क्यासिनोले बुझाए कर
काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् ।
केराउ र सुपारीको आयात खुला
सरकारले केराउ, सुपारी र कालो मरीचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रूपमा ल्याउन सकिने गरी खुला गरेको छ । राजपत्रमा सूचना निकालेर आयात खुला गरिएको हो ।
ऐनविपरीत इन्धन आपूर्तिमा अवरोध
पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश (पीडीओ) लिएका छैनन् । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
नेपालको ऊर्जा क्षेत्रमा हासिल प्रगतिको प्रशंसा
जलविद्युत्मार्फत हरित र उन्नत आधार निर्माणबारेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ऊर्जा क्षेत्रको विश्वव्यापी अवस्था र नेपालले अङ्गीकर गर्नुपर्ने भावी रणनीतिबारे बृहत् छलफल गर्दै सो सम्मेलन मङ्गलबार सम्पन्न भएको हो । दिगो नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनले सोमबारदेखि आयोजना गरेको सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रले हासिल गरेको प्रगतिको प्रसंशा गर्दै अबका दिनमा अख्तियार गर्नुपर्ने नीतिगत, कानुनी तथा व्यवस्थापका विभिन्न उपायसमेत सुझाइएको छ ।
धान उत्पादन घट्ने चिन्ता
सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर लगाउने गरेका छन् । यसलाई नेपाल सरकारले स्वीकृति भने दिएको छैन । कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार यो धानको बीउ प्रतिबन्धित छ । भारतबाट अवैध रूपमा भित्रिएको यसको बीउ ‘शिथ ब्लाइट’ नामक रोगबाट सङ्क्रमित भएको पाइएको छ । यही कारण यो प्रजातिको धान नलगाउन कृषि विज्ञले आग्रह गर्दै आएका छन् ।
साल्ट ट्रेडिङले तोरीकाे तेल उत्पादन गर्ने
साल्ट ट्रेडिङ कर्पोरेसनले एसटीसी ब्रान्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । आमउपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यका साथ कर्पोरेसनले हेटौँडामा रहेको नेपाल वनस्पति उद्योग लिमिटेडबाट तेल उत्पादन गर्ने भएको हो । कर्पोरेसनको ६०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
सेयरधनीसँग बाँकी रकम माग
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम माग गरेको छ । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक सो कम्पनीले आगामी असोज ४ गतेदेखि बाँकी रकम सङ्कलन गर्ने भएको हो । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।
नेपालको एक स्थान सुधार
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनमा नेपाल १४३औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १४४औँ स्थानमा थियो । सोमबार आयोजित कार्यक्रममा यूएनडीपीले ‘अनिश्चित समय, अस्थिर जीवन ः परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा तयार गरेको मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिक गरेको हो । प्रतिवेदनमा विशेष गरी शिक्षा, स्वास्थ्य, औसत आयु, प्रतिव्यक्ति आयजस्ता विषयलाई केन्द्रमा राखिएको छ । नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको छ । १९१ मुलुकमध्ये पहिलो स्थानमा रहेको स्विजरल्यान्डको मानव विकास सूचकाङ्क ०.९६२ रहेको छ ।
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोजगारका लागि नेपाली युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य जरुरी भएको धारणा राख्नुभएको छ । रुपन्देहीको बुटवलमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री कुँवरले यस्तो धारणा राख्नुभएको हो । स्वरोजगारी बढाउने र श्रमको सम्मान गर्ने राष्ट्रको अभियान भएकाले देशमै रोजगारी वृद्धि गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ । कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न सकेन : सहसचिव रेग्मी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
दोर्दी कोरिडोर प्रसारण लाइन सञ्चालनमा
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहर नगरपालिकाको उदिपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
तिब्बतबाट च्याङ्ग्रा नआउने
यस वर्षको दशैँमा चीनको तिब्बती क्षेत्रबाट हुम्लालगायत साबिक कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुराका लागि च्याङ्ग्रा नआउने भएका छन् । कोरोना महामारीका कारण हुम्ला जिल्लामा पर्ने तिब्बतका चारवटा नाका बन्द रहेका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको हो । यतिखेर हिल्सा, लाप्चा, चुवाँखोला र ताँके नाकाबाट दशैँका लागि चीनको तिब्बती क्षेत्रबाट च्याङ्ग्रा आउन सुरु हुनुपर्ने हो । तर, अहिलेसम्म एउटा च्याङ्ग्रा पनि भित्रिएको छैन । यसअघि असार साउनमै आउनुपर्ने च्याङ्ग्रा पनि आएनन् ।
‘विशेष पहल भइरहेको छ’
परराष्ट्रमन्त्री डा. नारायण खड्काले उत्तरी नाका खुला र सहज बनाउन विशेष पहल भइरहेको बताउनुभएको छ । मन्त्री खड्काले उत्तरी नाकाबाट चीन र तिब्बतसँग व्यापार गर्ने व्यापारी तथा सिन्धुपाल्चोकका जनप्रतिनिधिसँगको भेटमा आइतबार सो जानकारी गराउनुभएको हो । सो प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले दुवै नाका पूर्ण रूपमा सञ्चालन गर्न चिनियाँ सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । “दुवै नाकाबाट चाँडोभन्दा चाँडो आयात र निर्यात सहज बनाउन विशेष पहल गरिरहेको छु, दशैँअघि नै आपूर्ति सहज हुने हिसाबले चिनियाँ सरकारसँग सकारात्मक कुरा अगाडि बढेको छ,” परराष्ट्रमन्त्री खड्कालाई उद्धृत गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो ।
फेरि सिटामोल अभाव
काठमाडौँ उपत्यकामा सिटामोल अभाव भएको छ । उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो । डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।
लगानी जुटाउन छलफल हुँदै
दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ । बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ ।
बढ्यो चोरी पैठारी
घरायसी प्रयोजनका लागि भारतीय सीमावर्ती बजारबाट खरिद गरेर ल्याइने सामानमा पनि अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था गर्न नेपाल राजस्व परामर्श समितिले सुझाव दिएको छ । सरकारलाई कर तथा राजस्व सम्बन्धमा सुझाव दिन गठित समितिले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा भन्सारमा कडाइ नगरिँदा सीमा नाकाबाट हुने चोरी पैठारी बढेकाले त्यस्ता सामानको खरिदमा पनि भन्सार अनिवार्य गरिनुपर्ने उल्लेख गरेको छ । भारतीय सीमासँग जोडिएका मुख्य ११ वटा भन्सार कार्यालयको अवलोकन भ्रमणपछि समितिले तयार पारेको सीमा नाकामा हुने चोरी पैठारी नियन्त्रणको प्रभावकारिता अध्ययन, २०७९ प्रतिवेदनले घरायसी प्रयोगका लागि ल्याइएको भए पनि निश्चित सीमाभन्दा माथिको आयातमा भन्सार लिनैपर्ने सुझाव प्रतिवेदनमा समेटेको छ । भारतसँगको खुला सीमा नाकाका कारण नेपालीले चाडपर्व, बिहेवारीलगायतमा भारतीय बजारमा पुगेर किनमेल गर्दै आएका छन् । यसबाहेक सामान्य अवस्थामा पनि ती बजारबाट सामान ल्याउने आमप्रवृत्ति छ ।
उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी
पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् ।
काभ्रे मासु र अन्डामा आत्मनिर्भर
काभ्रेपलाञ्चोक जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको सात वर्ष पूरा भएको छ । २०७२ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । अहिले काभ्रेमा वार्षिक तीन करोड ३३ लाख ८५ हजार लिटर दूध आवश्यक रहेकामा १४ करोड ३४ लाख ४३ हजार लिटर दूध उत्पादन हुँदै आएको र वार्षिक ११ करोड ५८ हजार लिटर बढी दूध उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
क्षतिपूर्ति दिन ६० करोड माग
पशु सेवा विभागले ‘बर्डफ्लु’ पीडित किसानलाई क्षतिपूर्ति दिनका लागि ६० करोड रुपियाँ माग गरेको छ । सरकारले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड, २०७९ बमोजिम विभिन्न १६ जिल्लाका किसानको क्षति हिसाब गर्दा पीडित किसानले सरकारबाट ६० करोड रुपियाँ पाउने छन् तर विभागसँग रकम अपुग भएका कारण क्षतिपूर्ति दिन ढिलाइ भइरहेको हो ।
नेपालगञ्ज क्षेत्रको इन्धन आपूर्तिमा अवरोध
निजी क्षेत्रका ढुवानी व्यवसायीले ढुवानी नगर्दा एक सातादेखि नेपालगञ्जमा हवाई इन्धनको अभाव हुन थालेको छ । भारतको लखनऊबाट भइरहेको हवाई इन्धन ढुवानी रोकिँदा नेपाल आयल निगमको नेपालगञ्ज डिपोले नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा हवाई इन्धन आपूर्ति कटौती गरेको छ । यसैगरी ढुवानी व्यवसायीले शनिबारदेखि अन्य पेट्रोलियम पदार्थको ढुवानी पनि रोकेका छन् । यसले गर्दा भारतको गोन्डाबाट आपूर्ति हुने डिजेल, पेट्रोल र खाना पकाउने ग्यास पनि रोकिएको छ । यसबाट कर्णाली र लुम्बिनीका १५ जिल्लाको इन्धन आपूर्तिमा समस्या आउने निगमको नेपालगञ्ज डिपोले जनाएको छ ।
लगानीकर्तालाई अनलाइनबाटै सेवा
विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै आफ्नो लगानी प्रस्तावको प्रक्रिया र प्रगतिबारे जानकारी लिन सक्ने भएका छन् । ठूला पूर्वाधार आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन गर्दै आएको लगानी बोर्डको कार्यालयले यससम्बन्धी पूर्वाधार तयार गरिसकेको छ । लगानी बोर्डले २०७५ सालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुरूप भौतिक रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएकोमा अब यसलाई भर्चुअल (अभौतिक) स्वरूपमा विकास गरेको हो । उद्योग विभागले पनि त्रिपुरेश्वरस्थित आफ्नो कार्यालय परिसरमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
विदेशीले लैजान्छन् आठ अर्ब
नेपालीले विदेशमा काम गरेर पठाएको विपे्रषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विपे्रषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।