• १२ मंसिर २०८१, बुधबार

अलैँचीको उत्पादन बढ्यो तर मूल्य बढेन

blog

कविराज घिमिरे 

हिले, पुस २८ गते । धनकुटाको पाख्रीबास नगरपालिका–२, सान्नेका कृषक देवीबहादुर अधिकारीले अलैँची खेती सुरु गरेको करिब तीन दशक बितेको छ । वार्षिक ४५ मन (१८ क्विन्टल)सम्म अलैँची उत्पादन गर्दै आउनुभएका अधिकारीको बगैँचा विभिन्न रोग कीराको प्रकोपका कारण एकाएक नाशियो । 

उत्पादन ४५ मनबाट झरेर पाँच मनमा पुग्यो तर अहिले उहाँले पुनः नयाँ बगान लगाएर वार्षिक १५ मन उत्पादन गर्न थाल्नुभएको छ । उहाँले एक लाख २० हजार रुपियाँ प्रतिमनसम्म अलैँची बिक्री गर्नुभयो, खस्किएको उत्पादन पुरानै लयमा फर्काउने सोच उहाँको छ तर अहिले खस्किएको मूल्य भने बढ्न सकेको छैन । उत्पादन बढे पनि मूल्य बढ्न नसकेको अधिकारीको गुनासो छ । 

खोल्सीको कालो सुन भनेर चिनिने अलैँचीको खेती हुने जिल्लामध्येको एक हो धनकुटा । अलैँचीमा गानो कुहिने, पात पहेँलिने, गुभो सुक्ने, छिर्केफुर्के आदि रोगका कारण धेरै बगान मासिएका हुन् । पुराना बगानमा रोगको समस्या त अहिले पनि उस्तै छ तर पुराना बगान मासेर नयाँ बगान लगाएका स्थानमा भने यो समस्या कम हुँदै गएको र उत्पादन बढ्दै गएको सान्नेका कृषक बलबहादुर अधिकारी बताउनुहुन्छ । धनकुटामा करिब चार दशकयता अलैँचीको खेती हुँदै आएको छ । चार दशकको अवधिमा आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा धेरै क्षेत्रफलमा अलैँचीको उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । त्यसयता लगातार उत्पादन घट्दै आएको छ । २०७५/७६ जिल्लामा १६० हेक्टर क्षेत्रफलमा खेती हुँदा वार्षिक ९१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । लगत्तै आर्थिक वर्ष २०७६/७७ मा क्षेत्रफल घटेर १२५ हेक्टरमा सीमित हुँदा उत्पादन पनि घटेर ६२ मेट्रिक टनमा सीमित भयो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा उत्पादन ३८ मेट्रिक टनमा सीमित बन्न पुग्यो तर आर्थिक वर्ष २०७८/७९ मा बढेर ४० मेट्रिक टन पुगेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा यो बढेर ५० मेट्रिक टन कट्ने कार्यालयको अनुमान छ ।

यता अलैँचीको मूल्य भने निरन्तर खस्कँदो छ । २०७१ सालमा एक लाख २० हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो । त्यसयता मूल्य वार्षिक १० देखि २० प्रतिशतसम्म घट्दै आएर अहिले प्रतिमन २५ हजारमा झरेको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । गत वर्ष ४९ हजार रुपियाँ प्रतिमनसम्म पुगे पनि त्यो मूल्य स्थिर रहन सकेन । छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट इलाम, पाँचथर हुँदै अलैँची खेती नेपाल भित्रिएको हो । इलामबाट बिरुवा ल्याएर धनकुटामा करिब चार दशकयता अलैँचीको खेती गरिँदै आएको छ ।