सम्झौता गर्न प्राधिकरणको निर्देशन
नेपाल विद्युत् प्राधिकरणले आफ्ना पोल तथा तारलगायतका संरचना प्रयोगका लागि सम्झौता गर्न सम्बन्धित कम्पनीहरूलाई एकमहिने समयसीमा तोकेको छ । टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकले सम्झौता नगरी पूर्वाधार प्रयोग गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने उल्लेख छ । सूचनाअनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन तथा केबल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले गरेको सम्झौता नवीकरण र सम्झौता नगरेको भए सम्झौता गरेर मात्रै सेवा दिन प्राधिकरणको निर्देशन छ ।
‘राजस्व गिरावटले वित्तीय चाप’
राजस्व सचिव रामेश्वर दङ्गालले राजस्व सङ्कलनमा गिरावट आउँदा वित्तीय चाप बढेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले कर दिवसका अवसरमा आयोजना गरेको छलफलमा दबाबमा परेको राजस्वमा योगदान गर्न आग्रहसमेत गर्नुभएको छ । दङ्गालले अर्थतन्त्रमा स्थायित्व ल्याउने गरी मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेकोसमेत उल्लेख गर्नुभयो । अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै यसलाई सकारात्मक भूमिका खेल्दै राजस्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । “राजस्वमा दबाब पर्दै गए सरकार आन्तरिक ऋण उठाउनुपर्ने बाध्यतामा पुग्छ,” उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा जाने लगानीयोग्य रकममा समेत पर्न सक्छ ।”
उद्योग दर्ता आधा घट्यो
चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए । यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगबाट चार हजार ९३५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगमा एक खर्ब ५१ अर्ब ८५ करोड रुपियाँ लगानी प्रतिबद्ध भएको थियो । ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो ।
पोखरा विमानस्थलमा परीक्षण उडान सुरु
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सुरु भएको छ । एरो थार्ई जहाजले सोमबारदेखि पोखरा विमानस्थलमा परीक्षण उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
भूमिस्थ सेवा नखोस्न निगमको आग्रह
नेपाल वायुसेवा निगमले सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ) सेवा आफूलाई दिन आग्रह गरेको छ। स्थापनाकालदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा दिँदै आएको निगमले पोखरामा उक्त जिम्मेवारी आफूलाई दिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरेको हो।
घट्न थाल्यो वैदेशिक लगानी प्रतिबद्धता
मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा उल्लेख्य कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) ९५ परियोजनाका लागि ११ अर्ब छ करोड २८ लाख आठ हजार ७०४ रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
कृषि मन्त्रालयको २३ प्रतिशत बजेट खर्च
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ ।
११ वाणिज्य बैङ्कसहित १८ कम्पनीको लाभांश प्रस्ताव
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।
व्यापारीले बढाए बजारभाउ
पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ ।
मङ्गलबारदेखि इन्भेस्टमेन्ट र मेगाको कारोबार
मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयरबाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ। मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कारण छ महिनायता रोक्का रहेका यी बैङ्कको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खुलाउन लागेको हो। स्टक एक्सचेन्जका अनुसार दुवै बैङ्कको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएर मङ्गलबारदेखि सुचारु हुने भएको हो। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा मङ्सिर ६ देखि नियमित कारोबार हुने नेप्सेले जनाएको छ।
आधा घट्यो घरजग्गा कारोबार
वित्तीय क्षेत्रले ऋण लगानी गर्न नसक्नु तथा स्थानीय निकायले आवश्यक कानुनी प्रबन्ध गर्न नसक्दा मुलुकभरको घरजग्गा कारोबार शिथिलप्रायः भएको छ। भूमि व्यवस्थापन विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिकमा भन्दा यस वर्ष घरजग्गाको लिखत पारितलगायतका कारोबार र त्यसबाट प्राप्त हुने राजस्वसमेत आधा घटेको छ।
बर्सेनि घट्दै छ तोरी खेती
तोरी बालीका लागि प्रख्यात दाङमा पछिल्लो समय उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि पछिल्लो समय त्यो क्रम घट्दै गएको हो। कुनै समय दाङको तोरी अन्य जिल्लाहरूमा बिक्री हुने गथ्र्यो तर पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ। स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउनुहुन्छ। केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको उहाँ बताउनुहुन्छ। “घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर
लगानी बराबरकै लाभांश फिर्ता
नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो।
छिट्टै आउँदै रासायनिक मल
मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
ईफाप्का अध्यक्षमा सिंह
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता सङ्गठन (ईफाप्का)को अध्यक्षमा चयन हुनुभएको छ। माल्दिभ्सको राजधानी मालेमा शुक्रबार सम्पन्न ईफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो। ईफाप्काको महासचिवमा महासङ्घका सल्लाहकार इन्जिनियर वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासङ्घका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन हुनुभएको छ। वणानुक्रमअनुसार (ईफाप्का)का सदस्य राष्ट्रहरूले सङ्गठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो। यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन हुनुभएको थियो।
नेपाल टेलिकमको वर्ल्ड कप अफर
नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड कप प्याकेज उपलब्ध गराउने भएको छ। मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपियाँ ग्राहकले घरमै बसेर खरिद गर्न सकिने टेलिकमले जनाएको छ।
लुम्बिनीमा पर्यटक वृद्धि
गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। अक्टोबर महिना सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले लुम्बिनी क्षेत्रको चहलपहल बढेको छ। गत वर्षको अक्टोबरको तुलनामा यो वर्षको सोही महिनासम्म पर्यटकको उल्लेख्य वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिनुभयो।
भाषा परीक्षाको नतिजा प्रकाशित
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि लिइएको भाषा परीक्षाको उत्पादनतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। दक्षिण कोरिया सरकार मानव संसाधन विभाग (एचआरडी)ले उत्पादनतर्फको दोस्रो चरणका लागि दिएको भाषा परीक्षाको नजिता शुक्रबार सार्वजनिक गरेको हो।
रोकिएन विदेशिनेको लर्को
मतदान गर्न दुई दिन मात्रै बाँकी रहँदा शुक्रबार पर्वत विहुका विनोद अधिकारी रोजगारीका लागि मलेसिया प्रस्थान गर्नुभयो। दुईमहिने घर बिदामा आउनुभएका उहाँ दशैँतिहार मनाएर पुनः श्रम स्वीकृति लिएर चुनावको मुखमै विदेश लाग्नुभएको हो। उहाँले टेलिफोनमा गुनासो गर्नुभयो, “स्वदेशमा रोजगारीका लागि केही हुने भए विदेश जान कसलाई मन हुन्छ र! त्यो पनि चुनावको मुखमा। फर्किने टिकट आजैको छ, टिकट छुट्यो भने जागिर र टिकट दुवै जान्छ।” उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो।
नेपाल लाइफले ग-यो झन्डै पचपन्न अर्ब दाबी भुक्तानी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ अर्ब ७६ करोड रुपियाँको दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्म पाँच अर्ब तीन करोड रुपियाँ मृत्यु दाबी, १५ अर्ब २६ करोड रुपियाँ अवधि समाप्ती दाबी भुक्तानी र १८ अर्ब ५३ करोड अवधि भुक्तानी गरेको जनाइएको छ। यसका साथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता
चालू खर्चकै लागि राजस्व अपुग
सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक(साउन–कात्तिक)सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो। सो कार्यालयको तथ्याङ्कअनुसार कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यको तुलनामा १९.११ प्रतिशत मात्र हो। जब कि कात्तिकसम्म सरकारको चालू खर्च दुई खर्ब ८१ अर्ब रुपियाँ नाघेको छ। यस हिसाबले चालू खर्चकै लागि १३ अर्ब रुपियाँ राजस्व अपुग देखिएको हो।
मलको अभावमा आलु खेती छाड्दै किसान
आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा आलु रोप्ने समय भएको छ तर यति बेला जिल्लामा डीएपी र युरिया मलको आवश्यकताको अनुपातमा न्यून परिमाणमा मात्र रासायनिक मल भित्रिएको छ।
सरकारी अनुदानले कृषकलाई लाभ
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’बाट किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । छ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले अहिले वार्षिक सात लाख रुपियाँ कमाउनुहुन्छ । उहाँले गत आर्थिक वर्ष ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’को सहयोगमा तरकारी उत्पादनका लागि पक्की टनेल निर्माण गर्नुभएको हो । उक्त कार्यक्रमअन्तर्गत प्रदेश सरकारको ७० प्रतिशत, गाउँपालिका र कृषकको १५/१५ प्रतिशत लगानी गरिँदै आएको छ ।
भेटिएन करको लक्ष्य
कात्तिकमा लक्ष्यको ८१ प्रतिशत मात्रै कर राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार कात्तिकमा ३५ अर्ब ९२ करोड ३८ लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा २९ अर्ब पाँच करोड ७८ लाख रुपियाँमा सङ्कलन भएको हो । विभागका अनुसार कात्तिकमा अन्तःशुल्क (आन्तरिक)बाहेक कुनै पनि कर शीर्षकको लक्ष्य पूरा भएको छैन । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिकमा नौ अर्ब ८१ करोड ६८ लाख रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य तोकिएकामा सात अर्ब ४२ करोड ४२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ ।