कमल रिजालवैदिक युग कहिलेदेखि सुरु भयो, यकिन जानकारी छैन । पौराणिक युगको अवस्था पनि त्यस्तै छ । कसैले केही भनेका छन्, कसैले केही तर वैदिक युगमा कर्मवादको प्रधान्यता थियो । पौराणिक युगमा त्यसको स्थान उपभोक्तावादले लिएको देखिन्छ । वैदिक युग र पौराणिक युगका देवताका स्वभाव र चरित्रले नै त्यसको पुष्टि गर्छ । वैदिक युगमा जुन देवता वीर, पराक्रमी र कर्तव्यनिष्ठ देखिन्छन्, पौराणिक युगमा तिनै देवता भीरू, डरपोक, लोभी, पापी र परमुखापेक्षी देखिएका छन् । उदाहरणका लागि वैदिक युगका प्रमुख देवता इन्द्र, अग्नि, वायु, सूर्य र अश्विनीकुमारलाई नै लिन सकिन्छ । वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवतामा इन्द्र पर्छन् । ऋग्वेदमा ३०० भन्दा बढी सूक्त इन्द्रसित सम्बन्धित छन् । वैदिक ग्रन्थका अनुसार उनी महान् शक्तिशाली, अतुल पराक्रमी, धैय, साहस, बलवीर्य, परोपकार, दया, माया, मैत्री र करुणाका खानीका रूपमा देखिएका छन् । ऋग्वेदका अनुसार इन्द्र भनेका त्यस्ता देवता हुन्, जो एक्लैमा वज्र धारण गरी सम्पूर्ण शत्रुमाथि विजय पाउने सामथ्र्य राख्छन् । वृत्रासुरजस्ता दानव वध गर्ने पनि उनै हुन्, झन्डै १३ लाख वर्गकिलोमिटर क्षेत्रमा शत्रु (असुर)हरूले बनाएका ८०० भन्दा बढी पुर वा नगर विध्वंसक पनि उनै (ऋग्वेद २।२०।७) हुन् । त्यस्तै शम्बरासुरजस्ता तानासाह हटाउने पनि उनै हुन् (ऋग्वेद ६।२१।४), सुरवीरहरूका नायक पनि उनै हुन् । (ऋग्वेद १।११।१) । त्यसैगरी दुष्ट दलनकर्ता (३।३०।१७), शत्रु हन्ता (ऋग्वेद २।१२।४) र वीरमाथि विजय पाउने पनि उनै हुन् (ऋग्वेद १।१७८।३) । यसबाहेक अन्य वैदिक संहिता तथा ब्राह्मण र उपनिषद् ग्रन्थ पनि उनको पराक्रमको चर्चा उत्तिकै भएका छन् तर तिनै इन्द्र पौराणिक युगमा आइपुग्दा सत्तालिप्त, कामुक, डरपोक, परजीवी, परमुखापेक्षी हुन पुगेका छन् । कतै निर्दोष व्यक्तिको हत्या गर्न पुगेका देखिन्छन्, कतै परस्त्रीमाथि लोभिएर सहस्राक्ष बन्न पुगेका पाइन्छन् । कतै शत्रुहरूले सत्ता छिने भनेर रोइकराइ गर्दै हिँडेका देखिन्छन्, कतै प्राण बचाउन गिरिकन्दरामा लुक्दै हिँडेका पाइन्छन् । अप्सरालाई नचाएर मोजमस्ती गर्ने पनि हुन्, कुर्सी बचाउन सबै खाले जालझेल गर्न पछि नपर्ने पनि उनै हुन् । वेदमा इन्द्रपछिका अर्का चर्चित देवतामा अग्नि पर्छन् । ऋग्वेदको सुरुवात नै उनको स्तुतिबाट भएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी २५० भन्दा बढी सूक्त छन् । ‘सु’ उपसर्ग लागेको वच धातुबाट सूक्त बन्छ । यसको अर्थ हुन्छ– राम्रोसित गाइएको तर ‘बृहद्देवता’ले भने ऋषि वचनलाई सूक्त भनेको छ । यसको अर्थ हुन्छ– ऋषिद्वारा देवी–देवताका प्रशंसामा व्यक्त भएका वचन । सामान्यतया सूक्तहरू क्षुद्रसूक्त र महासूक्त गरी दुई किसिमका हुन्छन् । तीनवटासम्म मन्त्र रहेका सूक्तलाई क्षुद्र र सोभन्दा बढी मन्त्र भएका सूक्तलाई महासूक्त भनिन्छ तर ‘बृहद्देवता’मा सूक्तहरू चार किसिमका हुन्छन् भनिएको छ, जसमा देवता सूक्त, ऋषिसूक्त, अर्थसूक्त र छन्दसूक्त पर्छन् । यसअनुसार देवताको स्तुतिमा गाइएका जति सूक्त देवता सूक्तमा पर्छन् । ऋषिका स्तुतिपरक सूक्तहरू ऋषिसूक्त तथा प्रयोजन सिद्धिका लागि गाइएका सूक्तहरू अर्थसूक्त र एउटै किसिमका छन्द रहेका सूक्तहरू छन्दसूक्तमा पर्छन् । (कल्याण वेद–कथाङ्क पृष्ठ ४३८) यसबाहेक अन्य वैदिक संहिताहरूले पनि उनले राम्रै चर्चा पाएका छन् । वैदिक ग्रन्थमा उल्लेख भएअनुसार पृथ्वीस्थानीय, अन्तरिक्षस्थानीय र द्युस्थानीय गरी देवता तीन किसिमका हुन्छन् । यिनमा अग्नि पृथ्वीस्थानीय देवतामा पर्छन् भने वायु अन्तरिक्षस्थानीय र सूर्य द्युस्थानीय देवता मानिएका छन् तर यी रूपमा मात्र हुन्, सारमा ती सबैको प्रतिनिधित्व अग्निले नै गरेका छन् । वायु र सूर्यभित्र विद्यमान ऊर्जाका स्रोत अग्नि नै मानिन्छन् । एउटै अग्नि आधिभौतिक रूपले द्यावाभूमि सर्वत्र विद्यमान छन् भने आधिदैविक र आध्यात्मिक रूपले चराचर जगत्लाई गतिशील राख्दै आएका छन् । जीवनको उत्पत्ति पनि अग्निबाटै भएको छ, धारण र पालन पनि अग्निबाटै भएको छ । जीवन बनाउने पनि उनै, बचाउने पनि उनै, खान दिने पनि उनै, खाएको पचाउने पनि उनै । न उनी निष्क्रिय हुन सक्छन् न उनका गतिविधि नै निरर्थक । उनकै कारण संसारले निरन्तरता पाएको छ । पछिका निरन्तरतामा पनि उनकै भूमिका रहनेछ तर तिनै अग्नि पौराणिक युगमा आइपुग्दा दिग्पालको भूमिकामा सीमित हुन पुगेका मात्र छैनन्, यदाकदा त्यसैलाई बचाउन पनि हम्मेहम्मे पर्ने गरेको छ । अश्विनीकुमार पनि वैदिक देवता हुन् । वेदमा इन्द्र र अग्निपछिका अर्का चर्चित देवता उनीहरू नै हुन् । ऋग्वेदमा मात्रै उनीहरू सम्बन्धित ६१ वटा सूक्त छन् । यसबाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनीहरूले राम्रै स्थान पाएका छन् । वैदिक ग्रन्थका अनुसार उनीहरू ज्ञानी, ध्यानी, पराक्रमी मात्र छैनन् दया, माया, मैत्री, करुणा, परोपकार आदि दैवी गुणका खानीसमेत मानिन्छन् । आँखा नहुनेलाई आँखा दान गर्न पनि उनीहरू नै पुगेका छन्, अन्न र वस्त्रको आवश्यकता पूर्तिमा पनि उनीहरू नै अघि सरेका छन् । पति, पत्नी, पानी, नानी, जवानी, खानी आदि जहाँ जसलाई जे आवश्यकता पर्छ, तिनलाई पूरा गरी समाजसेवाको अनुपम नमुना पेस गरेका छन् । देवताका समेत चिकित्सक मानिएका अश्विनीकुमार आदिम चिकित्सक मात्र होइनन्, वैज्ञानिक पनि हुन् । भगवान् शिवपछि सफल शिर प्रत्यारोपणकर्ता कुनै छन् भने उनीहरू नै छन् तर तिनै अश्विनीकुमार पौराणिक युगमा आइपुग्दा आफ्नो भागसमेत बचाउन नसक्ने अवस्थामा पुगेका छन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार उनीहरूका जन्म सूर्यपत्नी सङ्ज्ञाको गर्भबाट भएको थियो, जो त्यतिबेला घोडीको रूप धारण गरी उत्तरकुरु (उज्वेकिस्तान)को घाँसे मैदानमा चर्न गएकी थिइन् । सूर्यपुत्र भए पनि घोडीको गर्भबाट जन्मेकाले देवताको पङ्क्तिमा स्थान नपाएपछि उनीहरू भृगुपुत्र च्यवनका शरणमा पुगेका थिए । च्यवनको सहयोग पाएर मात्रै अन्यथा उनीहरूले न देवताका पङ्क्तिमा स्थान पाउँथे न यज्ञ भागकै अधिकारी बन्न सक्थे । वायु पनि वैदिक देवता नै हुन् । वेदमा अश्विनीकुमारपछि बढी चर्चा पाउनेमा उनी नै देखिएका छन् । वेदले उनलाई मरुद्गणको सङ्ज्ञा दिएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी ४६ वटा सूक्त छन् । यसबाहेक अन्य वैदिक संहितामा पनि उनको राम्रै चर्चा भएको पाइन्छ । वैदिक सूक्तहरूले उनलाई वायवीय ऊर्जाको स्रोत मानेर अति तेजस्वी र शक्तिशालीका रूपमा सम्मान गरेका छन् । वायु, पवन, अनिल आदि विभिन्न नामले पुकारिने यी देवता जीवनको मूलाधार मात्र होइनन्, द्यावाभूमि सर्वत्र एकैसाथ विचरण गर्न सक्ने प्राकृतिक शक्ति पनि हुन् (ऋग्वेद १।८६।८) । वैदिक ग्रन्थमा उनी कतै रुद्रपुत्र (ऋग्वेद १।८५।१), कतै पृथ्वीपुत्र (ऋग्वेद १।८५।३), कतै द्यावाभूमिपुत्र (यजुर्वेद २७।२४)का रूपमा चिनिएका छन् । त्यस्तै परोपकारी, सङ्कटनाशक, सर्वकर्ता, सर्वद्रष्टाजस्ता दैवी गुणका बेजोड नमुना मानिएका वायुदेव कतै सारा संसारको मूलाधार (ऋग्वेद १।८७।१), कतै प्राणदाता (ऋग्वेद १।८५।११), कतै मङ्गलकारी शक्ति (ऋग्वेद १।८७।१), कतै विद्युत् समान दिप्ति र गतियुक्त (ऋग्वेद १।८८।१) र कतै अद्भूत शक्ति र सामथ्र्यशाली (ऋग्वेद १।८८।२) आदिका रूपमा समेत देखिएका छन् तर उनीसमेत पौराणिक युगमा आइपुग्दा एउटा दिग्पालमा सीमित हुन पुगेका मात्र छैनन्, त्यसलाई समेत बचाउन नसकेर यदाकदा रोइकराइ गर्दै हिँडेका देखिन्छन् । सूर्य पनि वैदिक देवता नै हुन् । वायुपछि बढी चर्चा पाउने देवतामा उनै पर्छन् । ऋग्वेदमा उनी सम्बन्धित ३५ वटा सूक्त छन् । यसबाहेक यजु, साम र अथर्व अन्य संहितामा पनि राम्रै चर्चा पाएका छन् । शुक्लयजुर्वेदको स्रोतसमेत उनै मानिएका छन् । वैदिक ग्रन्थका अनुसार सूर्य भनेका त्यस्ता देवता हुन्, जसका कारण प्राकृतिक शक्ति सन्तुलित भई सांसारिक गतिविधि व्यवस्थित हुँदै आएका छन् । दिक्, काल र निमित्तको व्यवस्थापनमा समेत मूल भूमिका निर्वाह गर्दै आएका सूर्य संसारको उत्पत्ति, पालक र प्रलयको समेत आधार मानिएका छन् । ऋग्वेदले उनलाई संसारको आत्मा मात्र मानेको छैन, समग्र विश्व ब्रह्माण्डका कणकणमा विद्यमान सर्वव्यापी परमात्मा तìवका रूपमा उभ्याउने प्रयाससमेत गरेको छ । (ऋग्वेद १।११५।१) तर उनीसमेत पौराणिक युगमा आइपुग्दा सौरमण्डलको एउटा ग्रहमा सीमित हुन पुगेका छन् । यी केही उदाहरण हुन् । प्रायः सबै वैदिक देवताका अवस्था त्यस्तै देखिन्छ । तिनै देवता वेदमा जति पराक्रमी र शक्तिशाली देखिन्छन्, पौराणिक ग्रन्थमा त्यति नै स्वार्थी, डरपोक र परमुखापेक्षी हुन पुगेका देखिन्छन् । यसको मूल कारण हो– कर्मवादलाई लत्याएर उपभोक्तावादलाई पछ्याउनु । कर्मवादले कर्मयोगी बनाउँछ । भोगवादले लोभानी र पापानीलाई जन्माउँछ । जहाँ उपभोगको कुरा आउँछ, त्यहाँ लोभ हुन्छ, जहाँ लोभको कुरा आउँछ त्यहाँ काम र क्रोधले स्थान पाउँछ । अनि जहाँ काम र क्रोधले स्थान पाउँछ, त्यहाँ हुने भनेको दुःख र हैरानी नै हो । वैदिक युग कर्मप्रधान थियो, सबै कर्ममा विश्वास गर्थे । फलतः देवता पराक्रमी र परोपकारी देखिए । पौराणिक युग भोगप्रधान हुन पुग्यो, जसले गर्दा देवता पनि त्यस्तै भूमिकामा देखिन पुगे ।
भउचप्रसाद यादवकाठमाडौँ, वैशााख ३ गते । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ ।उहाँले भन्नुभयो, ‘‘अब फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ । अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’’ कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उहाँले छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काइने बताउँदै उहाँले सो व्यक्तिलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवानासमेत गर्ने जानकारी दिनुभयो । महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ ।काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ गरी चारवटा नगर क्षेत्रबाट ३५÷३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरू फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौँको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्रबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौँ स्थानमा परेका छन् ।
रेखीराम रानापाल्पा, बैशाख २ गते । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाईते भएका छन् । उहाँहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।
बिष्णुप्रसाद पोखरेलदमक, वैशाख २ गते । झापाका बिभिन्न आदिबासी समुदायले यो बर्ष हर्ष उल्लासका साथ सिरुवा पर्व मनाइरहेका छन् । कोरोना संक्रमणको महामारीले दुई बर्षसम्म खुलेर सिरुवा पर्व मनाउन नपाएका आदिबासी समुदायले यो बर्ष सिरुवा पर्व भब्यताकासाथ मनाएका हुन् । राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले बैशाख १ गते विहिबार पानी एक अर्कालाई छ्यापेर र दोश्रो दिन शुक्रबार हिलो (काद) दलादल गरेर अन्तिम अर्थात शनिवार रंग दलेर यो पर्व मनाउँदै छ्न । कतिपय ग्रामथानहरुमा सामुहिक कुलपुजासहितको धार्मिक मेला समेत लाग्दैआएको छ ।एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा ग्रामथानमा भेला भएर यो पर्व मनाउने कार्य भइरहेको आदिबासी नेता नित्यानन्द ताजपुरीयाले बताउनुभयो । उहाँकाअनुसार आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्ने कार्य पनि भइरहेको छ । उहाँकाअनुसार कमल गाउँपालिका ६ को ग्रामथानमा सदियौकालदेखि परम्परागत रुपमा हुँदैआएको कुलपुजासहितको धार्मिक मेला पनि यो बर्ष भब्य रुपमा सकिएको छ । विहीबार लागेको मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिनुभयो ।विवाह गरेर गएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको गौरीगन्जकी आदिबासी अगुवा महिला फुलवती राजवंशीले बताउनुभयो ।
काठमाडौं, वैशाख २ गते। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ। छोरी कादेवी जोशीका अनुसार सास फेर्न अप्ठेरो महसुस भएपछि उहाँलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। पिसाबमा इन्फेक्सन भएको चिकित्सकले बताउनुभएको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरी कादेवीले भन्नुभयो। १०२ वर्षीय जोशीलाई यसअघि माघमा सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे ।
निशा राईधरान, बैशाख २ गते । भेडेटार–धरान सडक खण्डमा यात्रुबाहक बस र ट्याम्पो एकापसमा ठोक्किँदा ट्याम्पो चालकको मृत्यु भएको छ । धरानबाट भेडेटारतिर जाँदैगरेको १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो धरान ४ स्थित देविथानमा एकापसमा ठोक्किँदा ट्याम्पो चालकको मृत्यु भएको हो । ट्याम्पोमा सवार एक जना किशोरी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । मृत्यु हुने ट्याम्पोचालक भरौल –५ सुनसरीका ४० वर्षीय खड्गबहादुर विक रहेका छन् । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ बर्षीय उषा लिम्बुको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय धरानले बस नियन्त्रणमा लिएको जनाएको छ ।
बेलिना थापालमजुङ, बैशाख २ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिजयपथमा लम्किसकेकाले अव कसैले एमालेको गतिलाई रोक्न नसक्ने बताउनुभएको छ । एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीका कमिटी, जनसंगठन झन् बढी सक्रिय भएको उहाँले दावी गर्नुभयो । एमालेले छोटो अवधीमा विधान महाधिवशेन गरी नीति, कार्यक्रम व्यवस्थित गरेको, संगठनात्मक संरचनाको व्यवस्था गरेको बताउनुभयो । नीतिगत रुपमा पार्टी सञ्चालन गर्न, पार्टीलाई अनुशासित र गतिशील बनाउन राष्ट्रिय महाधिवेशन आयोजना गरिएको उहाँले बताउनुभयो । एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न भएपछि मात्र ढुक्कले निदाउन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कार्यालय सचिव डा. भिष्मनाथ अधिकारी, केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, टुका हमाल, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रदेश, जिल्ला, पालिका कमिटीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।
कमल शर्मादैलेख, वैशाख २ गते । नेकपा (एकीकृत समाजवादी) का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्कनु भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्काले नेकपा (एकीकृत समाजबादी) पार्टी परित्याग गरी पुरानै मुल पार्टी एमालेमा फर्कनु भएको हो । उहाँले एक विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको भएपनि सो जिम्मेवारी आजैबाट छाडी एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ । पार्टी विभाजनका कारण एमालेभन्दा बाहिर रहेका सबैलाई उहाँले एमालेमै फर्कन आव्हान पनि गर्नुभएको छ । खड्कालाई एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतले पार्टीमा स्वागत गर्नुभयो । खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुनेगरी काम गरिरहेको बताउनुभयो ।
काठमाडौँ, वैशाख २ गते - सौन्दर्य व्यवसायमा संलग्न महिलाको क्षमता अभिवृद्धि गर्दै आएको छ, ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो।’ कोभिड-१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ। नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलालाई संयुक्त अरब इमिरेट्स सरकारअन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडिए)’ बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ। ‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’का संस्थापक विनिता शाहका अनुसार कार्यक्रममा १०८ जनाले प्रमाणपत्र लिएका छन्। उहाँले ‘ग्लो टु ग्लो’ले सौन्दर्य व्यवसायमा संलग्न महिलालाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको बताउनुभयो। विविध विधामा पुरस्कृतनयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो। तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो।सौन्दर्य कलासम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत हुनुभयो। छाला हेरचाहसम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी हुनुभयो। अन्य दुई खेलमा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी हुनुभएको छ।
सिराज खान नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाकारण बाँकेमा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।६५ किलोमिटर खुला सीमाना भएको यो जिल्लाको निर्वाचन सुरक्षालाई विशेष महत्वका साथ हेरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकाअनुसार, मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्थाबारे अध्ययन गरेर सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो । स्थलगत अनुगमनपछि जिल्लाभर करिब चार हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले अति नै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइने जानकारी उहाँले दिनुभयो ।बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले १ हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोहीअनुसार सम्बन्धित ठाउँमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । बाँकेमा १०१ मतदान केन्द्र अति संवेदनशील ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी पनि खटाइने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षाबारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुझाव माग गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । मुलुककै प्रमुख नाका वीरगञ्जमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले दिएको लक्ष्यभन्दा २ दशमलव ३ अर्थात् ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार रुपियाँ राजश्व असुल गरेको हो । गत आर्थिक वर्षमा २०७७–७८ को सोही अवधिमा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपियाँ राजश्व असुली भएको थियो । भन्सार विभागले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनामध्ये साउन, कात्तिक, पुस, माघ, फागुन र चैत महिनामा भन्सार विभागले दिएको राजश्व संकलन गर्ने लक्ष्य भेट्टाउन सकेको छैन । साउन महिनामा लक्ष्यको ९९ दशमलव ५ प्रतिशत, कात्तिक महिनामा लक्ष्यको ९७ दशमलव २ प्रतिशत, पुस महिनामा लक्ष्यको ९७ दशमलव ७ प्रतिशत, माघ महिनामा लक्ष्यको ९५ दशमलव ९ प्रतिशत, फागुन महिनामा लक्ष्यको ९८ दशमलव ७ प्रतिशत र चैत महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
काठमाडौं, वैशाख २ गते। सत्तारुढ दल नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ। समितिका संयोजक एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले सातै प्रदेश र पालिका तहमा प्रतिनिधि पठाउने र आगामी दिनमा हुने चुनावी सभामा हुने आचारसंहिता कार्यान्वयन एवम् अनुगमन कसरी गर्ने भन्ने सन्दर्भमा छलफल भएको समितिका सदस्य नैनसिंह महरले बताउनुभयो। भातृ संघ समन्वय तथा परिचालन उपसमिति, जिल्ला समन्वय सम्पर्क समन्वय परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समन्वय, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षक, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो। ‘बैठकमा उपसभापति खड्काले गठबन्धनलाई थप प्रभावकारी बनाउने र यसैले नै हामी सबैको अस्तित्व जोगिने भन्ने कुरा आको छ’, महरले भन्नुभयो। यस सन्दर्भमा भातृ र शुभेच्छुक संस्थाको परिचालन कसरी गर्ने, सबै पालिकामा केन्द्रीय प्रतिनिधि पठाउन निर्देशन दिने लगायतका विषयमा बैठकमा छलफल भयो।सहमहामन्त्रीले प्रदेश र जिल्ला कमिटीबीचको समन्वय गर्छ, केन्द्रबाट ७७ जिल्लामा जाने केन्द्रीय प्रतिनिधिले जिल्लामा आएको समस्या त्यहाँको व्यवस्थापन र गठबन्धनबीच मिलाउने तथा समन्वय गर्ने काम गर्ने उहाँको भनाइ छ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २ गते । पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ बाट आख्यानकार भागिरथी श्रेष्ठ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्नो आमाबाबुको स्मृतिमा सो पुरस्कारको स्थापना गर्नुभएको हो । साहित्यकार पत्थरले आज एक समारोहबीच सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।कैलाली जनपुस्तकालयद्वारा सञ्चालित सो पुरस्कार शुक्रबार काठमाडौंमा साहित्यकार श्रेष्ठलाई हस्तान्तरण गरिएको वरिष्ठ साहित्यकार पत्थरले जानकारी दिनुभयो । सो अवसरमा साहित्यकार हेमन्ती जोशी, डा. पुष्करराज भट्ट, वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकारहरु मञ्जुल, द्वारिका श्रेष्ठ, प्राज्ञ माया ठकुरी, जलेश्वरी श्रेष्ठ, सुलोचना मानन्धर, इल्या भट्टराई, सुस्मिता नेपाल, प्रभा बराल लगायतको सहभागिता थियो ।२०७७ मा तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी सो बापत आउने व्याजबाट सञ्चालित सो पुरस्कारको राशी नगद २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
काठमाडौं, वैशाख २ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथिको महाभियोगविरुद्धको सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संवैधनिक इजलासले सो आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको हो । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले फागुन ११ गते प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट निदेशन पेश गर्नुभएको थियो । खतिवडाको रिट निवेदनमाथि शुक्रबार सुरुवाती सुनुवाइ भएको हो । त्यस्तै, संवैधनिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गर्नुभएको अर्को रिट निवेदनलाई साथै राख्ने आदेश दिएको छ । चन्दले फागुन १३ गते सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको थियो ।
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित जीतबहादुर विकको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । विहीबार मध्यान्ह १२ बजे आगलागी भई घर र गोठ जलेर नष्ट भएको पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित विकको परिवारलाई ठोरी गाउँपालिका, नेपाली काँग्रेस ठोरी कमिटी र दलित विकास केन्द्रले बेग्लाबेग्लै राहत सामग्री हस्तान्तरण गरेको हो ।आगलागी पीडित परिवारलाई गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठसहितको टोलीले दिउँसो आगो निभाउनेबित्तिकै अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । विहीबार साँझ दलित विकास केन्द्रले आगलागीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस ठोरी कमिटीले शुक्रबार बिहानै आगलागी पीडित परिवारलाई चामल, दाल, तेल, नुनलगायतका अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । काँग्रेस मधेश प्रदेशका महामन्त्री एवं काँग्रेसकातर्फबाट आगलागी पीडित विक परिवारलाई अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाउँपालिका १ सरस्वतीनगर फायरलाइनमा आगलागी हुँदा विकको घर, गोठ र भान्साघर जलेर नष्ट भएको तथा आगलागीबाट १५ लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । स्थानीय जगेन्द्र पौडेलकाअनुसार वीरगञ्ज र पोखरीयाबाट आएका वारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय तहको निर्वाचन नजिकिएकाले आगलागी पीडितलाई राहत सामग्रीको ओईरो लागेको भनी सामाजिक सञ्जालमा टिक्काटिप्पणी हुन थालेको छ ।