहरू गृहकार्यमा लाग्नुभयो । दुई चरणमा छलफल भयो । मङ्गलबार पुनः छलफल गरेर निर्णयमा पुग्नु विश्वास गर्न सकिन्छ ।”

प्रधानमन्त्री निवासमा दुई चरणमा सम्पन्न बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दलसम्बद्ध निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देवप्रसाद गुरुङ सहभागी हुनुहुन्थ्यो । 

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीसहित पाँच दलका नेताहरू सहभागी हुनुहुन्थ्यो ।