हुम्ला समाचारदाता
हुम्ला, पुस २९ गते । हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो ।
जुम्लाका खच्चड व्यवासायी पदम रोकायाले सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि खच्चडबाट इन्धन ढुवानी गर्ने कार्य भइरहेको बताउनुभयो ।
उहाँले बर्खामा सडक भत्किएका कारण इन्धन ढुवानी कार्य रोकिएकामा हाल सडकको मर्मत भएर सञ्चालनमा आएपछि खच्चडमा इन्धन ढुवानी सुरु भएको बताउनुभयो ।
उहाँले इन्धनमा पेट्रोल र डिजेल ढुवानी हुने र त्यसका लागि सलीसल्लाबाट प्रतिलिटर ५० रुपियाँ, सर्केगार्डबाट ४० रुपियाँ र दुल्लीकुनाबाट ३० रुपियाँ भाडा लिने गरिएको बताउनुभयो ।
माथिल्लो हुम्लामा इन्धनको अभाव भइरहेका बेला खच्चडमा ढुवानी गर्ने कार्य सुरु भएको हो । यसअघि हेलिकोप्टरबाट इन्धन ढुवानी गर्दा भाडा महँगो पर्ने भएपछि यातायात व्यवसायी र निर्माण व्यवसायी पैदल मार्गबाट इन्धन ढुवानी गर्न थाल्नुभएको हो।
खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले हेलिकोप्टरबाट ढुवानी भएको इन्धनभन्दा पैदल मार्गबाट खच्चडमा ढुवानी भएको इन्धन सस्तो पर्ने भएका कारण पहिलेको मूल्यभन्दा कमी आएको बताउनुभयो ।
उहाँले सिमकोटमा डिजेल प्रतिलिटर ३१४ रुपियाँ (३५ लिटरको ग्यालेनको ११ हजार) र पेट्रोल प्रतिलिटर साढे चार सय रुपियाँ पर्ने गरेको बताउनुभयो । खच्चडमा ढुवानी भएको इन्धन यातायातका साधन र विकास निर्माणमा प्रयोग हुने मेसिनका लागि प्रयोग हुने गर्छ ।