नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीनजना सदस्यहरूको उम्मेदवारी कायम रहेको जनाएको छ ।
जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र वर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट सुचारु भएको शिलाशालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
नेपालगञ्जमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आगलागीबाट ठूलो क्षति समेत पुगेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इन्जिनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि. सं. २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ ।
मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।
कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका वडा नं १० रानाबाडामा ब्यवारिसे अवस्थामा भेटिएको बम विस्फोटनमा परी तिनीहरूको ज्यान गएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले जिल्लामा साना र टुक्रे योजनामा बजेट विनियोजन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । प्रदेश सरकार गठन भएसँगै प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयले टुक्रे र साना योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने काम गर्दै आएका छन् ।
लिमी उपत्यकाको पैदल मार्गबाट टाक्चीमा पुगेको दुई जना पर्यटकलाई लेक लागेपछि उद्धार गरिएको छ । फ्रान्सेली नागरिक रोटेम पिटर र इजरेली नागरिक सहुल पिटर लेक लागेर बिरामी पर्नुभएको थियो । अहिले दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना समयमै निर्माण थाल्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृशोक परेको छ । शाक्यका ७६ वर्षको उमेरका पिता धनज्योति शाक्य केही महिनादेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो ।