सिराज खान नेपालगञ्ज, वैशाख २० गते। इद (इद उल फित्र)को अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो। लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो।निर्वाचनमा नेपालगञ्जबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता ठूलो संख्यामा मंगलबार बिहान इदगाहमा भेटिए। नेपालगञ्ज उपमहानगरका नेपाली मुस्लिम इदको नमाज पढ्न इदगाहमा भेला भएकोले इदको शुभकामना साटासाट गर्न अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता बिहानै इदगाह पुगेका थिए। इदको नमाज सकिने बित्तिकै सुरु भएको शुभकामना तथा बधाई साटासाटमा उम्मेदवारको सक्रियता सबैभन्दा बढी देखियो। उनीहरुले बढी भन्दा बढी मतदातालाई अंकमाल गरेर पर्वको शुभकामना प्रदान गर्दै भोट मागिरहेका थिए। धेरैजना एक ठाउँमा भेटिएपछि शुभकामना दिन र आफ्नो लागि मत माग्न सजिलो भएको गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले बताउनुभयो। उहाँले इदगाहमा देखिएको उत्साह र उमंगले आफू पनि उत्साहित बनेको बताउनुभयो। यसैगरी इदगाह पुग्नुभएका राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले आफू मुस्लिम समुदायका अगुवालगायत वृद्धको आशिर्वाद लिन इदगाह आएको बताउनुभयो। उहाँले आफूले वर्षौदेखि यहाँ यो पर्वका दिन पानी वितरण गर्ने काम गर्दै आएको जनाउँदै यसपाली त झन् निर्वाचन परेकोले धेरैलाई पानी खुवाउने लक्ष्य रहेको बताउनुभयो। वैश्यले अंकमाल गर्ने सबैसँग आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। सोही प्रकारले एमालेबाट मेयरका उम्मेदवार रहनुभएका पशुपति दयाल मिश्रले मत माग्ने सबैभन्दा राम्रो ठाउँ र अवसर यही भएको बताउनुभयो। अवसरमा उपमेयरका उम्मेदवार कमरुद्दीन राई, बिन्दु चर्तिमगर र शान्ति ढकाल लगायतका उम्मेदवारलाई पनि शुभकामना लिन दिन भ्याइनभ्याई थियो। निर्वाचनका कारण इदगाहमा बेग्लै रौनक देखियो। सडक नजिक हरेक ठाउँमा विभिन्न उम्मेदवारले टेन्ट लगाएर पानी वितरणसँगै प्रचार सामग्री पनि वितरण गरिरहेका थिए। यसका साथसाथै सहरका विभिन्न ठाउँमा आयोजना गरिएका इद मिलन कार्यक्रममा पनि स्थानीय तहकै निर्वाचनको चर्चा परिचर्चासँगै उम्मेदवारले शुभकामना दिँदै मत मागिररहेका छन्।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २० गते । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका शाखा अधिकृत प्रकाश घिमिरेद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा सोको जानकारी दिइएको छ । मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको आयोगले जनाएको छ । आयोगको पत्रमा भनिएको छ, “तपाई निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) बिपरितको कार्य गरेको देखिँदा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ ।” निर्वाचन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
नेपाली राष्ट्रिय फुटबल टालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षण क्याम्प छाडेका खेलाडीले आफूहरुलाई न्याय दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१ चौर गाँउका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रतिवद्धता लिएर जनतासँग जान निर्देशन दिनुभएको छ।
तीन दिनदेखि अवरुद्ध रहँदै आएको सञ्चार सेवा सुचारु भएको छ । कालिकोट जिल्लाको महावुलेकमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि हुुम्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।
रेखीराम रानापाल्पा, वैशाख २० गते । निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न जिल्लास्थित स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई आग्रह गरेको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीको अध्यक्षमा बसेको बैठकले राजनैतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबै पक्षले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ । जिल्लाका विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे समीक्षा गर्दै समितिले आचारसंहिता पालना नगर्नेमाथि कारबाही गर्ने चेतावती दिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन सम्बन्धी आचारसंहिता पालना गर्न सबै राजनैतिक दल, उम्मेदवार तथा नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभयो । उम्मेदवार वा दलका नेताले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने उहाँले प्रतिबद्धता जनाउनुभयो । आचारसंहिता पालना गराउन प्रहरी प्रशासनले विनाभेदभाव काम गर्ने प्रजिअ पन्तको भनाइ छ । बैठकमा मुख्य निर्वाचन अधिकृत केसीले निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न राजनैतिक दलको मुख्य भूमिका हुने बताउनुभयो । उहाँले आचारसंहिता कुनै एउटा पक्षका लागि मात्र नभएर सबैको हितमा रहेकाले राजनैतिक दलका उम्मेदवारले सहयोग गर्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले निर्वाचन सम्बन्धी आचारसंहिता एमालेले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध जनाउनुभयो । आयोगले सबैलाई समान रुपमा हेरेर आचारसंहिता कार्यन्वयन गर्नुपर्ने पोखरेलले बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपानेले निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न काँग्रेसले आयोगलाई सघाउने बताउनुभयो । नेकपा माओवादी पाल्पाका प्रतिनिधि मथुरा ढकालले गठबन्धनका दलको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको र कहीँकतै उल्लङ्घन भएको भए आफूहरू सच्याउन तयार रहेको बताउनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदो छ । यससँगै राजनीतिक दलका उम्मेदवार, नेता र कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । सबै राजनीतिक पार्टीका उम्मेदवारहरूले पार्टीका सिध्दान्तसहित आ–आफ्नै प्रतिबद्धताहरू पनि सावर्जनिक गर्नुभएकाे छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरुको सहमतिमा घरहरुमा झण्डा नराख्ने सहमति भएको छ । यहाँका राजनीतिक दलहरुको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
तिलाचन पाण्डेतम्घास, वैशाख २० गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले चैत मसान्तसम्म हतियार बुझाउन आग्रह गरे पनि हतियार बुझाउन अटेर गरेपछि गुल्मी प्रहरी हतियार खोज्न अहिले व्यस्त छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले दर्ता भएका हतियारहरुलाई चैत मसान्तसम्म अनिवार्य बुझाउन सूचना जारी गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई अटेरी गर्दै हतियार नबुझाएपछि गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएका ५२ वटा हातहतियारमध्ये प्रशासनले जारी गरेको सूचनाको अवधिसम्म जम्मा छ वटा मात्र हतियार जम्मा भएका छन् ।दर्ता भएका हातहतियार बुझाउन अटेर गरेपछि प्रहरी लगाएरै गाउँगाउँबाट हतियार खोज्ने अभियान ल्याइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।प्रहरीले हतियार खोज्ने अभियान चलाएपछि समयभित्र आएका छ वटा हतियारसहित २९ वटा हतियार जम्मा भएको पौडेलले जानकारी दिनुभयो ।बाँकी हतियार पनि एक दुई दिनभित्रै जम्मा हुने पौडेलको दाबी छ । जम्मा भएका २९ हतियारमध्ये सबै एकनाले भरुवा बन्दुक रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हातहतियारमध्ये अधिकांश भरुवा बन्दुक नै रहेको प्रशासनले जनाएको छ ।हतियार बुझाउन अटेर गर्ने र नबुझाउनेलाई कानुन अनुसारको कारवाही गर्न प्रशासन पछाडि नहट्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ ।
निशा राईधरान, वैशाख २० गते । नेपाली काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने दुई जनाको साधारण सदस्यता पनि नरहने गरी खारेज गरेको छ । नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उहाँहरुको साधारण सदस्यता खारेज भएको बताउनुभएको छ । कारवाही पर्नेमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराई रहनुभएको छ ।उहाँहरुले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको, पार्टीको विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण उहाँहरुविरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताउनुभयो ।
कीर्तिपुर, वैशाख २० गते । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख पदको लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाको इटागाेल (यतुगः) वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटन तथा परिचयात्मक कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको थियो । वि.सं. २०५५ सालमा तत्कालीन नेकपा (माओवादी)काे विशेष उपत्यका ब्युराेकाे बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'सहितका शीर्ष नेताहरू इटागाेलमा एकहप्ता बसेकाले पनि यस टाेल (माओवादी) पार्टीकाे लागि विशेष महत्वकाे छ ।भौतिक रुपमा विकास बजेट भएपछि जोकोहीले गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै उहाँले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरसीको विकास गर्ने एजेन्डा रहेको बताउनुभयो ।त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखसमेत हुनुभएका प्रा.डा. महर्जनले सेवानिवृत्त जीवन बिताइरहेका कारण प्रमुखमा विजय हासिल गरेपछि आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा पनि सो कार्यक्रममा गर्नुभयो ।कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूर्ण योगदान छ ।यस्तै, उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेतले विगतका असफलताबाट पाठ सिक्दै महिलाकाे अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरबासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार रामचन्द्र डङ्गोलले सङ्घीयताको मर्म अनुसार स्थानीय तहको व्यवस्थापन व अक्षरशः क्रियान्वयनको लागि चुनावमा उठेको बताउनुभयो ।साे पार्टीबाट महिला उम्मेदवारमा सृजना धमला, सदस्यद्वय कविर वीर महर्जन र अनिल महर्जन चुनावी मैदानमा हुनुहुन्छ ।साे कार्यक्रममा नेपाली काँग्रेसबाट विजयी हुनुभएका वडा सदस्य राजकुमार महर्जन र ज्येष्ठ नागरिक तथा थकाली हरिकृष्ण महर्जनलाई सम्मान गरिएकाे थियाे ।
नेपालगञ्ज, वैशाख २० गते । कोभिडका कारण गत दुई वर्षदेखि सामान्य रुपमा मनाईंदै आएको मुस्लिम समुदायको ईद पर्व यस पटक निकै धुमधामका साथ नेपालगञ्जमा मनाइएको छ । कोभिडकै कारण यसअघि दुई वर्ष घरमै नमाज पढेका सो समुदायका हजारौं नागरिकले मंगलबार ईदुलफित्रको सामूहिक नमाज विपि चोकस्थित ईदगाहमा पढेका छन् । लामो समयपछि सामूहिक नमाजको आयोजना गरिएकाले धेरै ठूलो संख्यामा जिल्लाभरका मुस्लिमहरु ईद मनाउन भेलामा उपस्थिति भएका थिए । यस पटक धेरै भिडभाड भएकाले ईदगाहको भित्र भन्दा दोब्बर बढी संख्यामा सडकमा नमाज पढेको ईदगाह सञ्चालक समितिका महासचिव ईरफान सिद्दिकीले बताउनुभयो । उहाँले दुई वर्षदेखि यो महान पर्वलाई हर्षोल्लासपूर्वक मनाउन नपाउँदा दुखी बनेकाहरु यस पटक एकैचोटी ईदगाहमा ओइरिएपछि समाल्न समितिलाई हम्मेहम्मे परेको बताउनुभयो । ईस्लामी क्यालेण्डरको रमजान महिना भरी रोजा राखेर सो महिना सकिए लगत्तै विश्वभरिका मुस्लिम समुदायले मनाउँदै आएको ईद पर्वको अवसरमा मङ्गलबार बिहानै नेपालगञ्जस्थित ईदगाह र मस्जिदहरुमा सामूहिक इदको नमाज पढियो ।सो अवसरमा सम्बोधन गर्दै धार्मिक अगुवाहरुले देशका शान्ति, समृद्धि र विकासको कामना गरेको धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले इद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।सोही अवसरमा पूर्व सहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले ईदलगायतका चाडपर्वहरुले देशबासीबीच एकता, सदभाव र भाइचारा कायम गर्न सहयोग गर्दै आएको बताउनुभयो । उहाँले हजारौंको बलिदानपछि बनेको नेपालको संविधानले सबै धर्म र सम्प्रदायका हक अधिकारलाई संरक्षण गरेको जनाउँदै सोही मार्फत् राष्टिय एकता बलियो हुँदै गएको बताउनुभयो । ‘दान, त्याग र तपस्याको यस महान पर्वले हामीलाई एकअर्काको सहयोग गर्नुका साथै गरिब र अनाथहरुलाई विशेष माया गर्ने सन्देश दिन्छ’–उहाँले भन्नुभयो । ईदको शुभकामना आदानप्रदान गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी प्रमुख एसपी जनक बस्नेत, नेपालगञ्जका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापामगर लगायत विभिन्न दलका प्रमुख र स्थानीय तहका उम्मेदवारहरु ठूलो सङ्ख्यामा ईद पुगेका थिए । ईदको सामूहिक नमाजपछि एक अर्कालाई अङ्कमाल गरेर ईदको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गरिएको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाबलगायतका परिकार पकाएर आफन्त तथा इष्टमित्रहरुलाई खुवाउने परम्परा छ । ईदको अवसरमा नेपालगञ्जका विभिन्न टोलटोलमा समुदायका युवाले ईदमिलन कार्यक्रमको आयोजना पनि गरेका छन् ।
भक्तपुर, वैशाख २० गते । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।