काठमाडौं महानगर- १४ मा कांग्रेस विजयी
काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गर्नुभयो ।सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी हुनुभएको छ ।सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा र एमालेका नवीन नकर्मी निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाको मतदान रद्द, पुनः मतदान हुने
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १२ गते । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको आजको निर्णयअनुसार सो नगरपालिकाको निर्वाचन केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको छ । सो नगरपालिकाभित्र यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन गरेको छ । यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिन भित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन आयोगले सरकारलाई भनेको छ । उहाँहरुले निर्वाचनमा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ । ती पदाधिकारीहरुलाई तीन महिनाभित्र विभागीय कारवाही गरी आयोगलाई जानकारी गराउन पनि आयोगले सरकारलाई भनेको छ ।
‘विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर काम गर्नुहोस्’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले जनप्रतिनिधिलाई विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर कामकाज गर्न आग्रह गर्नु भएको छ।
प्रतिनिधिसभा बैठक : सांसदको सहभागिता न्यून
काठमाडौं, जेठ १२ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सरकारले बजेट अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभा सदस्यको सहभागिता उत्साहजनक हुनुपर्ने हो। तर, अन्य समयमा जस्तै नीति तथा कार्यक्रममाथिको छलफल सम्बन्धी कार्यसूची रहेको बैठकमासमेत प्रतिनिधिसभा सदस्यको संख्या कमै देखियो। बिहीबारको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको छ। छलफल शुक्रबार पनि जारी रहनेछ। बिहीबारको बैठकमा देखिएका खाली कुर्सी । तस्बिरः केशब गुरुङ
देशभर १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ १२ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार सो संख्यामा महिला निर्वाचित भएको देखिएको हो । प्रमुख र उपप्रमुख महिलातीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली काँग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो ।सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवैजना काँग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख काँग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।कुन प्रदेशमा कति महिलाप्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित हुनुभयो । यसैबीच गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिलादेशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी निर्वाचित हुनुभयो ।त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मिनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सोहीअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो । त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाई, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो । त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ ।सोहीअनुसार आयोगको हालसम्मको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।
नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । उहाँहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
वालेन र सुनिताको काठमाडौं महानगर यात्रा
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन
कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ ।