गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । उकालो लागिरहेको मुद्रास्फीति, उच्च ब्याजदर, लगानीमा आएको सङ्कुचन र रुस–युक्रेन युद्धले निम्त्याएको अवरोधले विश्व अर्थतन्त्र शिथिलतातर्फ धकेलिएको छ ।
विश्व बैङ्कले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले उल्लेखित कारणले सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीतर्फ जाने सङ्केत गरेको छ । कोभिड–१९ सङ्क्रमणले थपेको चुनौती र भौगोलिक सम्बन्धको उतारचढावले अर्थतन्त्रका यी पछिल्ला समस्या बढाएको प्रतिवेदनको निष्कर्ष छ ।
सो प्रतिवेदनअनुसार ८० वर्षपछि पहिलो पटक विश्व अर्थतन्त्र एकै दशकमा दुई पटक मन्दीतर्फ जाने अवस्था सिर्जना भएको छ । विश्व बैङ्कले सन् २०२३ विश्व अर्थतन्त्र केवल १.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२४ मा भने सुधार आएर आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने प्रक्षेपण छ । खास गरी विकसित मुलुकका अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ९५ प्रतिशतले घट्ने गरी यसअघिको प्रक्षेपण संशोधन गरिएको पनि विश्व बैङ्कले जनाएको छ । त्यस्तै विकासोन्मुख मुलुकको वृद्धिदर भने यसअघिको प्रक्षेपणको तुलनामा ७० प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ ।
आगामी दुई वर्षमा उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रको प्रतिव्यक्ति आम्दानी औसत २.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यो सन् २०१० देखि २०१९ को अवधिको तुलनामा न्यून हो । विश्वकै धेरै गरिब रहेको अफ्रिकी क्षेत्रको प्रतिव्यक्ति आय भने केवल १.२ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण छ, जसले गरिबी बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । खास गरी अत्यधिक ऋण दायित्व र कमजोर लगानी अवस्थाका कारण उदीयमान र विकासोन्मुख मुलुकले बहुवर्षीय सुस्त वृद्धिको सामना गर्नुपर्ने विश्व बैङ्क समूहका अध्यक्ष डेभिड मालपासले बताउनुभयो ।
प्रतिवेदनका अनुसार विकसित अर्थतन्त्रको आर्थिक वृद्धिदर सन् २०२२ को २.५ प्रतिशतबाट सन् २०२३ मा ०.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ । विश्व अर्थतन्त्रमा देखिएको यस्तो न्यून वृद्धिदरले विश्वव्यापी मन्दीको सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर ०.५ प्रतिशतमा सीमित हुनेछ, जुन सन् १९७० को मन्दीपछिको सबैभन्दा कमजोर वृद्धिदर हो । त्यस्तै युरोपको समग्र वृद्धिदर १.९ प्रतिशत, चीनको वृद्धिदर ४.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
यद्यपि सन् २०२४ को अन्त्यतिर भने विश्व अर्थतन्त्रमा केही सुधार आउने विश्व बैङ्कले जनाएको छ । त्यतिबेला उदीयमान र विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ६ प्रतिशत तल रहनेछ । मुद्रास्फीतिमा केही सुधार आउने भए पनि त्यो महामारीपूर्वको अवस्थाभन्दा केही बढी नै हुनेछ ।