• ५ जेठ २०८१, शनिबार

बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडो याममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्र इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । 

चैत अन्तिमसम्म उत्पादन घट्दै जाने त्यसपछि गर्मी मौसममा वायुमण्डलको तापक्रम बढेर हिमाल धेरै पग्लिने हुँदा पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि हुने गर्छ । वैशाखपछि घामको तापक्रम बढ्ने हुँदा हिउँ धेरै पग्लने र वर्षात हुन थाल्ने भएकाले उत्पादन बढ्ने इन्जिनियर ढुङ्गाना बताउनुहुन्छ । उहाँका अनुुसार हाल पानी कम हुँदा ६९ मेगावाट क्षमताको केन्द्रबाट घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको छ ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घटेको इन्जिनियर ढुङ्गानाले जानकारी दिनुभयो । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने गरिएको र साँझ बिहान भने पूर्ण क्षमतामै उत्पादन हुने गरेको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो । 

विद्युतको माग साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता ६९ मेगावट नै उत्पादन गरिएको केन्द्र प्रमुख फुयाँलले  बताउनुभयो । उहाँको अनुसार विद्युतको माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन गर्ने गरिएको छ ।

चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको केन्द्रको भनाइ छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।